काठमाडौं, २३ जेठ । गारेथ बेलको कप्तानीमा रहेको वेल्सले आइतबार राति युक्रेनलाई १–० ले हराउँदै फिफा विश्वकपमा स्थान बनाउन सफल भएको छ । योसँगै विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा खेल्ने वेल्सको ६४ वर्षसम्मको प्रतीक्षा समाप्त भएको छ ।
कार्डिफ सिटी रंगशालामा प्रतिस्पर्धात्मक खेलको ३४औँ मिनेटमा आन्द्री यार्मोलेन्काले गरेको आत्मघाती गोल वेल्सको जितमा निर्णायक बन्यो । बेलको फ्रिकिक क्लियर गर्ने क्रममा यार्मोलेन्काले आफ्नै पोस्टमा गोल गरेका थिए । युक्रेनका रुस्लान मालिनोभस्कीले ड्यानियल जेम्सलाई फाउल गरेपछि वेल्सले फ्रिकिकको अवसर पाएको थियो ।
‘‘वेल्सको फुटबल इतिहासमा यो सबैभन्दा ठूलो नतिजा हो । हामी सबै उत्साहित छौँ,’’ वेल्सका कप्तान बेलले भने, ‘‘यो हामीले खेल्न थालेदेखिको सपना हो । र त्यो दिनदेखि हामीले यसका लागि मिहिनेत गरिरहेका थियौँ । यो हामी समर्थकका लागि समर्पित गर्न चाहन्छौँ । यो खुसी शब्दमा वर्णन गर्न सकिँदैन ।’’
जितसँगै वेल्सले कतारमा हुने फिफा विश्वकप २०२२ मा स्थान बनाउन सफल भएको छ । वेल्सले स्वीडेनमा सम्पन्न सन् १९५८ को विश्वकप खेलेपछि अहिलेसम्म विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्थान बनाउन सकेको थिएन । १९५८ मा वेल्स क्वार्टरफाइनलमा ब्राजिलसँग पराजित भएको थियो । वेल्सले अहिलेसम्म खेलेको त्यही एउटा विश्वकप हो ।
वेल्सले अब कतारमा अमेरिकाविरुद्ध खेल्दै नोभेम्बर २१ बाट विश्ककपको यात्रा थाल्नेछ । वेल्स रहेको समूह ‘बी’मा अमेरिकाबाहेक इरान र इंग्ल्यान्ड छन् । वेल्सले छिमेकी राष्ट्र इंग्ल्यान्डविरुद्ध २०१६ को युरोपियन च्याम्पियनसिपपछि पहिलोपटक औपचारिक प्रतियोगतामा खेल्न लागेको हो । त्यति बेला वेल्सले इंग्ल्यान्डविरुद्ध एक मैत्रीपूर्ण खेल खेलेको छ ।
युक्रेनले गएको बिहीबार स्कटल्यान्डलाई ३–१ ले हराउँदै वेल्ससँगको भेट पक्का गरेको थियो । रुसले युक्रेनमा आक्रमण गरेका कारण युक्रेन र स्कटल्यान्डबीचको खेल स्थगित भएको थियो । त्यसकारण यो खेल ढिला गरी सम्पन्न भएको हो । युद्धका कारण युक्रेनको टिममा भएका आधा खेलाडीले फेब्रुअरीपछि क्लब फुटबल पनि खेल्न पाएका थिएनन् ।
स्वतन्त्र राष्ट्र भएपछि दोस्रोपटक विश्वकप खेल्ने युक्रेनको सपना नजिक पुगेर टुंगिएको छ । ‘‘हामीले सक्ने सबै प्रयास गर्यौँ । तर, हामीले गोल गर्न सकेनौँ । क्षमा चाहन्छौँ,’’ युक्रेनका प्रशिक्षक ओलेक्जेन्डर पेत्राकोभले भने, ‘‘टिममा भएका कुनै पनि खेलाडीको आलोचना गर्न चाहन्नँ ।’’
रंगशालामा युक्रेनका दुई हजार दर्शक उपस्थित थिए । जसलाई वेल्सका खेलाडीले पनि सलाम गरेका थिए ।