मन्त्रिपरिषद् निर्णय : ८ एआईजीको सरुवा, गोरखापत्र संस्थानको महाप्रबन्धकमा रावल

1.1k Shares

काठमाण्डाै – सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्ले बैठकले रावललाई नियुक्त गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

पछिल्लो समयमा बीबीसी नेपालीमा आबद्ध रावलले यसअघि ग्यालेक्सी टेलिभिजनमा पनि काम गर्नुभएको थियो ।

यस्तै सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गानालाई नियुक्त गरेको छ ।

यसैगरी विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रवक्ता पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ ।

बैठकले कमैया श्रम निषेध गर्नेसम्बन्धी पहिलो संशोधन नियमावली २०८३ र शिक्षा दशौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै सरकारले अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्न बनेको विधेयक सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने, एग्रिमेन्ट अन्डर द युनाइटेड नेशन कन्भेन्सन अन द ल अफ द सी अन द कन्जर्भेसन एन्ड सस्टेनेबल युज अफ मरिन बायोलोजिकल डाइभर्सिटी अफ एरियाज बियोन्ड नेशनल जुरिसडिक्शनलाई अनुमोदनका लागि सङ्घीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

सरकारले राष्ट्रिय सदाचार नीति २०८३ स्वीकृत गर्नुका साथै राष्ट्रिय विज्ञापन नीति २०८३ स्वीकृत गरेको छ ।

सम्बन्धित समाचार