काठमाण्डौ – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र ८१ हजार रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ । महानगरका विभिन्न क्षेत्रमा रहेका डिल, भिर, तालतलैया, खोलानाला र जङ्गलसहितको विवरण सङ्कलन गर्दा ८१ हजार एक सय ५५ रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनुभयो ।
मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागी महानगरले विशेष अभियान शुरु गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार महानगरले सबै वडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटाबेस तयार गरिरहेको छ ।
महानगरले सार्वजनिक सम्पतीको संरक्षण गर्ने क्रममा भौतिक संरचनाहरूलाई ध्वंस गर्ने मात्र नभई तिनलाई सकारात्मक ढङ्गले उपयोग गर्ने नीति लिएको उहाँको भनाइ छ ।