पत्रकार काफ्लेलाई धम्की दिने वरिष्ठ सई राणालाई पत्रकार महासंघको कारबाहीको माग

1.1k Shares

काठमाडौं । पत्रकार रामशरण काफ्लेलाई पदीय दुरुपयोग गर्दै धाक धम्की दिने वरिष्ठ सईसागर राणालाई पत्रकार महासंघले कारबाहीको माग गरेको छ ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले जनरक्षा डटकमका सम्पादक राम शरण काफ्लेमाथि आएको धम्कीप्रति गम्भीर आपत्ति जनाएको छ । जनरक्षा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याइएको घटनाले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि चुनौती थपिएको महासंघले ठहर गरेको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा कुनै समाचारप्रति असहमति भए त्यसका लागि कानुनी उपचारका प्रशस्त विकल्प रहेको उल्लेख गरिएको छ । प्रेस काउन्सिल नेपाल, अदालतमार्फत् खण्डन वा प्रतिवाद गर्न सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई सिधै धम्की दिनु अस्वीकार्य र निन्दनीय कार्य भएको महासंघले जनाएको छ ।
धनुषामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ सई सागर राणासम्बन्धी समाचार प्रकाशनपछि सम्पादक काफ्लेलाई धम्की दिइएको घटनालाई महासंघले प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपको रूपमा व्याख्या गरेको छ । “समाचार सही वा गलत भन्ने बहसभन्दा माथि उठेर आलोचना सहन नसक्ने प्रवृत्ति देखिनु चिन्ताजनक छ,” विज्ञप्तिमा उल्लेख छ ।
महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै पत्रकारलाई सुरक्षित र स्वतन्त्र वातावरणमा काम गर्न दिन र प्रेस स्वतन्त्रताको पूर्ण सम्मान गर्न सबै पक्षलाई आग्रह गरेको छ ।
उपत्यका प्रदेश समितिले यस्ता धम्कीपूर्ण गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्दै प्रेस स्वतन्त्रताको रक्षा गर्न दृढ रहने चेतावनी दिएको छ ।

सम्बन्धित समाचार