पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदै

6.6k Shares

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा हुँदैछ।
अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
नेपालले पदको दुरुपयोग गर्दै सरकारी सम्पत्ति व्यक्तिगत स्वार्थमा हस्तान्तरण गरेको आरोप लागेको छ।
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदैछ । उक्त मुद्दा विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ । 

तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारले लगाएको छ।

नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो । नेपालले ठाडो आदेशमा २०६६ माघ १८ गते ठाडो आदेशमा पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न दिलाएको अभियोगपत्रमा दाबी गरिएको छ ।

३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना भई भ्रष्टाचार गरेको अभियोगमा ९३ जनाविरुद्ध मुद्दा दायर भएकोमा अख्तियारले १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको थियो ।

सम्बन्धित समाचार