नयाँ संसद् भवनमा हेरेपछि राष्ट्रियसभा अध्यक्षले भने : सोचेजस्तो निर्माणले गति लिएन

4.7k Shares

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका छन् ।  

शुक्रबार शहरी विकास मन्त्री प्राडा कुमार इङ्नामसहितको टोलीसहित राष्ट्रियसभा अध्यक्ष दाहालले निर्माणाधीन नयाँ संसद् भवनको निरीक्षण गरेका हुन् । सो क्रममा अध्यक्ष दाहालले अझै पनि सोचेजस्तो गरी संसद् भवनको निर्माणले गति लिन नसकेको बताए ।

संसद् चलाउने दिन नजिकिँदै जाँदा नयाँ संसद् भवन निर्माणलाई तीव्रता दिनुपर्ने र छिटो सम्पन्न गर्न आफूले पनि पटक पटक निर्देशन दिएको उनले बताए ।

अध्यक्ष दाहालले निर्वाचनपछि प्रतिनिधिसभा बैठक चल्ने दिनसम्म नयाँ संसद् भवनको निर्माण पुरा भई हस्तान्तरण हुने विश्वास व्यक्त गरे ।

सबै संरचना पूर्णरुपमा बन्न नसके पनि प्रतिनिधिसभा चलाउन सक्ने गरी भए पनि केही संरचना निर्माण गर्नुको विकल्प नरहेको उनको भनाइ छ । 

त्यस्तै शहरी विकास मन्त्री प्राडा कुमार इङ्नामले चैत्र १ गते हस्तान्तरण गर्नेगरि नयाँ संसद् भवनको निर्माण कार्य सक्न आफूले निर्देशन दिएको बताए । अहिलेको काम हेर्दा चैत्र १ गते सबै संरचना बन्न नसक्ने अवस्था नदेखिएको भन्दै उनले प्रतिनिधिसभाका लागि मात्रै आवश्यक पूर्वाधार तयार हुने अवस्था रहेको उल्लेख गरे ।

उनले कुनै पनि बहानामा संसद् भवनको निर्माणमा हुने ढिलाइ स्वीकार्य नहुने स्पष्ट रुपमा निर्माण कम्पनीलाई भनेको बताए  । निर्माण कम्पनीले चैत्रको पहिलो सातासम्ममा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएकाले आफू विश्वस्त रहेको उनको भनाइ छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नयाँ संसद् भवन निर्माणका लागि २०७६ असोज १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।

तोकिएको समयमा काम नसकिएपछि पछिल्लो पटक पाँचौँ पटकका लागि २०८२ पुस १६ गतेसम्म म्याद थप गरिएको थियो , तर सो समयमा समेत निर्माण सम्पन्न नभए पनि निर्माण कम्पनीले चैत्र पहिलो साता निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने जनाएको छ ।

सम्बन्धित समाचार