बर्दिबास। बर्दीबास नगरपालिका वडा ६ स्थित किसाननगरमा सौर्य विद्युत आयोजना निर्माणको शिलान्यास गरिएको छ । टेरा सोल इनर्जी कम्पनी लिमिटेडको करिब १ अर्ब २० करोड रुपियाँ लागतमा निर्माण हुन लागेको उक्त आयोजनाको मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज वैदिक विधिपूर्वक शिलान्यास गर्नुभएको हो ।
किसाननगरको करिब ४० विग्हा क्षेत्रफलमा निर्माण हुने यस आयोजनामा ३ लाखबढी सोलार प्यानल जडान गरी २० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । निजी क्षेत्रको लगानीमा निर्माण हुन लागेको यो आयोजना मधेश प्रदेशको हालसम्मकै सबैभन्दा महत्वाकांक्षी सौर्य विद्युत आयोजना भएको जनाइएको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले निजी क्षेत्रको लगानीमा पहिलोपटक निर्माण हुन लागेको यो सौर्य आयोजना मधेश प्रदेशका लागि गौरवको आयोजना भएको बताउनुभयो । उहाँले यस आयोजनाले ऊर्जा क्षेत्रमा योगदान पु¥याउनुका साथै मधेशमा लगानी, रोजगारी र आर्थिक सम्भावनाका नयाँ क्षितिज खोल्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री यादवले भन्नुभयो, ‘ठूलो लगानी, लामो समय, राजनीतिक अस्थिरता र विभिन्न अवरोधका कारण ठूला जलविद्युत आयोजनाले अपेक्षित गति लिन नसकेको अवस्थामा सौर्य विद्युत कम लगानी, छोटो समय र बाह्रैमास उत्पादन दिन सक्ने प्रभावकारी विकल्प बनेको छ । यसले मधेशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन योगदान पुग्ने अपेक्षा बढाएको छ ।’ उहाँले मधेश सरकारको मुलुकलाई नै खाद्यान्नमा आत्मनिर्भर बनाउने महत्वाकांक्षी योजना ‘फिड द नेसन’ लाई सफल बनाउन सौर्य ऊर्जालाई कृषि प्रणालीसँग जोडेर कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । सौर्य ऊर्जाको विकास, निर्माण र उत्पादनमा मधेश सरकारले निरन्तर सहयोग र प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बर्दीबास नगरप्रमुख प्रहलाद क्षेत्रीले सौर्य विद्युत आयोजनाले नगरको विकास, निर्माण र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । उहाँले यस आयोजनामार्फत स्थानीयस्तरमा नयाँ सीपयुक्त जनशक्ति उत्पादन भई स्थानीय युवाहरूका लागि रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।
टेरा सोल इनर्जी कम्पनी लिमिटेडकी कार्यकारी प्रमुख पूजा सिंह ठकुरीले ८० जना किसानको करिव ४० विग्हा क्षेत्रफलमा निर्माण हुने यस आयोजनामा तीन लाख ३३ हजार सोलार प्यानल जडान गरि ६७ वटा इन्भरटर र ४ ठूला ट्रान्सफरमरमार्फत उत्पादन हुने २० मेगावाट विधुत ढल्केवरस्थित विद्युत सव स्टेसनमा जोडिने लक्ष्य रहेको जनाउनुभयो ।
ठकुरीले भन्नुभयो, ‘ढल्केवरले यहाँ उत्पादित विधुत स्थानीय खपतका लागि वितरण गर्ने छ । यो नयाँ शुभारम्भ हो । उर्जाको क्षेत्रमा यहाँका स्थानीयका लागि सुनौलो विहानीको सुरुवात पनि हो ।’ उहाँले आगामी ६ देखि ८ महिनाभित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको जानकारी दिदै यहाँ प्रयोग हुने अत्याधुनिक प्रविधि नेपालमै पहिलोपटक जडान हुन लागेको बताउनुभयो।
यसअघि ढल्केवर सब–स्टेसनका प्रमुख सूर्यनारायण मण्डलले मधेश प्रदेश सौर्य ऊर्जा र विद्युत उत्पादनका लागि उर्वर भूमि भएको उल्लेख गर्दै विज्ञान र आधुनिक प्रविधिको विकाससँगै जलस्रोत बाहेकका वैकल्पिक ऊर्जाका स्रोतहरूमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘विद्युत भनेको जलश्रोतबाट मात्र उत्पादन हुने बाध्यतालाई विज्ञानको विकाश र आधुनिक प्रविधिले नयाँ विकल्पहरु दिन थालेको छ । त्यसमध्ये सोलार इनर्जीको सम्भावना प्रचुर छ । मधेश प्रदेशले यसमा लगानी र अवसर बढाउन सकनु पर्छ ।’