बारामा बालविवाह गराउने बाबुसहित चिनियाँ नागरिक पक्राउ

4.3k Shares

काठमाण्डाैँ । बाराको करैयामाई गाउँपालिका–१, हरैया टोलमा नाबालिग किशोरीसँग गरिँदै गरेको विवाहलाई प्रहरीले रोकेको छ। गएराति करिब १०ः३० बजे नाबालिगको विवाह विदेशी नागरिकसँग गराइँदै छ भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराको टोली परिचालन भएको थियो।

प्रहरीका अनुसार हरैया टोलका ४४ वर्षीय जाकिर हुसैन देवानले आफ्नै नाबालिग छोरीको विवाह चिनियाँ युवकसँग गराइरहेका थिए। चीनको गान्सु प्रान्तनिवासी २२ वर्षीय निउ युबिन हुन जो केही दिनअघि मात्र पर्यटक भिसामा नेपाल आएका थिए।

सूचना प्राप्त भएलगत्तै प्रहरी निरीक्षक प्रकाश खड्का नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट तथा प्रहरी नायब निरीक्षक शम्भुप्रसाद यादवसमेतको टोली प्रहरी चौकी मधुवनबाट घटनास्थलतर्फ खटिएको थियो। टोलीले घरभित्र पुग्दा नाबालिग बालिका र निउ युबिनलाई बेहुला बेहुलीको पहिरनमा विवाह प्रक्रिया चलिरहेको अवस्थामा फेला पारेको थियो।

प्रहरीले तत्काल बालिकालाई उद्दार गरी सुरक्षित स्थानमा राखेको जनाएको छ। बालविवाह गराउने तथा गर्ने दुवै व्यक्तिलाई नियन्त्रणमा लिई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

सम्बन्धित समाचार