जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले मधेसमा प्रतिनिधित्व दलहरूले आफूलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् ।
रातोपाटीसँग कुराकानी गर्दै नवनियुक्त मुख्यमन्त्री यादवले विगतमा एमालेले जसपा नेपाल, जनमत पार्टीलाई सरकार बनाउन सहयोग गरेकाले ती दलहरूले पनि बाध्यात्मक अवस्थामा सरकारमा पुगेको एमालेलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका हुन् ।
उनले भने ‘संवैधानिक सर्वोच्चता कायम गर्न बाध्यात्मक अवस्थामा सबैभन्दा ठुलो दल एमालेको नेताको हैसियतले मुख्यमन्त्री बनेको छु, दलहरूले मलाई सहयोग गर्नेछन् भन्नेमा म विश्वस्त छु ।’ मुख्यमन्त्री यादवले अहिले आफूसँग सङ्ख्यात्मक हिसाबले एमालेका प्रदेशसभा सदस्यहरूको मात्रै साथ रहेको जानकारी दिँदै आफूले दलहरूसँग छलफल प्रक्रिया अगाडी बढाई सकेको बताए । दलहरूसँगको छलफलपछि सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे ।
यद्यपि दलहरूको छलफलमा अन्य राजनीतिक दलहरूले नेपाली कांग्रेसको नेतृत्व स्विकार्न तयार भयो भने आफू त्यसकालागि अझै पनि तयार रहेको जानकारी दिए ।
सोमबार मुख्यमन्त्री कार्यालयमा राष्ट्रिय झन्डा फालिएको विषयलाई कोट्याउँदै मुख्यमन्त्री यादवले राष्ट्रिय झन्डाको अपमान गर्ने नेतालाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वसँग कारबाही गर्न माग गरे । उनले भने ‘यदि म मुख्यमन्त्री भएको विषयमा रिस छ भने म मुख्यमन्त्रीको पदबाट राजीनामा दिन तयार छु तर राष्ट्रियतासँग म कुनै पनि हालतमा सम्झौता गर्न सक्दिन ।’