काठमाडौं । मोटरसाइकल तथा स्कुटरमा यात्रा गर्दा अब दुबै जनाले हेल्मेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको छ ।
महानगरीय ट्राफिक महाशाखाले २०६५ सालमा दुई पांग्रे सवारी साधनको पछाडि बस्नेले हेल्मेट लगाउनुपर्ने नियम ल्याएको थियो । केही समय प्रहरीले नियमलाई अनिवार्य गर्न पनि खोजेको थियो । तर, मोटरसाइकल चलाउनेसँगै पछाडि बस्नेले पनि हेलमेट लगाउनैपर्ने नियम बाध्यकारी गरेपछि ट्राफिक प्रहरीसँगै सरकारले निकै आलोचना खेप्नु परेको थियो । चौतर्फी रुपमा आलोचना भएपछि असफल भयो । त्योबेला अव्यवहारिक मानिएको नियम फेरि लागू हुने भएको छ। मोटरसाइकल र स्कुटरका चालकसँगै यात्रा गर्ने अन्य यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी ऐनमै व्यवस्था गरेर अनिवार्य हुन लागेको हो ।
सुरक्षाका लागि भन्दै यातायात व्यवस्था विभागले ऐनमा नै चालकसँगै पछाडि बस्ने यात्रुका लागि हेल्मेट अनिवार्य गर्न प्रस्ताव गरेको हो । 'सवारी तथा यातायात व्यवस्था ऐन २०७७' को ड्राफ्ट तयार भएर राय, सुझावका लागि कानुन मन्त्रालय पठाइसकिएको छ । तुलनात्मक रुपमा दुई पांग्रे सवारी साधनको दुर्घटना धेरै हुने र पछाडि बस्ने यात्रुको 'हेड इन्जुरी'का कारण ज्यान जाने गरेको भन्दै हेल्मेट अनिवार्य गर्न लागिएको हो।
दुईपांग्रे सवारी साधनमा चढ्ने दुवै जनालाई हेल्मेट अनिवार्य गराउँदा झन्झटिलो हुनसक्ने केहिले टिप्पणी गरेको छ ।