कांग्रेसमा विरासतको राजनीति गर्ने सबै किनारा

15.5k Shares

काठमाडौं । नेपाली काँग्रेसका संस्थापक नेताका सन्तानहरु पार्टी राजनीतिमा किनारा लगाइएका छन् । पदाधिकारीमा उठेका सबै नेताका छोराछोरी पराजित भए । केन्द्रीय सदस्यमा पनि नेताका नातेदार पराजित भएका छन् । यसलाई सभापति शेरबहादुर देउवाले आफ्नो परिवारलाई काँग्रेसको राजनीतिक विरासतका रुपमा स्थापित गर्न खोजिएको विश्लेषण समेत हुन थालेको छ 

यसपटक काँग्रेसको राजनीतिमा आरजु देउवा हावी भइन् । उनले भित्री रुपमा निकै महत्वपूर्ण भूमिका खेलिन् । फरक समूहका हस्ती नेताहरुसँग गोप्य भेटघाट गरेर भद्र सहमतिमार्फत् देउवालाई मत दिलाउन सफल भइन् । पदाधिकारीमा भएको मत क्रसले पनि देउवा आरजुकै चार्तुयताले चुनाव जितेको विश्लेषण हुन थालेको छ । आरजु आफै केन्द्रीय सदस्यमा महिलातर्फको उम्मेदवार बनिन् । उनले खुल्लातर्फ उम्मेदवार बन्न आँट गरिनन् । आरजु तेस्रो स्थानमा रहेर चुनाव जितिन् 

काँग्रेसको राजनीतिमा यसपटक गणेशमान सिंहका छोरा प्रकाशमान सिंह र महेन्द्र नारायण निधिका छोरा विमलेन्द्र निधि सभापतिको उम्मेदवार थिए । उनीहरु दुवै संस्थापक नेताका छोराहरु हुन् । नेविसंघको राजनीतिबाट अगाडि बढेका दुवै सभापतिको दौडमा पछि परे । गिरिजाप्रसाद कोइरालाका भतिजा डा. शेखर कोइराला पनि सभापतिमा पराजित भए । उनले आफ्नै परिवारका सदस्यको साथ पाएनन् । सशांक कोइराला तटस्थ बसे । सुजाता प्रकाशमानको समूहमा गइन् । महेश आचार्य स्वतन्त्र रुपमा उपसभापतिको चुनाव लडे । काँग्रेसका पुराना नेता वसन्त गुरुङका छोरा कल्याण गुरुङ पनि सभापतिमा पराजित भए । उनी नेविसंघका पूर्वसभापति हुन् 

विरासतको राजनीतिबाट आएकी सुजाता पनि उपसभापतिमा पराजित भइन् । रोचक पक्ष यो छ कि महोत्तरीलाई चुनावी क्षेत्र बनाएर राजनीतिमा सक्रिय किरण यादव नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा पराजित भइन् । उनी प्रथम राष्ट्रपति डा. रामवरण यादवकी भतिजी हुन् । काँग्रेसको राजनीतिमा रामवरण यादव कोइराला परिवारसँग नजिक छन् । रामवरण निकट रामकृष्ण यादव सहमहामन्त्रीमा पराजित भए । रामवरणका छोरा चन्द्रमोहन भने मधेशी खुल्लातर्फको केन्द्रीय सदस्य जित्न सफल भए । उनी ५ सिटमा तेस्रो भए । अर्बपति बिनोद चौधरीभन्दा चन्द्रमोहन पछि परे 

काँग्रेसमा नेताका सन्तानलाई धक्का पर्दा आरजु देउवाको उदय भएको छ । उनले काँग्रेसभित्र बलियो पकड बनाएकी छिन् । आरजु निकट महिलाहरु केन्द्रीय सदस्यमा विजयी भए । अब काँग्रेसको नेतृत्वमा आरजु जानसक्ने तयारीका रुपमा पनि यसलाई लिन थालिएको छ । देउवाले आरजुलाई स्थापित गर्न खोजेको देखिएको छ । काँग्रेसमा देउवा समूहमा अगाडि बढ्नसक्ने बालकृष्ण खाँण, एनपी साउद जस्ता नेताहरुलाई पनि पदाधिकारीमा रोकिएको छ । खाँण र साउद आरजुले नरुचाउने बुझिएको छ । उनीहरु भविष्य बोकेका नेता भएकाले पछि पारिए 

वीपी कोइरालाका पुत्र डा. सशांक कोइराला भने तटस्थ रहे । उनी खुल्लातर्फ केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याई विजयी भए । तर, काँग्रेस महामन्त्री भइसकेका सशांक यसपटक ब्याक हुनुप¥यो । काँग्रेसभित्र नेताका सन्तानलाई पार्टी राजनीतिमा धक्का लाग्नुलाई कतिपयले विरासतको राजनीति कमजोर भएको या समाप्त हुन लागेको भन्न थालेका छन् । तर, १४औं महाधिवेशनको यो घटनासँगै नेताका सन्तानहरु झस्किएका छन् । उनीहरु एकजुट नहुँदा पछिल्लो परिणाम आएको विश्लेषण पनि भइरहेको छ । कोइराला परिवारका तीन प्रभावशाली नेताहरु शेखर कोइराला, सुजाता कोइराला र सशांक कोइराला विभाजित भए । प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि फरक समूह बनाएर चुनाव लडे । यसले पनि उनीहरुलाई धक्का लाग्यो 

शेखर विमलेन्द्र गठबन्धन

नेपाली काँग्रेसमा सभापतिमा पराजित उम्मेदवारहरु डा. शेखर कोइराला र विमलेन्द्र निधिबीच गठबन्धन बनेको छ । दुई नेताबीच प्रदेश २ को अधिवेशनमा गठबन्धन बनेको हो । सभापति शेरबहादुर देउवा पक्षधरले कृष्ण यादवलाई उम्मेदवारका रुपमा अगाडि सारेपछि संस्थापनइतर डा. शेखर कोइराला समूहले विमलेन्द्र निधि निकट रामसरोज यादवलाई साथ दिने निर्णय लिएको छ । दुवैले उम्मेदवारी दर्ता गरेका छन् । यसबाट कोइराला र निधिको नयाँ समिकरण विकास भएको छ 

प्रदेश २ का काँग्रेस संसदीय दलका नेता तथा भौतिकमन्त्री समेत रहेका रामसरोज निधिका विश्वासपात्र हुन् । सभापतिको दोस्रो चरणको प्रतिष्पर्धामा भने निधिले देउवालाई नै साथ दिएका थिए ।  सभापतिका उम्मेदवार कृष्ण यादवलाई जिताउन गृहमन्त्री बालकृष्ण खाँण आफै जनकपुर खटिएका छन् । सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरु उदय शमशेर राणा, रामहरि खतिवडा, सुरेन्द्रराज पाण्डे, आनन्दप्रसाद ढुंगाना, रामेश रिजाललगायत जनकपुरमा छन् । कोइराला र निधि पक्षका नेताहरु पनि जनकपुर केन्द्रित भएका छन् 

देउवा गुटमा सिटौला अस्वीकृत

नेपाली काँग्रेसको १४औं महाधिवेशनमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापति शेरबहादुर देउवाको पक्षमा खुले । महाधिवेशनमा कठिन चुनौती देखेका देउवाले सिटौलाको साथ लिएका थिए । सिटौला आफू ब्याक भएर आफ्ना विश्वासपात्रहरुलाई अगाडि बढाए । सिटौला समूहलाई महामन्त्रीसहित केही केन्द्रीय सदस्यका उम्मेदवारलाई प्यानलमै राख्न देउवा तयार भए । देउवा समूहका हस्तीहरुलाई केन्द्रीय सदस्यको उम्मेदवारमा सिमित हुनुप¥यो । प्रदीप पौडेललाई देउवा महामन्त्रीको उम्मेदवार मान्न देउवा तयार भए । बालकृष्ण खाँण, एनपी साउद, रमेश लेखक जस्ता हस्तीहरु ब्याक गराइए 

पौडेलले महामन्त्रीमा पराजय व्यहोरे । सिटौलाले पौडेल महामन्त्रीको उम्मेदवार बन्ने पहिल्यै घोषणा गरेका थिए । उनले भनेजस्तै भयो । तर, देउवा समूहमै उनी स्वीकार्य भएनन् । जसका कारण पराजित भए । सिटौलाले अघि सारेर देउवा प्यानलमा राखेका कतिपय उम्मेदवारहरु पराजित भए । जसमध्ये पूर्वसांसद धना खतिवडा पनि हुन् । उमाकान्त चौधरी सहमहामन्त्रीमा जिते । उनी देउवासँग पनि उत्तिकै नजिक छन् । कुन्दन काफ्ले मात्र केन्द्रीय सदस्यमा विजयी भए 

सिटौला विगतमा गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए । उनको निधनपछि सुशील कोइरालाको विश्वासपात्र बने । १३औं महाधिवेशनमा सभापतिको दाबी गरे । रामचन्द्र पौडेल उम्मेदवार बनेपछि उनी पनि उम्मेदवार बने । तत्कालीन संस्थापन पक्षको मत बाँडिदा दोस्रो चरणमा देउवाले जिते । लामो समय कोइराला परिवारसँग नजिक रहेका सिटौलालाई देउवा समूहले स्वीकार्न तयार नभएको विश्लेषण भइरहेको छ । चतुर नेताको परिचय बनाएका सिटौला यसपटक भने देउवा समूहबाट नराम्रो धक्का खान पुगेका छन् । सभापतिका लागि दोस्रो चरणको चुनाव हुँदा पनि उनी निर्णायक शक्ति देखिएनन् । न त उनको भूमिका नै महत्वपूर्ण बन्न सक्यो । यसले पनि सिटौलालाई ठूलो धक्का परेको छ । कतिपयले उनी राजनीतिमा विस्तारै पाखा लागेको भन्न थालेका छन् 

 नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको प्रतिष्पर्धामा पराजित भएका प्रकाशमान सिंह र विमलेन्द्र निधि नयाँ रणनीतिका साथ देखिन थालेका छन् । उनीहरु आफूसँग भएको शक्तिलाई पुनः जागृत गराउन लागिपरेका छन् । पहिलो चरणमा शेरबहादुर देउवा विजयी नहुँदा सिंह र निधिलाई राजनीतिक शक्ति आर्जनमा केही सहज बन्यो । दोस्रो चरणको प्रतिष्पर्धामा निर्णायक शक्ति देखिए । उनीहरुकै निर्णयले शेरबहादुर देउवा सभापतिमा निर्वाचित भए । सिंह र निधिको राजनीतिक भविष्यबारे कतिपयले विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । तर, सिंहको काँग्रेस राजनीतिमा काठमाडौं उपत्यकामा बलियो पकड कायमै देखिएको छ । निधिको प्रदेश २ मा पकड बलियो छ । यसकारण पनि उनीहरु काँग्रेसको भावी राजनीतिमा हावी हुनसक्ने देखिएको छ 

सिंह र निधिसँग देउवाले भद्र सहमति गरेको विषय पनि आइरहेको छ । देउवालाई यी दुई नेतासँगको भद्र सहमति पूरा गर्नुपर्ने चुनौती छ । अर्कोतर्फ, यी दुई नेता छुट्टै समूह बचाएर बढ्ने हुन् या कुनै समूहसँग मिल्ने हुन् चासोको विषय बनेको छ । प्रकाशमान सिंह डा. शेखर कोइरालासँग निकै असन्तुष्ट रहेको बुझिएको छ । विशेषगरी उनको समूहका प्रभावशाली नेताहरुले आफूलाई सभापतिको दौडमा अस्वीकार गरेको र पछि विवादास्पद टिप्पणी गरेकोमा सिंहले गम्भीर चासो देखाएको बुझिएको छ । अब शेखर कोइराला समूहका नेताहरुले आफूलाई अस्वीकार गर्ने निष्कर्षमा पुगेका उनी देउवा समूहसँगै नजिक भइसकेका छन् । देउवा समूहका बालकृष्ण खाँण, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, उदय शमशेर राणा जस्ता नेताहरुले सिंहसँग निकटता बढाइरहेका छन् । यसले पनि उनी देउवा समूहसँगै नजिक हुने देखिएको छ । अर्कोतर्फ, प्रकाशमान सिंह, डा. सशांक कोइराला र सुजाता कोइरालाको चाक्सीबारीमा छुट्टै छलफल अर्थपूर्ण मानिएको छ । यी तीन नेताहरु भविष्यमा मिलेर जाने सम्भावना पनि बढेको छ 

विमलेन्द्र निधिले भने प्रदेश २ को काँग्रेस सभापतिको चुनावमा शेखर कोइराला समूहसँग रणनीतिक समिकरण बनाउने निश्चितप्रायः भएको छ । उनी छुट्टै समूह बनाएर अगाडि बढ्ने देखिएको छ । तर, उनले देउवा समूहभन्दा शेखर कोइराला समूहसँग नजिक रहेर शक्ति सञ्चय गर्ने संकेतहरु देखिएको छ । निधिले देउवा समूहका नेताहरुले आफूलाई साथ नदिएको आधारमा फरक धार बनाएरै बढ्ने निर्णय लिएको देखिन्छ । उनी यसरी नै आगामी महाधिवेशनसम्म बढ्लान् या कुनै समूहसँग जोडिएलान् चासोको विषय छ । तर, उनी देउवा समूहबाट भने टाढिइसकेका छन् । अब सिंह देउवासँग नजिकिने र निधि कोइरालासँग नजिकिने घटनाक्रम विकास भएको छ । 

सम्बन्धित समाचार