बाँकेमा सिक्टा सिँचाइ आयोजनामार्फत ९० प्रतिशत बढी रोपाइँ

7.3k Shares

नेपालगन्ज, साउन १३ गते । बाँके जिल्लामा पर्याप्त वर्षा नभएपनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका कारण ९० प्रतिशत भन्दा बढी रोपाइँ भएको छ । 

कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले बाँके बर्दिया लगायतका तराईका जिल्लाहरुमा लामो समयदेखि प्रयाप्त बर्षा नहुँदा रोपाई हुन नसकेकोमा बाँके जिल्लामा भने ९०.९ प्रतिशत रोपाइँ भएको बताउनुभयो । उहाँले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिक्टा सिंँचाइ आयोजनाको विभिन्न नहरहरुको निर्माण पुरा भएर पानी छोडिएकोले सो पानीको प्रयोग तथा मोटरबाट पनि विभिन्न स्थानमा किसानले पानी तानेर रोपाइँ गरेकोले ९०.९ प्रतिशत रोपाइँ सम्भव भएको बताउनुभयो । 

बाँकेमा सिक्टा सिँचाइ आयोजनाको नहरहरु सञ्चालनमा आइसकेकोले अब यहाँका किसानले आकासे खेतीको भरमा खेती गर्नुपर्ने बाध्यता समाप्त भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत बस्नेतले बताउनुभयो । उहाँले सिक्टाको नहर नपुगेको नरैनापुर र जानकी गाउँपालिकामा अन्य पालिकाको तुलनामा रोपाइँ कम भएपनि नहर पुगेको पालिका तथा अन्य माध्यमबाट सिंचाई गरेका पालिकाहरुमा राम्रो रोपाइँ भएको बताउनुभयो । 

सिक्टा सिँचाइ आयोजनाका कारण यस वर्ष समयमै रोपाइँ सम्पन्न हुन लागेकोले यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । हालसम्मको अवस्थालाई हेर्दा यस वर्ष विगतभन्दा १५ देखि २० प्रतिशतसम्म धान उत्पादन बढ्ने अनुमान गरिएको सो कार्यालयको अनुमान छ । 

सिक्टा सिँचाइ आयोजनाबाट जिल्लाको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले यस पटक वर्षा नभएपनि रोपाइ प्रभावित नभएको सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले बताउनुभयो। उहाँले आयोजनाको पश्चिमी र पूर्वि मूल नहरसँगै विभिन्न शाखा नहरहरुबाट किसानहरुले पानी तानेर रोपाई गरेको बताउनुभयो । 

बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेकोमा सिक्टा सिँचाइबाट २२ हजार हेक्टर र अन्य बिभिन्न बोरिंग र सिँचाइबाट गरेर करिब सात हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले बर्षा नभएपनि रोपाइ सम्भव भएको राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगीले बताउनुभयो । उहाँले सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य पुरा भएपछि अकाशको भरमा खेती गर्ने बाध्यता पूर्ण रुपमा अन्त हुने बताउनुभयो ।

सम्बन्धित समाचार