ताप्लेजुङ– राष्ट्रिय युवासंघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनमा भाँडभैलो भएको छ। केन्द्रीय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा बिहीबार उद्घाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो । तर विवाद भएका कारण नयाँ समिति चयन प्रक्रिया रोकिएको छ ।
संघको बन्द सत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीको लागि नाम सूची तयार गरेर अध्यक्षमण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोजिँदा विवाद भएको हो । युवा संघ जिल्ला कमिटीको चुनावमा पनि प्रेस चौतारीको महाधिवेशनमा राजेश राई पक्षलाई निषेध गरिए जस्तै अभ्यास एमालेले गरेको हो ।
बन्द सत्रका क्रममा निर्वाचनका कुनै पनि प्रक्रिया पूरा नगरी संघमा लामो समय काम गरेकाहरूलाई निषेध गरेर विधानविपरीत कमिटी चयन गर्दा विवाद सुरू भएको एकजना प्रतिनिधिले बताएका छन् ।
अधिवेशनको प्रमुख अतिथि बनेर थेवे गृहजिल्लामा जाँदासमेत आतंक मच्चाइएको गुनासो ती प्रतिनिधिले गरेका छन् । जिल्ला सदरमुकाम फुङलिङको सडकमा करिब २५ जना युवाहरूको मोटरसाइकल जुलुससहित थेवे पुगेका थिए ।
‘युवा संघका नेताहरू आउँदै हो-हल्ला थियो । बेलुका युवासंघभित्र ठूलै विवाद भएछ’, एकजना प्रतिनिधिले भने, ‘केन्द्रीय अध्यक्षको निर्देशनमा जवरजस्ती एकलौटी कमिटी घोषणा गराउन खोजिएपछि तनाव देखिएको हो ।’
संघलाई एकल निर्देशनमा चलाउन खोज्ने यस्तो प्रवृत्तिले पार्टीलाई पनि असर गर्ने प्रतिनिधिहरूको भनाइ छ । उनीहरूले बन्दसत्रको विधि र प्रक्रियामा जानुपर्ने माग गरेका छन् ।
अधिवेशन जिल्लाको पार्टी कार्यालय फुङलिङमै भएको थियो । विवाद भएपछि अधिवेशनस्थलमा टेबल, कुर्सी र माइकमा पनि तोडफोड भएको छ ।
संघको बन्द सत्रमा बिहीबार राति कुर्सी हानाहान तथा तोडफोड भएको हो । विहीबार राति युवाहरूबीच कुर्सी हानाहान तथा सभा हलमा तोडफोड भएको हो ।
बिहीबार दिउँसो थेवे आफैँले १० औं जिल्ला अधिवेशन उद्घाटन गरेका थिए । उनलाई युवाहरूको समूहले काबेलीबाट मोटरसाइकल र्यालीसहित भित्र्याएका थिए । तर बन्द सत्र सुरु भएपछि झडप भएको हो ।