काठमाडौँ । काठमाडौँको गोकर्णेश्वरस्थित बाहुनधारा बस्ने राहुल साह चैत ११ देखी सम्पर्कविहीन थिए । शाहको बुवाले प्रहरीमा निवेदन दिए, ‘मेरो छोरा खोजी गरिपाऊँ ।’
गोकर्णेश्वर नगरपालिका वडा नम्बर–८ स्थित माकलबारीमा सञ्चालित आरके मोटरसाइकल वर्कसपको सञ्जालसँग लेनदेन रहेको सुराक अनुसन्धान अधिकृतहरूले पाए । त्यसपछि प्रहरी वृत्त बौद्धका डीएसपी जयश्वर रिमाल आफ्नो टिम लिएर वर्कसपमा पुग्छन् ।
वर्कसप भित्र खनेर हेर्दा राहुल शाहको शव भेटियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा भन्छन्, ‘चैत १५ मा वर्कसप भित्र गाडेको अवस्थामा शव उत्खनन् गरेर घटनाबारे अनुसन्धान गरिरहेका छौँ ।’
१९ वर्षीय शाहलाई वर्कसप सञ्चालकसहित ६ जना मिलेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा वर्कसप सञ्चालक सर्लाही घर भएका २२ वर्षीय निप मण्डल, १८ वर्षीय विजय यादव, १८ वर्षीय करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, ४५ वर्षीय उत्तम मण्डल र भारत घर भएर दक्षिणढोका बस्ने २९ वर्षीय सुनील शर्मा छन् ।
शर्मा बाहेक अन्य आरोपीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । वर्कसपमा मोटरसाइकल बनाउन प्रयोग हुने सामग्री प्रयोग गरेर उनीहरूले शव व्यवस्थापन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।