दिक्तेल–रेग्मीटार सडक निर्माण अन्तिम चरणमा

12.1k Shares

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।

सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

‘दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९–८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । निर्माण हुन पाँच सय मिटरमात्र बाँकी छ । पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा छौँ’, उनले भने, ‘दिक्तेल–रेग्मीटार सडक निर्माणमा नगरपालिकाको ८५ लाख खर्च भइसकेको छ । यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि ४० लाख बजेट उपलब्ध गराएको छ ।’

यो सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७९–८० मा विनियोजित ४० लाख र २०८०–८१ मा विनियोजित २० लाख खर्च भएको जनाइएको छ । नगरपालिका तथा प्रदेश सरकारको साझेदारीमा विनियोजित बजेटमार्फत दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए ।

दिक्तेल–रेग्मीटार सडकको मार्ग खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने नगर उपप्रमुख विशन राईले बताए । यता, दिक्तेल–खानीडाँडा–आहाले सडक भर्खरै कालोपत्र सम्पन्न गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड एक लाख ८८ हजार लगानीमा १०.९७४ किलोमिटर लामो सो सडक कालोपत्र गरिएको हो ।

सम्बन्धित समाचार