कर्णाली करिडोरकाे सडक स्तरोन्नति गर्न ४ अर्ब २३ कराेड रुपैयाँ बजेट सुनिश्चित

9.2k Shares

कालीकाेट – कर्णाली प्रदेशको महत्त्वपूर्ण आयोजनाका रूपमा रहेको कर्णाली करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले चार अर्ब २३ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ । कर्णाली करिडोरको दक्षिण खण्ड कालीकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्म सडक स्तरोन्नति गर्न मन्त्रालयले बजेट सुनिश्चित गरेको हो ।

५० किलोमिटर कालोपत्रसहित सडक स्तरोन्नति गर्ने बहुवर्षीय ठेक्कासमेत भइसकेको छ । २०७१ सालमा खुलालुदेखि सल्लीसल्लासम्मको चट्टानसहितको असजिलो भागमध्येको १ सय ९६ किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले गरेको थियो । सेनाले ट्र्याक खोल्ने काम सम्पन्न गरी २०७८ सालको असारमा सडक विभागलाई सडक हस्तान्तरण गरेको थियो ।

नेपाल–भारतको दक्षिणी सीमा क्षेत्र बाँकेको जमुनाहदेखि नेपाल–चीनको उत्तरी सीमा क्षेत्र हुम्लाको हिल्सा जोड्ने कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म ४ सय १० किलोमिटर लम्बाइ छ ।

उत्तर–दक्षिणका दुई विशाल छिमेकी देश, भेरी, कर्णाली र सुदूरपश्चिम गरी तीन वटा प्रदेश र १२ वटा जिल्लालाई जोड्ने यो करिडोरले झन्डै २५ लाख जनसङ्ख्यालाई प्रत्यक्ष रूपमा लाभ पुर्‍याउँछ । कर्णाली करिडोर स्तरोन्नति भएमा नेपालगञ्जबाट उत्तरी सीमा बजार हिल्सासम्म १२ देखि १४ घण्टामा पुग्न सकिनेछ ।

सम्बन्धित समाचार