देउवा ओलीस“ग मिलेर चुनाव गर्ने रणनीतिमा

15.5k Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्तामा चढाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले मुख्य भूमिका खेले । दुवै नेताले प्रतिनिधि सभा पुनःस्थापना गरेर संविधान जोगाउन सके । तर, त्यही प्रतिनिधि सभाबाट प्रधानमन्त्री बनेका देउवा बिघटनको बाटोतर्फ बढ्न खोजेका छन् । देउवा अर्ली इलेक्सनका लागि आतुर देखिएका छन् । उनले यसै दिशातर्फ आफ्ना कदमहरु बढाइरहेका छन् । 

देउवाले दुई पटक प्रतिनिधि सभा विघटन हुँदा पनि चुनावको रटान लगाएका थिए । उनले देशलाई चुनावमा लानुपर्ने सार्वजनिक रुपमै बोलेका थिए । ओलीको प्रतिनिधि सभा विघटनको कदमप्रति उनी सुरुमा विरोधी देखिएनन् । चुनाव चाँडै गरेर सत्तामा चढ्न सकिन्छ भन्ने ठाने । तर, घटनाक्रमले प्रतिनिधि सभा पुनःस्थापनाको बाटोमा देश गयो । देउवा भाग्यले प्रधानमन्त्री बने । अहिले उनी ओलीसँग भित्री साँठगाँठमा लागेका छन् । अर्ली इलेक्शनको प्रस्ताव लिएर बालकोटमा दूतहरु पठाइरहेका छन् । 

देउवाको दूत बनेर कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मङ्गलबार बालकोट पुगे । त्यहाँ उनले देउवाको सन्देश लिएर गए । विश्वस्त स्रोतका अनुसार कार्कीले ओलीलाई अर्ली इलेक्शनमा जान सकिने विषयबारे देउवाको सन्देश लगेका थिए । एमसीसी पारित र अर्ली इलेक्शनको विषयमा प्याकेजमै सहमतिको विषय पनि उठेको छ । ओलीले एमसीसीमा गठबन्धनले निर्णय नलिएकोमा प्रश्न गरेका छन् । अब एमसीसीकै माध्यमले देउवा र ओली नजिकिने र चुनावमा जानेतर्फ सहमतिको प्रयास चलिरहेको छ । मंसिरको साटो वैशाख या जेठमा चुनाव गर्न देउवालाई उचाल्न खोजिएको छ । जति ढिलो चुनाव हुन्छ उति नै देउवालाई घाटा रहेको विश्लेषणहरु काँग्रेसभित्र हुन थालेको छ । त्यसैले उनी गठबन्धन तोडेर भएपनि चुनावतर्फ बढ्न खोजिरहेका छन् । 

चुनाव आवधिक हुनुपर्ने पक्षमा प्रचण्ड र माधव नेपाल देखिएका छन् । उनीहरुले संसद र संविधान जोगाए । तर, देउवाले संसदमाथि फेरि प्रहार गर्न खोजेका छन् । उनले संसद विघटन गरी देशलाई अर्ली इलेक्शनमा लाने बहानामा अर्को संकटको सृजना गर्न खोजेका छन् । देउवाले प्रचण्ड र माधव नेपालमाथि ठूलो राजनीतिक बेइमानी गर्न खोजेको संकेतहरु मिलिरहेको छ । संविधानलाई फेरि संकटमा पार्ने षड्यन्त्रहरु हुन थालेका छन् । 

संविधानले राजनीतिक अस्थिरता रहन नदिने र संसद पूरा अवधि रहने परिकल्पना गरे अनुसार देश अगाडि बढ्ने आशा गरियो । फेरि अस्थिरताको बाटोमा देशलाई धकेल्न खोजिदैछ । सरकार गठन भएको तीन महिना पुग्न लाग्दा विस्तारको सम्भावना बल्ल देखिदैछ । कतिपय मुद्दाहरुलाई राजनीतिक बार्गेनिङको अस्त्र बनाइयो । राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय बनाउन देउवाले ढिलाई गरे । यसमा उनको राजनीतिक स्वार्थ देखियो । 

देउवा सरकारले दुई दल विभाजन गर्ने बाहेकको खासै उपलब्धिहरु नगर्ने देखिइसकेको छ । नेकपा एमाले र जसपा विभाजित भई नेकपा एस र लोसपा बन्यो । यसका लागि देउवा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश नै ल्यायो । भविष्यमा यस्तै अध्यादेशबाट दल विभाजित गराउने र अस्थिरता बढाउने नजिर बसाल्यो । दलहरु फुट्न केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पुग्नुपर्ने अनिवार्य व्यवस्था संविधानमा रहेकोमा अध्यादेशमार्फत् जस्तो पनि बनाउन सकिने बनाइयो । यो तत्काल कसैका लागि फाइदाजनक भएपनि भविष्यका लागि गलत नजिरका रुपमा बन्यो । देउवाले यसैलाई आफ्ना लागि चुनाव जित्ने अवसर ठानेर संसदमाथि प्रहारको हतियार तयार गरिसकेका छन् । देउवाको यस्तै गतिविधिका कारण फेरि असक्षम हुने सम्भावना बढेर गएको छ । उनी भाग्यले सत्तामा पुग्छन् र विवादास्पद कदम चालेर असक्षम सावित भएर सत्ताबाट निस्कन वाध्य हुन्छन् । 

बालकोट संवाद

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सेतुको काम गरिरहेका छन् । देउवाको सन्देश लिएर कार्कीले पटक पटक ओलीलाई भेटेका छन् । प्रदेश नं १ कै भएकाले पनि ओलीसँग कार्कीको निकटता छ । राष्ट्रपति विद्यादेवी भण्डारीका नातेदार समेत रहेका कार्कीको एमालेवृत्तमा राम्रो सम्बन्ध छ । त्यसैले देउवाले उनलाई विश्वास गरेर सन्देश पठाउने गरेका छन् । 

उनले मङ्गलबारको भेटमा पनि महत्वपूर्ण सन्देश ओलीलाई सुनाए । यो भेटले राजनीतिवृत्तमा तरंग ल्याएको छ । भेटमा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे चासो राखे । अध्यादेश निष्कृय बनाएपनि ओलीले असन्तुष्टि पोखेका थिए । उनले देउवामार्फत् पठाएको सन्देश उल्लेख गर्दै भनिएको छ, अध्यादेश बिल्कुलै असंवैधानिक, षड्यन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ । 

ओलीले संसदको मानमर्दन गर्दै अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुषित मनसायबाट अभिप्रेरित रहेको बताएका छन् । ओलीले अध्यादेश ल्याउनु र फेरि निष्कृय पार्नका लागि खारेजीको सूचना जारी गर्ने कदमप्रति असन्तुष्टि पोखेका थिए । यसअघिको भेटमा एमसीसी पारित गर्ने विषयमा कार्कीले ओलीसँग सन्देश बोकेर गएका थिए । एमसीसीबारे एमाले अनिर्णित छ । एमालेको साथ पाएमा एमसीसी पारित हुनेमा देउवा ढु्क्क छन् । पछिल्लो समय राजनीतिक लेनदेनका लागि महत्वपूर्ण प्रयासहरु भइरहेका छन् । देउवा र ओलीबीच भद्र सहमति गरेर देशलाई अर्ली इलेक्शनमा लानेबारे समेत प्रयास बढाइएको चर्चा छ । ओलीसँग कार्कीको भेटहरुलाई यसकारण अर्थपूर्ण मानिएको छ । 

सम्बन्धित समाचार