भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिकाले आयोजना गरेको प्रथम बाग्मती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा ‘ताथली धिमे खल’ विजेता बनेको छ ।
नगरकोट महोत्सव–२०८२ लाई लक्षित गर्दै चाँगुनारायण–९ ताथली फाँटमा सम्पन्न प्रतियोगितामा वडा नम्बर ९ सौडोलमा रहेको ताथली धिमे खलले नगद ५० हजार रुपैयाँसहित शिल्ड, एक थान धिमे बाजा, दुई थान भुछ्या र शिछ्या प्राप्त गरेको हो । प्रतियोगितामा दोस्रो हुने ताथलीको तैकाभु गणेश सांस्कृतिक समूहले नगद २५ हजार रुपैयाँसहित शिल्ड, एक थान धिमे बाजा, भुछ्या र शिछ्या एक/एक थान पुरस्कारका रूपमा प्राप्त गरेको छ । भक्तपुर नगरपालिकाको नियो भिजन बाजा समूहले तेस्रो हुँदै नगद १० हजार रुपैयाँसहित शिल्ड, एक थान धिमे बाजा, एक थान भुछ्या प्राप्त गरेको आयोजकले जनाएको छ ।
प्रतियाेगितामा काभ्रेपलाञ्चोक बनेपाको ‘देउला बाँसुरी चाैथाे, बनेपाकै वान्ख्यो दाफा भजन खल पाँचाैं, पनौतीको लायकु धिमे खल छैटाैं, मध्यपुरथिमिको शिवा सायमी खल साताैं, ललितपुर लुभुको तलेजु बाजा खल आठाैं, काठमाण्डाैको बालकुमारी धिमे खल नवाैं र ताथली सौडोलको सौडोल सांस्कृतिक बाजा खल दशाैं भएका छन् ।
प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले विजयी समूहलाई आज पुरस्कार प्रदान गर्नुभएको हाे । उहाँले नगरपालिकाले २०८२ साल वैशाखदेखि सञ्चालन हुने ‘नगरकोट भ्रमण वर्ष’ सफल पार्न यो प्रतियोगिताले महत्त्वपूर्ण सन्देश प्रवाह गरेको बताउनुभयो ।
चाँगुनारायणका मेयर एवम् कार्यक्रमका सभापति जीवन खत्रीले पालिकाले पहिलो पटक यस किसिमको प्रतियोगितामार्फत ऐतिहासिक कार्य सम्पन्न गरेका बताउनुभयो । प्रतियोगितामा बाग्मती प्रदेशभित्रका भक्तपुर, काठमाण्डाै, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका विभिन्न पालिकाका ५५ वटा समूहको सहभागिता रहेको थियो ।