काठमाडौं । फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा लियोनल मेस्सीको युग सुरु भएको छ । आइतबार राति डेब्यू खेलमा मेसीले गोल त गरेनन् । तर, समर्थको अपार माया पाए ।
रेइम्सविरुद्ध मेसी ६६औं मिनेटमा नेइमारको स्थानमा मैदान छिरेका थिए । नेइमार र मेसीले बार्सिलोनामा पनि सँगै खेलिसकेका थिए । बार्सिलोनाको ९९ हजार दर्शक क्षमताको क्याम्प नोउमा मेस्सीले थुप्रै सफलता हासिल गरेका छन् । कीर्तिमानी ६ पटकका बालोन डी’अर अवार्ड विजेता र चार पटकको च्याम्पियन्स लिग विजेता मेस्सीले २० हजार दर्शक क्षमता भएको स्टेड औगुष्ट डेलाउन रंगशालामा पीएसजीबाट डेब्यू गरेका हुन् ।
उनी मैदान छिर्दा रेइम्सका घरेलु समर्थकले समेत ‘मेस्सी.., मेस्सी..’ भन्दै हुटिङ गरेका थिए । खेल सकिएपछि रेइम्सका गोलकिपर प्रेड्राग राजकोभिकले आफ्नो बच्चासँग मेस्सीको फोटो खिचाए । दुबै टोलीका समर्थक मेस्सीको आगमनमा खुसी देखिन्थे ।
‘‘उनलाई हाम्रो समर्थकले त न्यानो स्वागत गर्थे नै । तर, यहाँ त रेइम्सका समर्थकले नि उनलाई स्वागत गरे,’’ पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले भने, ‘‘यसबाट मेस्सी पनि धेरै खुसी छन् । उनको उपस्थितिमा सबै उत्साहित छन् ।’’
खेलअघि पनि सयौं समर्थक मेस्सीको फोटो लिनका लागि टोलीका बस आउने बाटोमा कुरेर बसेका थिए । मेस्सीले बार्सिलोनाका ६७२ गोल गरिसकेका छन् । उनले क्याटलान क्लबबाट ३५ उपाधि जितेका छन् । साथै नेइमारसँग २०१५ मा च्याम्पियन्स लिगको उपाधि पनि जितेका थिए । जुन मेस्सीले जितेको पछिल्लो युरोपियन उपाधि हो । ३४ वर्षे मेस्सीले सिजन सुरु हुनुअघि अर्जेन्टिनाबाट पनि कोपा अमेरिकाको उपाधि जितेका थिए ।
गएराति मेस्सी मैदान छिर्दा पीएसजीले २–० को अग्रता लिइसकेको थियो । एन्जेल डी मारियको पासमा काइलियन एमबाप्पेले १६औं मिनेटमा गरेको गोलबाट पीएसजीले अग्रता लिएको हो । ६३औं मिनेटमा एमबाप्पेले आच्रफ हाकिमीको पासमा पीएसजीको अग्रता दोब्बर बनाए ।
एमबाप्पे स्पेनिस ला लिगाको क्लब रियाल मड्रिड जाने चर्चा छ । तर, पीएसजीका प्रशिक्षक पोचेट्टिनोले एमबाप्पेको भविष्यबारे केही बोलेनन् । जारी सिजन सतप्रतिशत नतिजा निकाल्न सफल पीएसजी १२ अंकका साथ शीर्ष स्थानमा छ । रेइम्स १७औं स्थानमा छ ।
गएराति सम्पन्न अन्य खेलमा साविक विजेता लिलेले मोन्टपेलियरलाई २–१ ले हरायो । मोनाकोले ट्रोयसलाई पनि २–१ कै नतिजामा पराजित गर्यो ।