दोस्रो पुस्तालाई नेतृत्त्व हस्तान्तरण गर्न तयार छु : माधव नेपाल

15k Shares

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् ।

पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरू पार्टीमा आए नेतृत्त्व छोड्न तयार रहेको घोषणा समेत उनले गरे ।

आफ्नो पार्टीनिकट पेसागत महासंघ, नेपाल वाग्मती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटक–पटक दोहोर्‍याए ।

“आउनुहोस्, दोस्रो पुस्तालाई नेतृत्त्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भइहाल्छु । अनि, केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन यो,” उनले भने, “विचारको लडाइँ हो यो । सिद्धान्तको लडाइँ हो यो । मूल्य र मान्यताको लडाइँ हो यो ।”

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी गठन गर्नुपरेको उनले तर्क गरे । आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

“खाली कुप्रचारबाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्,” उनले भने, “उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरू इमानदार, क्रान्तिकारी कम्युनिस्ट हुन सक्छन् ?”

अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताए । सो अभियानमा पदलोलुप नभई काम गर्न उनले पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

सम्बन्धित समाचार