श्रीलंकाविरुद्ध नेपाल यु १९ ले टस जित्यो

10.9k Shares

काठमाडौं – मलेसियामा जारी यु १९ महिला एसिया कपमा श्रीलंकाविरुद्ध नेपालले टस जितेको छ ।

मलेसियाको किन्नारा ओभलमा नेपालकी कप्तान पुजा महतोले टस जितेर बलिङ रोजेकी हुन् । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् ।

भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाबिहीन भएको थियो । श्रीलंका भने बंगलादेशसँग पराजित हुँदा मलेसियालाई हराएको थियो । पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर ४ मा स्थान बनाएको हो ।

सुपर ४ को अर्को खेलमा शुक्रवार बंगलादेशको सामना गर्दैछ । सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् । सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधीका लागि खेल्नेछन् ।

फाइनल खेल आगामी आइतवार रहेको छ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।

यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ ।

नेपालकाे प्लेइङ-११

सोनी पाख्रिन, साना प्रविन, सावित्रा धामी, रिया शर्मा, अलिशा कुमारी यादव, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत।

सम्बन्धित समाचार