काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारी र अपराधीलाई जोगाउनका लागि बनेको गम्भीर आरोप लगाएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मंगलबार प्रतिनिधिसभाको बैठकमा वर्तमान सरकारको गठन प्रक्रिया र कामकारबाहीप्रति विरोध जनाउँदै यस्तो बताएका हुन् । माफियाहरूले बनाइदिएको सरकार भएको बताउँदै उनले यस सरकारले भ्रष्टाचारी र अपराधीलाई जोगाउने काम मात्रै गर्ने दाबी गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणलाई सामसुम पार्न र अरू अपराधीलाई जोगाउनका लागि अहिलेको सरकारले जे गरिरहेको छ, त्यो खतरानक रहेको उनले टिप्पणी गरे ।
नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूलाई आग्रह गर्दै प्रचण्डले भने, ‘दुवै दलका नेतालाई मेरो यही रोस्ट्रमबाट अनुरोध छ, नक्कली भुटानी शरणार्थी प्रकरण तपाईंहरूले एक अर्कालाई जोगाउन मिल्ने विल्कुलै सामान्य अपराध होइन, यसले अन्तर्राष्ट्रिय जगत्मै नेपालको कानुनी, नैतिक र राजनीतिक अनि सामाजिक प्रतिष्ठा नै धुलोपिठो पारेको छ, यस्तो निर्लज्ज र निकृष्ट घट्नाको अनुसन्धान गरिरहेका क्षमतावान् र साहसी प्रहरी अधिकृतहरूलाई पुरस्कार होइन उल्टो सरुवा र छानबिन गरेर बाँकी विश्वलाई तपाईंहरू के सन्देश दिँदै हुनुहुन्छ ? अन्तर्राष्ट्रिय समूदायको यति प्रत्यक्ष चासो र निगरानी रहेको विषयमा यस तहको क्रियाकलापले देशको प्रतिष्ठा कहाँ पुग्छ ?’
हालै सम्पन्न माओवादी केन्द्र पार्टीको बैठकले कांग्रेस र एमाले गठबन्धन सरकारले संविधान संशोधन गरेर मुलुकलाई २०४७ सालतिर फर्काउन खोजेको निष्कर्ष निकालेको थियो । संविधान संशोधन तयारी नै नगरेको सरकार र सत्तारूढ दलका नेताले मनलाग्दी बोलिरहेको बताउँदै उनले पहिला तयारी गर्नुपर्ने सुझाव दिए । आजको राजधानी दैनिकबाट