काठमाडौं । निजामती सेवामा प्रवेश गर्न चाहनेमा सबैभन्दा बढी किसानका छोराछोरीहरू रहेको पाइएको छ। यसै गरी निजामतीमा प्रवेश गरिसकेकामध्ये पनि धेरैजसो किसानकै छोराछोरीहरू रहेको विभिन्न अध्ययन र लोकसेवा आयोगको प्रतिवेदनले समेत औंल्याएको छ।
लोकसेवा आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा आयोगद्वारा सञ्चालित विभिन्न परीक्षामा दरखास्त दिएका कुल ४ लाख ७८ हजार ३ सय ५५ मध्ये ३ लाख ८० हजार ९ सय ७८ जनाको अभिभावक कृषि पेसामा संलग्न रहेका थिए। जुन कुल दरखास्त दिनेको ७९.६४ प्रतिशत हो । दरखास्त दिएका उनीहरूले आफ्नो अभिभावकको पेसामा कृषि उल्लेख गरेको लोकसेवा आयोगले जनाएको छ।
यसरी कृषि पेसा अपनाउने अभिभावकका दरखास्त दिने छोराछोरीहरूमध्ये छोराहरू २ लाख ७ हजार ४ सय ७९ रहेका छन् भने छोरीहरू १ लाख ७३ हजार ४ सय ९९ रहेका छन्। यसै गरी सरकारी सेवामा रहेका अभिभावकका दरखास्त दिने छोराछोरीको संख्या दोस्रो नम्बरमा छ। दरखास्त दिएका ५० हजार ८ सय ९५ जनाले आफ्नो अभिभावकको पेसामा सरकारी सेवा उल्लेख गरेका छन्। जसमा छोराहरू २३ हजार ७ सय ९८ र छोरीहरू २७ हजार ९७ जना रहेका छन् । अभिभावक सरकारी सेवामा रहेको उल्लेख गर्दै दरखास्त दिनेमध्येमा १०.६४ प्रतिशत रहेका छन् ।
यसै गरी अभिभावक व्यापार व्यवसायमा संलग्न रहेको उल्लेख गरेर दरखास्त दिनेहरूको संख्या २४ हजार ५ सय ३६ रहेको छ। जसमा छोराहरू १० हजार २ सय ७ र छोरीहरू १४ हजार ३ सय २९ रहेका छन्। जुन कुल दरखास्तको ५.१३ प्रतिशत हो। यसै गरी अभिभावको पेसा श्रमिक उल्लेख गरेका दरखास्त दिनेहरूको संख्या ८ हजार ८ सय ४२ तथा निजी व्यवसायमा संलग्न भनेर उल्लेख गर्नेको संख्या १ हजार ३ सय २८ रहेको लोकसेवा आयोगले जनाएको छ। आयोगका अनुसार ११ हजार ७ सय ७६ जनाको अभिभावकका पेसा भने स्पष्ट खुल्न सकेको छैन । जसका कारण उनीहरूका अभिभावकको पेसामा आयोगले अन्य उल्लेख गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट