काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र गुटैगुट रहेको नेताहरूको असन्तुष्टिले पुष्टि भइरहेको छ । विभिन्न गुट सक्रिय रहेको एमालेमा ‘१० भाइ’को नामले चिनिने एक समूहको झन बिजोग अवस्था रहेको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नहुने चेतावनी नै दिनुपर्ने अवस्था आएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा ओलीले गुटबन्दी स्वीकार्य नभएको बताए । पछिल्लो समय एमालेभित्र भएको जिम्मेवारी हेरफेर विषयलाई लिएर नेताहरूले असन्तुष्टि व्यक्त गर्न थालेपछि ओलीले यस्तो चेतावनी दिन बाध्य भएका हुन् ।
ओलीले एमालेमा लामो समय गुटबन्दी भएकाले विभाजन भएको बताउँदै भने, ‘डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन्, पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो, हाम्रो पार्टीमा पनि लामो समय गुटबन्दी थियो, त्यही कारण विभाजन पनि भयो, अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य छैन ।’
उनले आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि नदिने दाबी गरे । तर, हालै भएको जिम्मेवारी हेरफेरमा उनले आफूनिकटका नेताहरूलाई राम्रो र बढी जिम्मवारी दिएका छन् । अरू समूहका नेताहरूलाई पाखा लगाउने काम भएको एमालेका एक पदाधिकारीले बताए । आजको राजधानी दैनिकबाट