मृगौला बचाउ अभियानमा लागौं, मृगौला रोग मुक्त नेपाल बनाऔं

22.2k Shares

सरकारले मृगौला रोगीको उपचारका भनी छुट्याईको रकमको १० प्रतिशत मात्र मृगौला बचाउ अभियानमा खर्चने हो भने नेपालमा मृगौला रोगीको संख्या घटाउन सकिन्छ । मृगौला रोगीको संख्या १ जना घट्दा लाखौं रुपैयाँ बच्छ भने एक लाख जना मृगौला रोगी हुनबाट बचाउन सकियो भने अरबौं रुपैयाँ बचाउन सकिन्छ । ‘मृगौला रोग मुक्त नेपालको सपना’ बोकेका डा. ऋषिकुमार काफ्ले सकेसम्म रोग लाग्न नै नदिनु उत्तम उपाय भएको बताउनु हुन्छ । मृगौला पूर्णरुपमा बिग्रिसकेपछि मात्र लक्षण देखाउने हुनाले लक्षण नदेखाउँदै प्रत्येक व्यक्तिले वर्षको १ चोटी मृगौलाको परिक्षण गराउनुपर्ने बताउनुहुन्छ डा. काफ्ले । हाई प्रेसर, डायबेटिज भएका प्रत्येक व्यक्तिले ६—६ महिनामा मृगौला परिक्षण गरेको खण्डमा पनि मृगौला रोगबाट बच्न सकिन्छ । यदि रोग लागेको छ भने पनि उपचार गर्दा निको हुने अवस्थाको हुन्छ । मष्तिष्क मृत्यु भएको मान्छेको अंग दान गर्नमिल्छ । उसको अंग आठ जना मान्छेलाई आँखा, मुट, कलेजो, फोक्सो, दुईवटा मृगौला र प्यानक्र्याज दान गर्न मिल्छ । जब मष्तिष्क मृत्यु भएको छ भने त्यो मान्छे मर्छमर्छ, मर्ने पक्का भइसकेपछि त्यो मान्छेको मर्नु भन्दा अगाडि अंगहरु दुईवटा मृगौला र एउटा कलेजो झिक्नुभयो भने तीन जना व्यक्तिले पुर्नजिवन पाउँछन् । यो गर्न अब के चाहियो भने हामीले आजैदेखि यसबारे बोल्न थाल्यो भने हरेक मष्तिष्क अर्थात ब्रेन डेथ भएको अंग काम लाग्दो रहेछ, ती अंगहरु दान गर्न मिल्दो रहेछ भन्ने अभियान चलाउनुपर्ने डा. काफ्ले बताउनु हुन्छ । यसै पेरिफेरिमा रहेर डा. काफ्लेसँग खोजतलास साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतले गरेको संक्षिप्त कुराकानीः 

० कोरोना भाइरसको दोस्रो लहरले मृगौला रोगीलाई धेरै नै असर पारेको पाइयो, के कारणले यस्तो अवस्था आएको होला ?
कोरोनाले ती व्यक्तिलाई असर पार्छ जो व्यक्ति कमजोर छ । मृगौलामा रोग भई समस्या परेका व्यक्तिहरु कम्जोर हुने भए । कतिपय मृगौला बिग्रिएर डायलासिसमा बसिरहेका व्यक्ति भए भने कतिपय मृगौला प्रत्यारोपण गरेका व्यक्ति भए । प्रत्यारोपण गरेका व्यक्तिहरुले इमुनोसप्रेसी औषधी खाएर बस्ने भए, आफ्नो रोगसँग र बाहिरी रोगसँग लड्नसक्ने क्षमता घटाएका मान्छे भए मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु । मृगौला रोगीहरु आफैमा रोग भएका कारण कम्जोर भए । त्यसैले कोरोनाको यो दोस्रो लहरले धेरै मृगौला रोगीहरुलाई असर पा¥यो । त्यसक्रममा पहिलो लहरमा ज्वरो आयो, सास फेर्न गाह्रो भो, अप्ठ्यारो भो पत्ता पनि लाग्यो । तर, यो पटक अर्थात् दोस्रो लहरको कोरोना भाइरसको संक्रमण पत्तै लागेन । एक्कासी मान्छेको मृत्यु भयो । कयौं मृगौला रोगीहरुलाई यो पटक डायलासिस पनि बढी गर्नुप¥यो । हामीले नभ्याएर सुमेरु अस्पतालमा डायलासिस गराइरहेकाहरुलाई पाटन, टिचिङ, विरमा पनि डायलासिस गर्न पुगे विरामीहरु । मृगौला प्रत्यारोपण नगरेका डायलासिस गराइरहेका विरामीहरु । त्यसैले यो कोरोना भाइरसको दोस्रो लहरले प्रत्यक्ष रुपमा असर पा¥यो । 
० मृगौला बचाउ अभियान उद्देश्य र यो संस्था संचालनमा सरकार अन्य बाह्य संघसंस्थाहरुले कत्तिको सहयोग गरिरहेका छन् ?
मृगौला बचाउ अभियान संस्था कसैको सहयोगबाट चलेको होइन, यो संस्था विशुद्ध नेपालीहरुको संस्था हो । यो संस्थालाई एक व्यक्तिले दिनको एक रुपैयाँका दरले वर्षको ३ सय ६५ रुपैयाँ दान गर्ने । देख्दा के देखिन्छ भने ३ सय ६५ रुपैयाँले के काम गर्न सकिन्छ र ? तर एक लाख व्यक्तिले ३ सय ६५ रुपैयाँ दियो भने तीन करोड भन्दा बढी पैसा आयो नि त । दिने मान्छेले त ३ सय ६५ रुपैयाँमात्र दिएको हो नि ! त्यसैले हामीले थोपा थोपाबाट समुन्द्र बनेको भन्छौं नि त्यस्तै हिसावमा हामीले गर्न सक्यौं र जनमानसमा यो संस्थाले काम गर्दो रहेछ, यो संस्थाबाट फाइदा हुँदो रहेछ, नेपाली जनतालाई मृगौला रोग लाग्नबाट बचाउने रहेछ र ज्ञानबद्धक रहेछ भन्ने विश्वास दिलाउन सक्यौं र थाहा दिन सक्यौं भने एकदमै राम्रो हुन्छ । तर नेपाल सरकारले एक अर्बभन्दा बढी खर्च डायलासिसमा गरिरहेको छ । त्यसको १० प्रतिशतमात्रै यो रोगको रोकथाममा खर्च गर्नुप¥यो । सरकारले यो रोगको रोकथाममा १० प्रतिशत मात्र छुट्याइदियोस्, यो भयो भने हामीले सातै प्रदेशमा भएका विभिन्न संचारमाध्यमहरु एफएम, टीभी, पत्रपत्रिका विभिन्न सामाजिक सञ्जालबाट मृगौला कसरी जोगाउने, मृगौला रोग कस्ता व्यक्तिलाई लाग्छ भन्ने कुराको जानकारी गराउँछौं । प्रेसर, डायभेटिज छ तर मृगौला जाँच गराएकै छैनौं अनि मृगौला विग्रिसकेपछि हामीलाई थाहै छैन, मृगौला बिग्रिसकेपछि जाँचपड्ताल गरेर के फाइदा ? हामीले यस्तो उदाहरण दिएर जनमानसमा जान सक्छौं । नेपाली जनतालाई स्वस्थ राख्न र यसको उद्देश्य के हो भने मृगौला रोग पहिला नै पत्ता लगाउने । हामीले सोचौं न टोल—टोलमा, गाउँ—गाउँमा मृगौला परिक्षण भयो, पिसाव जाँच गरियो, पिसाव जाँच गर्दा पिसावमा खरावी देखा प¥यो भने त्यस्ता व्यक्तिको जाँचपड्ताल गरेर रोग भए रोग निको पारिहाल्ने, रोग नभए उनीहरुलाई स्वस्थ भएको भनेर छाडिदिने । यसरी सुरुका अवस्थामा विरामी भएका व्यक्तिलाई हामीले तानेर उपचार गराउने भयौं, एउटा व्यक्तिको मृगौला बिग्रनबाट जोगाउन सक्यौं भने लाखौं रुपैयाँ जोगिन्छ । सय जनाको जोगाउन सक्यौं भने करोडौं रुपैयाँ जोगिन्छ, हजार जनाको जोगाउन सक्यौं भने अरवौं रुपैयाँ जोगाउन सक्छौं । यदि हामीले सबैतिर जस्तो हामीले काठमाडौं महानगरपालिका र मृगौला बचाउ अभियान मिलेर स्वस्थ मृगौला, स्वस्थ काठमाडौं भनेर कार्यक्रम संचालन गरेका छौं । त्यो कार्यक्रम काठमाडौंको ३२ सै वडाको ३५ वटा सहरी क्लीनिकमा यो सुविधा छ । यदि यो सुविधा सबै जनताले लिने हो भने भोलि काठमाडौं बासीले मृगौला रोगको बारेमा जानकारी लिन्छौं र उपचार पछि ठिक पाछौं, हामीले त्यसै मृगौला बिग्रन कहाँ दिन्छौं र ? यदि यही कुरा काठमाडौंमा मात्रै होइन ललितपुर, भक्तपुरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुमा हामीले यो कार्यक्रम संचालन ग¥यौं भने मृगौला रोगको रोकथाम गर्छौं । रोग रोकथाम ग¥यो भने मृगौला रोगीको संख्या आज घट्दैन तर, दुई—चार वर्ष पछि मृगौला रोगीको संख्या घट्न थाल्छ । हाम्रो उद्देश्य भनेको नेपाली जनतालाई मृगौला स्वस्थ बनाउने हो, हामी कसैसँग हात थाप्दैनौं, चाहन्छन् भने सदस्यता बन्छन् । 
० मृगौला बचाउ अभियान काठमाडौंलगायत अन्य कुन—कुन ठाउँमा संचालन गर्ने तयारीमा छ ?
हामीले काठमाडौं महानगरपालिकाबाट यो अभियान चलाएपछि धेरै ठाउँहरुबाट चासो देखाएका छन् । नगरपालिका, गाउँपालिकाहरुले चासो देखाएका छन् । कोरोना भाइरसको महामारीका कारण देश नै लकडाउन भएको कारणले पनि यो अभियानमा केही सुस्तता छाएको र धेरै मानिसमा अन्यौलता छाएको हो । अहिले हामीले के सोच गरेका छौं भने काठमाडौं महानगरपालिकाको सहरी क्लीनिकमा आई चेकजाँच गर्नुस् भनिरहेका छौं, अब हामी अन्यत्र गर्न के भन्दैछौं भने हरेक गाउँपालिका र नगरपालिकाका वडाहरुमा स्वास्थ्य स्वयम् सेविका छन्, तिनीहरुलाई घर—घरमा पठाएर पिसाव चेकजाँच गरेपछि मृगौलाको समस्या छ कि छैन भन्ने प्रष्ट हुन्छ । समस्या देखिएका व्यक्तिलाई चेकजाँच र उपचारका लागि उनीहरुले पहल गर्छन् भने स्वस्थ छन् भनी छाडिदिन्छन् । यसो गर्ने वित्तिकै स्वास्थ्य स्वयम् सेविकालाई एक व्यक्तिलाई टेष्ट गरेवापत १० रुपैयाँ दिउँ न । उनीहरु त्यसै पनि खटिरहेका हुन्छन् भने उनीहरुले पनि केही रकम पाउने भए जनताले पनि घरमा बसीबसी जाँचपड्ताल गर्न पाउने भए । यसो गरियो भने हामीले सोचौं त हरेक गाउँपालिका र नगरपालिकाका वासिन्दाहरुले घरमै बसी बसी पिसाव जाँच गरी आफ्नो मृगौलाको अवस्था कस्तो छ भन्ने जानकारी लिन सक्छन् । अझ भनौं हरेक नेपालीले वर्षका एकपटक सबैले पिसाव चेकजाँच गरे भने हामी मृगौलाका रोगी पत्ता लगाउँछौं र स्वस्थ मान्छे पत्ता लगाउँछौं । त्यसैले कुन नगरपालिका, कुन गाउँपालिकाले यो अभियानसँग सहकार्य गरेर यस्तो अभियान चलाउन चाहन्छ त्यसका लागि मृगौला बचाउ अभियान तयार छ । 
० मृगौला खराब कसरी हुन्छ ?
सामान्य हिसावमा भन्नुपर्दा मृगौला खराब हुनुको कारण भनेको हामी हुर्किने क्रममा प्रेसर ल्याउँछौं, ड्याबेटिज ल्याउँछौं, तौल बढाउँछौं, जथाभावी खानपिन गर्छौं, आफूमा के रोग लागेको छ डाक्टरको सल्लाह बेगर नै पेन किलर खान्छौं यसो गरेको खण्डमा मृगौला खराब हुने प्रबल सम्भावना हुन्छ । अझ सामान्य हिसावले भन्नुपर्दा सुगर, प्रेसर, तौल ठिक ठाउँमा नराख्नु र पानी नखानु खान नहुने कुरा चुरोट, खैनी, जाँड रक्सी खानु, अत्यधिक मासुको सेवन गर्नु, नुनको मात्रा धेरै लिनु, गुलियो पदार्थ धेरै खानु आदिका कारणले पनि खराब बनाउन सक्छ । जसको मृगौला जन्मदाँखेरि देखि नै कमजोर छ त्यस्तो व्यक्तिले रक्तचार ठिक नराख्नु, मधुमेह ठिक नराख्नु, तौल ठिक नराख्नु, पानी नखानु, खान नहुने कुरा चुरोट, खैनी, जाँड रक्सी खानु, अत्यधिक मासुको सेवन गर्नु, नुनको मात्रा धेरै लिनु, गुलियो पदार्थ धेरै खानेलाई चाँडै नै असर पारी मृगौला खराब पार्ने सम्भावना धेरै हुन्छ ।
० विशेष गरी कुन उमेर समूहमा मृगौला रोग बढी देखा पर्छ ?
नेपाली परिवेशमा भन्नुपर्दा ४० वर्ष नाघेपछि प्रेसर, सुगर, बढी तौल हुनु, विभिन्न औषधी सेवन गर्नाले त्यो औषधीको प्रभाव पर्छ र त्यस्ता व्यक्तिहरुमा बढी मृगौला रोग लाग्ने सम्भावना हुन्छ र बढी रोगी पनि ४० वर्षभन्दा माथिकै छन् । कम उमेरमा भने जोडिएको मृगौला, पत्थरीको कारण, संक्रमणको कारणले, नेफ्राइटिसको कारणले मृगौला रोगीहरु देखा पछनर्् ।  
० महिला र पुरुष मध्ये कसलाई बढी मृगौला रोग देखापर्छ ?
महिला र पुरुषमा यो मृगौला रोग खासै फरक छैन, उस्तै उस्तै छ । तर उपचार कसले पाउँछ भने लोग्ने मानिसले बढी पाउँछन् । हाम्रो समाज पुरुष प्रधान समाज छ । पुरुष प्रधान समाजमा पुरुषले प्राथमिकता पाउँछ महिलाले कम प्राथमिकता पाउँछन् । त्यही कारणले मात्र महिलाहरु उपचारमा पछि परेका छन् । वास्तवमा भन्नुपर्दा महिलाहरु बढी पुरुषलाई माया गर्छन् । त्यसैले मृगौला दान गर्ने व्यक्तिमा हेर्ने हो भने महिलाहरु नै बढी छन् । यदि पुरुषलाई अंग चाहियो भने अंग दिने महिला नै हुन् । यसमा पुरुषहरु डराउँछन् । दिन्छन् पुरुषहरुले पनि तर महिलाको दाँजोमा धेरै नै कम छन् । यस्तो कार्यमा महिलाले पुरुषलाई उछिनेका छन् । 
० मृगौला कस्तो अवस्थामा पुगेपछि डायलासिस वा प्रत्यारोपण नै गर्नुपर्छ ?
मृगौला पूर्ण रुपमा बिग्रियो, दुईटा मृगौला छ भने दुईटा र एउटा छ भने एउटा पूर्ण रुपमा बिग्रियो अब त्यो मान्छे बाँच्न सक्दैन अर्थात् त्यो मान्छेको न पिसाव बन्छ,  पिसाव बने पनि त्यो विपावबाट फोहोर जाँदैन, त्यो मान्छेलाई खाना रुच्दैन, सुत्न सक्दैन, सामान्य निरोगी व्यक्तिले अप्नाउने जीवनशैली अप्नाउन सक्दैन । दुई पाइला हिँड्ना साथ स्वाँस्वाँ हुन्छ, खाना खोज्छ वान्ता हुन्छ, वाक वाक लाग्छ, सुत्न खोज्छ निन्द्रा नलागेर छटपटी हुन्छ, जीवनयापन गर्नै सक्तैन । यो अवस्था भनेको मृगौलाले काम नगरेर शरीरमा फोहोर पदार्थ बढ्दा—बढ्दा यति धेरै बढ्यो कि उसको जीवन चल्दैन । त्यो स्थितिमा पुगेपछि अर्थात मृगौलाले काम गर्ने क्षमता ५ प्रतिशतभन्दा तल भएपछि डायलासिस वा प्रत्यारोपण हो । डायलासिस गर्दा मृगौला विरामीको शरीरबाट फोहोर निकाल्ने हुन्छ । चाहे त्यो विरामीको पेटमा दुई लिटर पानी हालेर डायलासिस गर्नुस्, वा उसको शरीरको रगत झिकेर मेशिनबाट शुद्धिकरण गर्नुस् । जे गरे पनि रगतको शुद्धिकरण नभईकन त्यो मान्छे बाँच्दै बाँच्दैन । उपचार भएन भने त्यो मान्छे मर्छ । अब डायलासिस राम्रो कि प्रत्यारोपण राम्रो, प्रत्यारोपण भनेको चाहिँ मृगौलाले जे काम गर्नुपर्ने हो त्यो काम गर्न सकेन नि त्यही काम गर्ने मृगौला हालिदिने हो । त्यो मृगौला हालेपछि त्यो मान्छे पूर्णतया स्वस्थ भयो । एउटै कुरा के हो भने उसको शरीरमा अर्काको शरीरको मृगौला हालेको छ त्यसलाई काम गराउनका लागि उसले नियमित औषधी खानुपर्छ । त्यही हो फरक । उसले औषधी सेवन बाहेक उसले सामान्य मानिसले जस्तो सबै काम गर्न सक्छ । तर मृगौला हालेको व्यक्तिले इन्फेक्सनबाट जोगिनुपर्छ । सामान्य इन्फेक्सनले पनि उसको ज्यान जान सक्छ । आज औषधी खान्न भनेर औषधी नखाए पनि उसको मृगौला बिग्रन सक्छ । यी दुईटा कुरा चाहिँ मृगौला फेरेका व्यक्तिको लागि जोखिम हो । यी बाहेक मृगौला प्रत्यारोपण राम्रो हो । तर, नेपालमा मृगौला प्रत्यारोपण गर्दा आफ्नो मान्छे चाहियो । त्यो पनि मान्छे भए पनि ६० वर्ष उमेर ननाघेको, किन भने ६० वर्षपछि मृगौला कम्जोर हुन्छ । दुईवटा मृगौला नभएका व्यक्तिको भएन, रगतको नातेदार नभए हुँदैन । यी सबै मिलेको खण्डमा मात्र मृगौला दान गर्ने व्यक्तिले दान गर्न पाउँछ । 
० सुमेरु अस्पतालले मृगौला प्रत्यारोपण सुरु गरेको थियो, कोरोना भाइरस महामारीका कारण रोकियो, अब कहिलेबाट सुरु हुन्छ ?
हामीले सुरुमा पाँचवटा मृगौला प्रत्यारोपण ग¥यौं । कोरोना भाइरसको पहिलो महामारी आयो, फेरि एक जनाको ग¥यौं र अर्को गर्ने तयारीमा थियौं महामारीको दोस्रो लहर आयो । दोस्रो लहर पहिले छैठौं चाहिँ भयो सातौं तयारी अवस्थामा गर्न पाएका छैनौं । ० विदेशमा जस्तै नेपालमा पनि ब्रेन डेथ भएकाहरुको अंग दान गर्ने व्यवस्था छ कि छैन ?
हो, नेपालमा पनि विदेशमा जस्तै देशव्यापी रुपमा मष्तिष्क मृत्यु भएकाहरुको अंग दान गर्ने व्यवस्था सिर्जना गर्न ढिला भइसक्यो । यो नेपालमा सम्भव पनि छ । यस्तो व्यवस्था गर्न जनतालाई राम्रोसँग जानकारी गराउन जरुरी छ । के हो मष्तिष्क मृत्यु, के भनेको यो । विरामी बेडमा सुतिरहेको छ, उसको मुटु चलिरहेको छ, फोक्सोले काम गरिरहेको छ, मृगौलाले काम गरिरहेको छ, लिभरले काम गरिरहेको सबै ठिक छ, तर मष्तिष्क ठिक छैन । मष्तिष्क म¥यो । यो अवस्थामा उसलाई कुर्नुभयो भने विरामीको अंगहरुले काम गर्न छाड्छ र उसलाई लगेर पोल्ने काम गरिन्छ । उसको मष्तिष्क मरेको छ तर अन्य अंग चलेको अवस्थामा ऊ त्यसै मर्ने उसै मर्ने भएपछि उसको चलेका अंगहरु मुटु, कलेजो, मृगौलालगायतका दान गर्न मिल्ने अंगहरु दान गर्दा अर्को मान्छेले जीवनदान पाउँछ । अब हामी त्यतातर्फ लाग्नु जरुरी भइसकेको छ । सुमेरु अस्पताल पनि अब त्यतातर्फ लाग्छ । किन भने यो अभियान चलाउन अत्यन्तै आवश्यक भइसकेको छ । 
० अन्तिममा केही भन्नु छ कि ?
हामी प्रगति भन्छौं नि, त्यो प्रगति भित्र गति छ, गति भनेको स्पीड, स्पीडमा के हुन्छ एसिडेन्छ हुन्छ, एसिडेन्ट बढेपछि के हुन्छ ? ब्रेन डेथ हुन्छ । ब्रेन डेथ भएका व्यक्तिहरुको मृगौला कलेजो झिकेर अर्को व्यक्तिलाई हामीले जोगाउन सक्छौं । तर, त्यसको लागि के चाहियो भने जनताले थाहा पाउनुप¥यो मष्तिष्क मृत्यु भनेको के ? मष्तिष्क मृत्यु भनेको यस्तो स्थिति हो भन्ने प्रष्ट बुझेपछि जनताले पनि बुझ्छन् । तर मष्तिष्क मृत्यु भएका व्यक्तिको अंग यो व्यक्तिलाई दिन्छु, त्यो व्यक्तिलाई दिन्छु भन्ने होइन, देशलाई दान दिने हो । त्यो दान दिएको सम्पत्ति कसको हो, सरकारको हो । सरकारले बनाएको नियम बमोजिम जसलाई मिल्छ त्यसलाई त्यो अंग जान्छ । मेरो दाई, छोरा, आमाको अंग कसकोमा गयो भन्ने खोज्दा पाइँदैन र जानकारी पनि लिन पाइँदैन । किन भने मेरो छोराको मृगौला तपाईंले लिएर बाँचिरहनु भएको छ भन्यो भने त्यो व्यक्तिलाई पीडा हुन्छ ।
 अंग दान गरिदिए भने त ठूलो बरदान सावित भयो नि त । नातेदारको होइन मष्तिष्क मृत्यु भएकाहरुको अंग लिने हो भने यो दिगो हुन्छ । संसारभरि यसैगरी प्रत्यारोपण गरिन्छ, तपाईंको मान्छे को छ मान्छे ल्याउनुस् भनेर प्रत्यारोपण गरिँदैन । संसारभरि मष्तिष्क मृत्यु हुनेहरुको पालो कुरेर बसेका हुन्छन् मानिसहरु । मष्तिष्क मृत्यु भएका व्यक्ति आईसीयुमा रहेको बखत त्यसको आँखा, फोक्सो, मुटु, कलेजो, मृगौलालगायतका अंगहरुले काम गरिरहेको हुन्छ । त्यतिखेर मष्तिष्क मृत्यु भएको व्यक्तिका परिवारले स्वीकृति दिएको खण्डमा ती अंग दान गर्न सकिन्छ । हामीले विश्वसनीय व्यवस्थापन गर्न सक्नुपर्छ । किनभने मष्तिष्क मृत्यु भएको व्यक्तिको परिवारलाई विश्वस्त पार्न सक्नुप¥यो । किन मान्छेले अंग दान गर्दैनन् ? यसै पनि लगेर जलाएर खरानी बनाउने हो भने त्यो अंगले कसैलाई जीवनदान मिल्छ भने किन दान गर्दैनन् ? त्यो खरानी हुने अंग मुटुले कसैको मुटु चल्छ, कसैको फोक्सो चल्छ, कसैको मृगौला चल्छ, कसैको कलेजो चलेर कुनै व्यक्तिले जीवन दान पाउछ । हामीले गर्नुपर्ने बेला आयो । एउटा त रोगको रोकथाम, रोगको रोकथाम सरकारले गर्ने होइन, डाक्टरले गर्ने होइन, अस्पतालले गर्ने होइन, प्रत्येक व्यक्ति आफैले गर्नुप¥यो । दोस्रो कुरा मष्तिष्क मृत्यु भयो भने अंग दान गर्न हामी तयार हुनुप¥यो । यसले हामीलाई के गर्छ भने भोलि जति व्यक्तिको मृगौला अरु अंगहरु चाहिएको छ भने अंग दानको सर्टेज हँुदैन । पूरै रुपमा सर्टेज हटाउन नसकिएला तर अधिकांश रुपमा धेरै सहज वातावरण बन्छ । यो नै एउटा विकास हो । विकासतिर लम्किने क्रममा सबैजना मिलेर जानुपर्ने अनुरोध गर्दछु ।

सम्बन्धित समाचार