काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अछामको पञ्चदेवल नगरपालिका–२ मा छाउगोठमा किशोरी बलात्कृत भएको विषयबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई रुलिङ गरेका छन् । आइतबारको राष्ट्रियसभा बैठकमा सांसदहरूले सो विषयमा उठाएका प्रश्नको जवाफ दिन गृहमन्त्री लामिछानेलाई रुलिङ गरेका हुन् ।
उनले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सधैँजसो मन्त्रीलाई पत्र पठाउने गरेको भएपनि चासो नदेखाएको बताए । अध्यक्ष दाहालले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन मन्त्रीहरूको कार्यतालिका नै बनाएको भएपनि प्रभावकारी कार्यान्वयन हनु नसकेको बताए ।
उनले भने, ‘आज अछामको छाउपडीको विषयमा जुन विषय उठेको छ, त्यसको बारेमा गृहमन्त्रीले आएर जवाफ दिन म ध्यानाकर्षण गराउँछु । सचिवालयलाई पत्र पठाउन म निर्देशन दिन्छु ।’आइतबारको बैठकमा सांसदहरूले छाउगोठमा बस्दा बलात्कृत हुनुपरेको घटनालाई उठाएका थिए ।