काठमाडौ - समाज कल्याण परिषद्ले काठमाडौँको भृकुटीमण्डपका घरजग्गा प्रयोग गरी भाडा नबुझाएका व्यक्ति र संस्थालाई फरार सूचीमा राखेको छ । भृकुटीमण्डप परिसरका ३१ सङ्घसंस्था र व्यक्तिले प्रयोग गरेका स्टल, भवन एवं मेला प्रदर्शनीको एक करोड ८७ लाख ७२ हजार ९८३ रुपियाँ भाडा नदिएर सम्पर्कविहीन भएकालाई फरार सूचीमा राखिएको हो ।
समाज कल्याण परिषद्का प्रशासन प्रमुख दुर्गाप्रसाद भट्टराईले राजनीतिक पहुँचका भरमा घरजग्गा प्रयोगबापतको भाडा नदिएर सम्पर्कविहीन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले २०५२ सालदेखि सम्पर्कविहीन भएकालाई ५४ पटक पत्राचार गर्यौँ । फोन गर्दा कसैको लाग्दैन । दिनुपर्ने रकम दिन आउँदैनन् । पुरानो ठेगानामा पत्राचार गर्दा पत्र नै फिर्ता आएर हामी हैरान छौँ ।”
भृकुटीमण्डप परिसरमा भाडामा लिएका विभिन्न ४२ सङ्घसंस्था र व्यक्तिले गत असारसम्ममा छ करोड ५३ लाख रुपियाँ बुझाउन बाँकी छ । तर त्यसमध्ये ३१ सङ्घसंस्था र व्यक्तिलाई फरारको सूचीमा राखिएको छ । गत फागुन ११ गते अटेर गर्नेहरूलाई भाडा तिर्न अन्तिम पटक परिपत्र गरेको र अब राज्यको सम्पत्ति नतिर्नेलाई नछोड्ने भट्टराईले प्रस्ट पार्नुभयो । “अब कानुनबमोजिम असुलीको प्रक्रियामा जान्छौँ,” उहाँले भन्नुभयो । उहाँले राजनीतिक पार्टी र सत्ताको पहुँचमा भाडामा लिएर रकम नदिएर सम्पर्कविहीन भएको बताउनुभयो । “राज्यको रकम नदिएर फरार भएकालाई पत्राचार गरेकोे २१ दिने म्याद सकिँदै छ । त्यसपछि ३५ दिने सूचना जारी गर्ने छौँ । त्यो बेलासम्म पनि रकम नबुझाए प्रशासन संयन्त्र लगाएर असुली गर्छौं,” उहाँले भन्नुभयो । आजको गोरखापत्र दैनिकबाट