काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरि सेवा विस्तार गर्न लागिएको बताएका छन्।मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले जलनको उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालको अलावा वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा विस्तार गर्न लागिएको जानकारी दिए।
उनले कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको बताए। उनले प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरुमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने व्यवस्था मिलाइने बताए। उनले भने, ‘कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रुपमा विस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको छ। बर्न अस्पताल विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालको अतिरिक्त वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरि सेवा विस्तार गरिँदै छ।’
उनले थपे, ‘प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरुमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने र कडा किसिमको लागि रेफरल गर्ने व्यवस्था मिलाइनेछ। स्वास्थ्यकर्मीहरुलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था सुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको छ।’