काठमाडौं । सरकारको कामकारबाहीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नयाँ गठबन्धन बनाइएको बताउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका विभिन्न मन्त्रालयमा सचिव व्यवस्थापन गर्दा विशेषज्ञता र अनुभवका आधारमा गर्ने गृहकार्य थाल्नुभएको छ।
विभिन्न मन्त्रालयको कार्यक्षेत्र, विशिष्टता र संवेदनशीलता हेरेर सोहीअनुसारको विज्ञता भएको व्यक्तिलाई सचिवमा नपठाउँदा सरकारको कामकारबाही प्रभावकारी हुन नसकेको र सरकार निष्प्रभावी बनेको विश्लेषण प्रधानमन्त्रीको छ।
सरकारको कामकारबाहीलाई थप गति दिन प्रधानमन्त्री प्रचण्डले हचुवाका आधारमा भन्दा पनि अनुभव, दक्षता र विज्ञताका आधारमा सचिवहरूको व्यवस्थापन मोडालिटी बनाउन मुख्य सचिव डा. वैकुण्ठ अर्याललाई निर्देशन दिनुभएको बताइएको छ।
सोहीअनुसार नै सरकारले सोमबार मात्रै गृहमन्त्रालयको सचिवमा गृहकै अनुभवी क्याडर तथा काविल प्रशासक एकनारायण अर्याललाई जिम्मेवारी दिएर पठाएको छ। गृह मन्त्रालय सबैभन्दा संवेदनशील मन्त्रालय हो।
मुलुकको शान्ति सुरक्षा सुदृढ बनाउने, अमनचयन कायम गर्ने, आमजनतालाई कानुनी शासनको प्रत्याभूति दिने ,सुशासन कायम गराउने, सरकारी सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा अन्य सरकारी कार्यालयलाई पनि सोहीअनुसार गति दिन आवश्यक पहल गर्नेलगायतको महत्वपूर्ण जिम्मेवारी गृह मन्त्रालयको हो। अन्य मन्त्रालयको जिम्मेवारीमा नपरेका सबै कार्य गृह मन्त्रालयको जिम्मेवारीमा रहने कानुनी प्रावधान छ।
नेपाल सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार गृह मन्त्रालयले गर्ने मुख्य कार्य ५१ वटा निर्धारण गरिएको छ। यसो त कार्यविभाजन नियमावलीले सबै मन्त्रालयको जिम्मेवारी र कर्तव्य निर्धारण गरेको छ।
तर, यसअघि सरकारले मन्त्रालयहरूको कार्यविभाजन नियमावली अनुसारका काम कर्तव्यलाई नजिकबाट बुझेको र जानेको व्यक्तिलाई भन्दा पनि भनसुन र निकटताका आधारमा सचिवहरूको हेरफेर गर्ने पद्धतिलाई निरन्तरता दिँदै आएकाले सरकारको कामकारबाहीले गति लिन सकेको थिएन। तर, यसपटक भने प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनेसँगै सरकारको कामलाई गति दिन सचिवहरूको व्यवस्थापनमा विशेष ध्यान दिन थाल्नुभएको हो। आजको समाचारपत्र दैनिकबाट