काठमाडौं । व्यापारिक घराना विशाल ग्रुपले बृहस्पति विद्यासदनको नामबाट ६० वर्षका लागि लिजमा हडपेको नेपाल बाल संगठनको नक्सालस्थित २८ रोपनी ५ आना जग्गा सरकारले फिर्ता लिने संकेत दिएपछि विद्यार्थीहरूको बिजोग हुने सम्भावना बढ्न थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भएपछि विभिन्न व्यक्ति वा संस्थाले हडपेको सरकारी जग्गा फिर्ता लिने संकेत दिएका हुन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मुलुकभरबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिइसकेका छन् ।
कुनै पनि व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारका नाममा ल्याउन पहल गर्ने बताएपछि बृहस्पति विद्यासदनका विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।
गृहमन्त्री लामिछानेले सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्ने, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउने भनेर पदबहालीकै दिन प्रतिबद्धता जनाएका थिए ।
नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू मातहतका निकायलाई निर्देशन दिएपछि चुप लागेर बसेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत बाल संगठनको जग्गाको विषयमा फाइल खोल्न थालेको बताइएको छ ।
उनले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।