काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले अहिलेसम्म टकरावको राजनीति नगरेको बताएका छन्।शनिवार काठमाडौंमा आयोजित कलेन्द्र सेजुवालद्वारा लिखित पुस्तक फल्स फ्रन्ट पेजको विमोचन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आजका दिनसम्म आफूले सामाजिक सञ्जालबाट आक्षेपको राजनीति नगरेको जिकिर गरे।उपप्रधानमन्त्री खड्काले नेताहरुको आफ्नै पत्रपत्रिका र सञ्चरमाध्यमहरू रहेको कुरा आएको भन्दै नेपालका सञ्चारमाध्यममा आफ्नो लगानी र आफ्नै सञ्चारमाध्यम नरहेको बताए।उनले आफू अझै नेता हुन बाँकी नै रहेको आभाष भएको बताए।
उपप्रधानमन्त्री खड्काले भने, ‘मेरो नेपालका कुनै मिडियामा एक पैसा लगानी छैन। सामाजिक सञ्जालमा भनेको जस्तो आक्षेपको राजनीति गर्ने, टकरावको राजनीति गर्न पुगेको छैन। त्यसैले मैले नेता हुन अझै बाँकी रहेछ भन्ने लाग्यो।’उनले संविधान निर्माणको अन्तिम चरणमा जाँदा प्रत्येक शीर्ष नेताहरूको बैठकमा ९९.९९ प्रतिशत सबै निर्णायक चरणमा सहभागी हुने कर्णालीको नागरिक आफू रहेको दाबीसमेत गरे।