रामेछाप– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको शान्तिपूर्ण शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन् ।
बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित सत्ताइसौं बेथान वीरता दिवस, शहिद स्तम्भ उद्घाटन तथा शहिद परिवार सम्मान कार्यक्रममा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने , ‘जनयुद्ध देशको मुक्ति र परिवर्तनका निम्ति महान् विद्रोह थियो। त्यतिबेला हामीसँग ठूलो शक्ति थिएन, तर महान् विचार थियो, ऐतिहासिक लक्ष्य थियो। त्यसका आधारमा नेपालको क्रान्तिले गुणात्मक उचाइ प्राप्त गर्यो। त्यसले नै देशमा महान् परिवर्तन सम्भव भएको हो।’
‘हामी अहिले पनि क्रान्तिमै छौं। क्रान्ति सकिएको छैन, तर क्रान्तिको स्वरूप फेरिएको छ।’ उनले भने, ‘हामी समाजवादको लक्ष्यमा छौं। त्यसका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेका छौं। यो क्रान्तिको शान्तिपूर्ण मोर्चा हो।’