सर्लाहीमा प्रहरीकै सेटिङमा तस्करी मौलाउँदै

18.9k Shares

मलंगवा  । सर्लाहीका केही नाकाहरूबाट केही दिन यता तस्करी धन्दा फेरि मौलाएको छ । नयाँ एसपीको आगमनसंगै केही कमि भएको तस्करी धन्दा केही दिन यता भने व्यापक रूपमा चलेको छ । जिल्ला  प्रहरी कार्यालयबाट परिचालित घुमुवा र सीमावर्ती क्षेत्रका केही थाना चौकीका प्रमुखलाई मिलाएर तस्करी धन्दा शुरू भएको हो  । तस्करीमा सशस्त्र प्रहरी बलको पनि सेटिङ र साथ रहेको छ । सर्लाहीको गोरखकाली, त्रिभुवननगर र भारसहबाट अहिले व्यापक तस्करी चलिरहेको छ ।

गोरखकाली, त्रिभुवननगर र भारसहबाट तस्करी गर्ने तस्करहरूले सीमावर्ती थाना चौकी मिलाएर ल्याएको तस्करी सामान महेन्द्र राजमार्ग पु¥याउने र गन्तव्यमा लैजाने कार्य गरिरहेका छन् । यसको लागि अस्थायी प्रहरी पोष्ट पेट्रोल पम्पका असई रामनिवास यादवलाई  सेटिङ मिलाएर गन्तव्यमा पठाउने गरेका छन् । असई यादवले तस्करी गर्ने तस्करहरूसँग लिने गरेको रकम, कुन दिन कसको महिना पुग्छ र लिनुपर्छ  भनी सबै संकलन गरेको डायरी समेत हाम्रो स्थानीय संवाददाताले प्राप्त गरेका छन् ।

उनको डायरीमा उल्लेख भए अनुसार कपडाको काम गर्ने रामबिश्वाससंग १५ हजार, चिनी व्यापारी बिनोदसंग १५ हजार, इलेक्ट्रोनिक व्यापारी पवनसंग १८ हजार, माछा व्यापारी मंगलसंग ८ हजार, कपडा व्यापारी कुमारीसंग ५ हजार, गुलामसंग ८ हजार, किरानाको काम गर्ने रिता बबिता, आशा, रेखासंग १० हजार, कपडा व्यापारी तारासंग ६ हजार, चिनी व्यापारी चन्द्रेश्वरसंग ७ हजार, किरानाको काम गर्ने रामबिरागीसंग ६ हजार, कपडा व्यापारी ललितासंग १० हजार, इलेक्ट्रोनिक काम गर्ने सन्जयसंग १० हजार, किरानाको काम गर्ने उपेन्द्र महत्तोसंग ८ हजार, चप्पल व्यापारी प्रिन्हाबाट ९ हजार र इलेक्ट्रोनिक काम गर्ने सुबोधसंग १० हजार उनको डायरीमा उल्लेख छ । यसबाहेक विजय साह, उमेश पट्टेल  राजकिशोर यादव, इन्दल यादव, प्रकाश यादव, विजय चौधरी, हसिम लगायतको नाम पनि उनको डायरीमा मिति सहित उल्लेख छ ।

धनुषा स्थित गणमा दरबन्दी भए पनि सेटिङ र सोर्सफोर्स लगाएर उनी मासिक लाखौं अतिरिक्त आम्दानी हुने  अस्थायी चौकी पेट्रोल पम्पमा जान सफल भएका छन् । जिल्ला, प्रदेश र हेडक्वाटरसम्म मेरो मान्छे र सेटिङ छ भन्दै उनले धाक र रवाफ देखाउंदै आएको प्रहरीहरू नै बताउँछन् । उनी सर्लाहीका राम्रो  र धेरै अतिरिक्त कमाई हुने धेरै थाना चौकी बसिसकेका छन् । बाराउद्दरण, भार्सर  जस्ता तस्करी चल्ने नाकामा बस्न उनी सफल भैसकेका छन् । उनले बरामद गरेको सामान पनि भन्सार नबुझाई  घर लैजाने गरेको र उक्त सामान आफ्नो घुमुवा सहायक हवल्दार राजकिशोर प्रसाद यादव मार्फत घर पठाउने गरेको पनि चौकीकै प्रहरी बताउँछन् । आफू जहाँ जान्छन् उनले राजकिशोरलाई त्यही लगेर घुमुवाको रूपमा परिचालन गर्दै आएका छन् । यसरी असई यादवको खुलेयाम असुली धन्दा उजागर भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुखले भने आंफुले छानबिन गरिरहेको बताए ।

सम्बन्धित समाचार