ओलीसँगको वार्तालगत्तै देउवा आन्तरिक छलफलमा

17.8k Shares

काठमाडौं, बैशाख २२ । प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेतासँगको छलफल लगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीभित्रको आन्तरिक छलफलमा जुटेका छन् ।
अहिले सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्णबहादुर खड्का, उपसभापति विमलेन्द्र निधि, नेता कृष्ण सिटौला र सहमहामन्त्री प्रकाश शरण महत आन्तरिक छलफलमा छन्।
बुधबार ओलीसहितका नेताहरुसँग देउवा निवास बुढानीलकण्ठमा डेड घण्टा छलफल भएको थियो । सो छलफलमा विश्वासको मतको पक्षमा सहयोग गर्न ओलीले गरेको आग्रहलाई देउवाले अस्वीकार गरेका थिए । 'हामी तपाईँलाई सहयोग गर्न सक्तैनौं', ओलीलाई देउवाले दिएको जवाफ उधृत गर्दै सहमहामन्त्री प्रकाशशरण महतले भने, 'तपाईँले संविधानलाई नै धरापमा पार्ने काम गर्नुभएको छ। विश्वासको मत दिने कुनै अवस्था र सम्भावना छैन ।’
कांग्रेस सभापतिसहित पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले लामै कुरा राखेका थिए । सबै नेताहरुले लामै कुरा गरेपनि कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन नसक्ने प्रष्ट पारेको थियो । सो छलफल लगत्तै प्रधानमन्त्री सहितका नेताहरु फर्किएका थिए । एमाले नेता फर्किएपछि देउवाले आफ्नै पार्टीभित्र छुट्टै परामर्श गरिरहेका हुन् ।

सम्बन्धित समाचार