काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा दुई सातासम्म निषेधाज्ञा लगाउने निर्णय गरेसँग उपत्यका छाड्ने यात्रुको संख्या बढेको छ ।
गोङ्गबुस्थित नयाँ बसपार्कमा आज (मंगलबार) बिहानैदेखि घर जाने यात्रुको भीड लागेको छ। काठमाडौं प्रवेश गर्ने मुख्य नाका थानकोट हुँदै हिजोदेखि नै हजारौँ सवारी साधनमा यात्रुहरु बाहिरिइरहेका छन्। थानकोट बाहेक काठमाडौं प्रवेश गर्ने अन्य नाकाहरुमासमेत उपत्यका छाड्ने यात्रुको चाँप देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौँ उपत्यकामा एक सातासम्म निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि १५ दिनसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको छ। दुई सातासम्म निषेधाज्ञा हुने भएपछि काठमाडौं उपत्यका छाड्ने यात्रुको संख्यामा वृद्धि भएको ट्राफिक प्रहरीले जनाएको छ ।
सोमबार झण्डै ५० हजार यात्रुले उपत्यका छाडेका छन्। त्यो संख्या आज अझै बढ्ने अनुमान गरिएको छ। ट्राफिक प्रहरीका अनुसार सामान्य अवस्थामा दैनिक करिब ३० हजार यात्रु उपत्यकाबाट बाहिरिन्छन् ।
गत वर्षको लकडाउनमा काठमाडौं उपत्यकामा बस्दा निकै सास्ती बेहोरेका मानिस यस वर्ष लकडाउन सुरु हुनुभन्दा अघि नै उपत्यका छाड्न आतुर देखिएका छन् ।
अन्य समयमा यात्रु नपाएर खाली चल्दै आएका सार्वजनिक यातायात सोमबारदेखि नै भरिभराउ देखिन थालेका छन्। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले यात्रुलालई दुई दिन घर जाने समय दिइएकाले आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको बताए ।
लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो यात्रुले गरेका छन्। बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे। लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव देखिन थालेको छ ।
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको जानकारी दिए। नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।
नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् । काठमाडौँ महानगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बसपार्कमा एक हजार ५०० भन्दा बढी सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ। रासस