काठमाडौंं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्क घातको उपचार गराइरहेका पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्याइएको थियो ।
अस्पतालका अनुसार जोशीलाई ‘थ्यालेमिक ह्यामरेज’ भएको बताएको थियो । यो भनेको मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्नु हो ।करिब २० दिनको निरन्तर उपचारपछि मंगलवार साँझ उनको स्वास्थ्य अवस्था नाजुक देखिएको र सुधारको सम्भावना कम भएको अस्पतालले परिवारलाई बताएको थियो । २०२० साल पुस २४ गते जन्मिएका स्वर्गीय जोशीका श्रीमती र एक छोरी छन् ।
जोशीका दाजु राजुराज जोशी कांग्रेसको सक्रिय राजनीतिमा थिए ।गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट जोशी वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसंग पराजित भएका थिए । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भने जोशी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए । २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाको उप मेयरमा निर्वाचित भएका जोशीले काठमाडौको सांस्कृतिक सम्पदा र ऐतिहासिक धरोहर जोगाउने भूमिका खेलेका थिए ।