महोत्तरी । प्रहरीको काम शान्तिसुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने हो । तर महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर २ स्थित एनएमबी बैंक लुटपाट भएको एक महिनासम्म पनि प्रहरीले लुटपाटमा संलग्न दोषी फेला पार्न सकेको छैन । महोत्तरी गाउँपालिका २ मा रहेको एनएनबी बैंकको शाखा कार्यालयमा गएको जेठ १६ गते दिउँसो १२ बजे ३५ लाख रुपैयाँ लुटपाट भएको थियो । लुटपाट भएको एक महिनासम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रमुख एसपी प्रकाश मल्ल ध्यान शान्तिसुरक्षामा भन्दा पनि कमाउ धन्दातिर बढी केन्द्रित हुने गरेको आरोप छ । बैंक लुटपाट भएको एक महिनासम्म पनि त्यसमा संलग्न दोषीहरु फेलापर्न नसक्ने एसपी मल्लले महोत्तरीका सीमाक्षेत्रमा तस्करहरुबाट हप्ता असुली गर्नका लागि तीन जना घुुमवा परिचालन गरेका छन् ।
आईजीपी बसन्तबहादुर कुँवरले लामो समय कार्यरत घुमुवाका कारण भ्रष्टाचार बढेको, तस्करी बढ्दा राजस्व लक्ष्य अनुसार असुली नभएकाले हटाउन वा दरबन्दीमा फर्काउन भने पनि महोत्तरीमा त्यो लागू हुन सकेको छैन । घुमुवा–तस्कर सेटिङमा महोत्तरीका नाका नाकाबाट निर्वाध तस्करी हुँदैआएको छ । सर्वसाधारण नागरिकले सीमापारीको भारतीय बजारबाट दैनिक उपभोग तथा विवाह, व्रतबन्ध, पूजापाठ, श्राद्ध कर्मका लागि चाहिने सामग्री ल्याउँदा बरामद गरेर दुःख दिने प्रहरीले कालियालाई भने गाडीमै ल्याउँदा पनि छुट दिंदैआएको छ ।
महोत्तरीका नाका नाकामा बरिष्ठ सई सन्तोष झा, असई रामइश्वर भन्ने बच्चा यादव र सिपाही राजेश यादवलाई घुमुवाका रुपमा खटाइएको छ । यी तीन घुमुवाका अतिरिक्त बिमलेश झा नामका एक गैरप्रहरीलाई समेत एसपी मल्लले बिचौलियाका रुपमा सेटिङमा लगाउने गरेको स्रोतले बताएको छ । भारतीय नम्बर प्लेटको बोलेरो गाडी २ बर्षदेखि उनले गैरकानुनीरुपमा प्रयोग गर्दै महोत्तरीका एसपीको निकट भएर बिभिन्न उजुरीमा मोलतोल गर्ने गरेको आरोप छ ।
बरिष्ठ सई सन्तोष झाको जागिर अवधि पनि केही महिनामात्र भएकाले उनी जसरी हुन्छ तस्करसँग सेटिङ गरी कमाउधन्दामा लिप्त छन् । जिल्लामा हुने तस्करी र भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जनक भट्टराईसमेत मौन छन् । स्वयं डीआईजी कार्यालयका डीएसपी ज्ञानकुमार महतोले सहायक हवल्दार धर्मेन्द्र यादवलाई महोत्तरीमा घुमुवाका रुपमा कमाउधन्दामा लगाएका छन् ।
महोत्तरीको गौशाला क्षेत्रका नामुद ब्यापारी कालियाले राजेश राय र बच्च यादवसँग सेटिङ मिलाएर बीपी राजमार्ग हुँदै कपडाको भन्सारछली तस्करी गर्दैआएका छन् । मटिहानी नाका हुँदै उनले भारतबाट कपडा ल्याउने र बीपी राजमार्ग हुँदै काठमाडौंमा पठाउँदैआएका छन् । मदन रुन्चेले बीरगंजबाट तस्करीको नेटवर्क राजस्व अनुसन्धान विभागसम्मै सेटिङ मिलाएर गरेजस्तै कालियाले महोत्तरीबाट भन्सारछली गरी कपडा काठमाडौं पुर्याउने गरेको आरोप छ ।