मनाङ, । मनाङमा खेतीयोग्य भूमि साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य भूमिबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दो छ । जसले गर्दा रैथाने बाली लोप हुने अवस्थामा पुगेको छ । तर, हिमाली जिल्ला मनाङ यिनै बालीमा नै आत्मनिर्भर छ ।
कतिपय स्थानमा रैथाने बाली लोप हुने भइसकेको छ । रैथाने बालीको प्रयोग कम गरी हाइब्रिड बाली लगाउने प्रचलन बढ्दो छ । कम जग्गामा बढी उत्पादन र उन्नत जातको खेती गर्ने उद्देश्यले हाल विकासे (हाइब्रिड) खेतीपातीलाई प्राथमिकता दिएको पाइन्छ । उत्पादन बढी लिने उद्देश्यका साथ गरिएको खेतीले रैथाने बाली लोप भएका हुन् ।
चामे गाउँपालिका–२ थानचोकका किसान निर्मला गुरुङले मनाङमा आलु, गहुँ, फापर, करु, उवा लगायतका रैथाने बाली गर्दै आएको बताइन्। “मनाङमा पुर्खौंदेखि गरिदै आएको खेती नै हाल पनि गरिरहेका छौँ, यहाँको वातावरणमा यही बालीको उत्पादन राम्रो हुन्छ, यसको संरक्षण हुनुपर्छ, कृषि कर्मलाई प्रवद्र्धन र प्रोत्साहन गर्न आवश्यक रहेको छ”, गुरुङले भनिन् ।
त्यस्तै चामे–५ चामेका कृषक सेरव विष्टले गहुँ, फापर, करु, आलु, जौ, उवाजस्ता रैथाने बाली गर्न ज्ञान केन्द्रले प्रोत्साहन गरेको बताए । “यी खेतीबाट उत्पादित खाद्यवस्तुको प्रवद्र्धन तथा संरक्षणका लागि तालिम प्रदान गरिएको छ, यसले बाली संरक्षणमा टेवा पुग्नेछ”, उनले भने।
पर्यटकीय क्षेत्र भएकाले मनाङमा यहीको उत्पादनलाई प्राथमिकता दिएर विभिन्न परिकार बनाउन ज्ञान केन्द्रले तालिम प्रदान गर्ने कार्य गरिरहेको छ । यसले विदेशी पर्यटकलाई यहाँका उत्पादनलाई उपयोग गरी खानाको स्वादमा परिवर्तन र आकर्षित गर्नमा भूमिका खेलेको पाइन्छ ।
रैथाने बालीको उत्पादनलाई बजारीकरणका लागि बजारसम्म पु¥याउन प्रवद्र्धनात्मक कार्यक्रममार्फत प्याकेजिङको काम गर्ने योजना रहेको उनले बताए। “यसको बजारीकरणलाई मध्यनजर गर्दै बजारसम्म पुर्याउने, घरबास (होमस्टे) सँग समन्वय गरी रैथाने बालीको उत्पादन बिक्रीमा सहजता कायम गर्ने काममा कृषि ज्ञान केन्द्रले प्रवद्र्धनको भूमिका खेल्नेछ”, प्रमुख सिलवालले भने, “रैथाने बाली लोप हुने अवस्थामा रहेकाले यसलाई जोगाउनुपर्छ भनेर संरक्षणको रणनीति लिएका छौँ ।”
समुद्री सतहबाट एक हजार आठ सय ८० मिटरदेखि आठ हजार एक सय ६३ मिटरसम्म रहेको मनाङको क्षेत्रफल दुई हजार दुई सय ४६ वर्ग किलोमिटर रहेको छ । जिल्लाको कूल भूमि क्षेत्रफल दुई लाख २४ हजार छ सय हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार एक सय ५६ रहेको छ । त्यसमध्ये दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ । जसअन्तर्गत एक हजार ६३ हेक्टर सिञ्चित क्षेत्रफल हो ।
मनाङको कूल भूमिमा १९ हजार एक सय ६६ हेक्टर क्षेत्रफल वनजङ्गलले ओगटेको छ भने ४८ हजार नौ सय ९० हेक्टर चरन क्षेत्र र एक लाख ५४ हजार दुई ९१ हेक्टर क्षेत्रफल हिमशृङ्खला, चट्टान तथा पहरोले ओगटेको छ । यहाँ धान भने पूर्णरुपमा उत्पादन नहुने जिल्ला हो । धान, चामल भने जिल्लामा अन्य जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता छ ।
पर्यटक तथा स्थानीयले उपभोगका लागि अन्यत्र जिल्लाबाट धान, चामल आयात गरेर जीविकोपार्जन गर्दै आएको छ । जिल्लामै धान उत्पादन नहुँदा यहाँका मानिसले महँगो मूल्य तिरेर चामल खरिद गर्न बाध्य छ । मनाङलाई बहुमूल्य जडीबुटीको उर्वरभूमिको रुपमा पनि लिइन्छ । यहाँ यार्सागुम्बा, पाँचऔँले, जटामसी, शिलाजित, जिम्बु, सिबाकथ्रोन, कुटकी, निरमसी, तिक्का, सुगन्धवाल, पदमचाल, चिराइतो, तेजपात, गुचीच्याउ, कुरिलो, टिमुरलगायतका जडीबुटी पाइन्छन् । यही औषधीय जडिबुटी निर्यात गरेर मनाङको मुख्य आयस्रोत हो ।