प्रशिक्षकमा चम्किएका नविन

20.8k Shares

खेलाडी भएर पदक ल्याउने मेरो सपना एसियाड तयारीका बेला देब्रे खुट्टामा चोट पुगेर ठेस लागे पनि आफैंले प्रशिक्षित गरेका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक ल्याइदिँदा तेक्वान्दोका मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठलाई आफ्नो सपना साकार भए झैं लाग्ने गर्दछ ।

तेक्वान्दोको मुख्य प्रशिक्षक बनेको ४ महिना पछि नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दोले सबैभन्दा धेरै पदक जितेको थियो । प्रतियोगितामा  तेक्वान्दोले १२ स्वर्ण, ६ रजत तथा ११ कास्य पदक जितेको थियो ।

‘साग सकिएपछि ओलम्पिक तथा वल्र्ड च्याम्पियन्सको तयारीमा लाग्ने हाम्रो योजना थियो । खेलाडीहरू पनि फर्ममा थिए । कोरोना संक्रमणका कारण सबै खेलाडी घर क्वारेन्टिनमा बस्नु पर्ने वाध्यता आइलाग्यो’, प्रशिक्षक श्रेष्ठले लकडाउनको वाध्यतालाई यसरी साटे, लकडाउन अलि खुकुलो भएपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिवसँग खेलाडीको खेल जीवनका बारेमा परामर्श गरेको छु । परिषद्बाट ठोेस कुरा आएको छैन । 

लकडाउनले खेलाडीमा सुरु सुरुमा मानसिक तनाव नै ल्यायो । यो बीचमा हामीले अनलाइन तालिम गरायौं । मुख्य प्रशिक्षकको नाताले मैले खेलाडीको अवस्था बुझेँ नविनले कोभिडले निम्त्याएको समस्यापछिको अवस्था व्याख्या गर्दै भने ।

मैले मुख्य प्रशिक्षकको जिम्मेवारी लिएकै दिन अठोट गरेको थिँए, ‘तेक्वान्दोमा पहिलेको सफलताको जगमा टेकेर अझै राम्रो बनाउँछु । सागमा हामीले त्यो प्रमाणित पनि गरिसकेका छौं ।’

नेपालमै भएको आठौं सागमा १४ स्वर्ण जितेर माथि आएका हामी त्यसयताका प्रतियोगितामा नराम्ररी पछि परेका छांै, उनले पछि पर्दाको क्षण सम्झँदै भने, ‘यो एउटा पक्षको मात्रै कमजोरीले भएको होइन । खेलाडी, प्रशिक्षण, सरकारसहित सबै सरोकारवाला निकायको धेरथोर हात रहन्छ । तर पनि तेक्वान्दो खेललाई नेपाली खेलक्षेत्रकै नम्बर एक बनाउने मेरो चाहना छ ।’

तेक्वान्दोस“गको साइनो

२०४५ सालमा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् अन्तर्गत रहेको नेपाल तेक्वान्दो संघको केन्द्रीय तेक्वान्दो डोजाङमा तेक्वान्दो प्रशिक्षणका लागि भर्ना भएको थिए नविन ।

त्यति बेला चाइनिज फिल्म कम्फुमा ब्रुसुलीको अलि बढी प्रभाव थियो । बु्रसुलीको एक्सन मन परेर होला म पनि मार्शल आर्ट विधातर्फ आकर्षित हुँदै गएँ । मार्शल आर्ट विधाकै तेक्वान्दो खेल्न पुगे । तेक्वान्दो खेलबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सुरु भइसकेकाले त्यति बेला तेक्वान्दो खेल चर्चामा पनि थियो । त्यसैले पनि हुनसक्छ म तेक्वान्दो खेलप्रति आर्कसित भएको उनले तेक्वान्दोसँगको सम्लग्नता प्रष्टयाउँदै भने ।

मेरो खेल जीवन १२–१३ वर्षको उमेरदेखि नै सुरुवात भएको हो । खेल जिवनका सुरुवाति चरणबारे स्मरण गर्दै नविन भन्छन्, ‘खेल खेल्न बिहान ५ बजे उठेर कोटेश्वरबाट रंगशाला हिँड्थे । प्रशिक्षण सकेर घर पुग्दा ९ बजिसकेको हुन्थ्यो । घर आएलगत्तै विद्यालयका लागि तयारी हुनु पर्ने अवस्था थियो । खेल र पढाइ सँगसँगै लग्न सक्ने अवस्था थियो तर खेलको लतले होला मैले पढाइतर्फ त्यति ध्यान दिन सकिन ।’

कुनै पनि खेल विकास हुनका लागि त्यसका विभिन्न प्रतियागिताहरू हुनुपर्छ । तर त्यति बेला खेल प्रतियोगिताहरू एकदमै कम हुन्थे । वर्षमा एक–दुईवटा प्रतियोगिता पनि हुन गाह्रो थियो । मैले ब्ल्याक बेल्ट हुने बेलासम्म केबल दुईवटा प्रतियोगिता खेल्ने अवसर पाएँ उनले विगत सम्झँदै भने, ‘आफूले खेलेका प्रतियोगितामध्ये एउटामा रजत र अर्कोमा स्वर्ण पदक जितेँ । म पदक जित्ने अवस्थामा पुग्दा तेक्वान्दो खेलमा लागेको तीन वर्ष भन्दा बढी समय भइसकेको थियो ।’

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नेपालमा १२ औं एसियाली खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न जिल्ला, क्षेत्रीय एवं राष्ट्रिय प्रतियोगिता गराउन थालियो । प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई जापानको हिरोसिमामा भएको १२ औं एसियन प्रतियोगितामा सहभागी जनाउने भन्ने निर्णय खेलकुद परिषद्बाट आयो । नविनले त्यतिबेला फेदर ओइटबाट जिल्ला, क्षेत्रीय र राष्ट्रिय प्रतियोगितामासमेत स्वर्ण पदक जित्दै १२ औं एसियन गेममा सहभागी हुने अवसर प्राप्त गरे ।

एसियन प्रतियोगिताको प्रशिक्षणमा मेरो देब्रे घुँडामा गहिरो चोट लाग्यो । सोही कारणले मैले सो प्रतियोगितामा कुनै नतिजा ल्याउन सकिन । घुँडाको चोटका कारण मेरो खेल जीवन बिचैमा रोकियो पदक विहीन खेलाडी बन्नु पर्दाको नमिठो अनुभव हामीसँग साट्दै नविनले भने ।

कोटेश्वर तेक्वान्दो डोजाङ स्थापना

तेक्वान्दोमा ब्ल्याक बेल्ट हासिल गरेपछि २०४९ साल वैशाख १ गते मैले काठमाडौंको कोटेश्वर महादेव स्थानमा कोटेश्वर तेक्वान्दो डोजाङ स्थापना गरी तेक्वान्दो प्रशिक्षण सुरु गरेँ । चोटका कारण मेरो खेल जीवनमा प्रश्न लागेपछि पदक जित्ने मेरो सपना सपनामै रह्यो । खेल क्षेत्रमार्फत् मुलुकको झण्डा अन्तर्राष्ट्रिय जगतमा फहराउने इच्छा सम्माप्त भएपछि मैले आफूलाई खेलाडीबाट सफल प्रशिक्षक बन्ने निधो गरेँ ।

आफँैंले स्थापना गरेको कोटेश्वर तेक्वान्दो डोजाङका खेलाडीलाई राम्रो प्रशिक्षण दिएर तिनै खेलाडीबाट मेरो अधुरो सपना पूरा गर्ने लक्ष्यका साथ प्रशिक्षण दिइ रहेको छु । यो डोजाङ हाल नेपालमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने र नेपालकै उत्कृष्ट डोजाङका रूपमा पु¥याउन सफल भएको छ नविनले प्रशिक्षणका रूपमा पाएको सफलताबारे बेलिविस्तार लगाए ।

यो डोजाङ हाल काठमाडौं महानगरपलिका वडा नं। ३२ कोटेश्वरको पेप्सीकोला नजिकै यति टोलमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न प्रशिक्षण हल र आधुनिक खेल सामग्रीसहित चलिरहेको छ । नविनले भने, ‘यो डोजाङबाट उत्पादित खेलाडीले युथ ओलम्पिक, वल्र्ड च्याम्पियन्सिप, एसियन गेम, साउथ एसियन गेमलागायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ दर्जन भन्दा बढी खेलाडीले सहभागिता जनाइ पदक जित्न सफल भएका छन् ।

१३ औं सागमा पनि यो डोजाङबाट उत्पादित खेलाडीले ३ स्वर्ण र २ काँस्य पदक जितेका हुन् ।

यो डोजाङबाट उत्पादित खेलाडीले हालसम्म कुल ५ स्वर्ण १ रजत र २ काँस्य पदक जितेर देशको नाम अन्तर्राष्ट्रिय जगतमा फैलाउन सफल भइसकेका छन्, डोजाङको सफलता हामीसँग बाँड्दै नविनले भने ।

कोटेश्वर डोजाङका खेलाडीले ९ औं साफ प्रतियोगितामा दुई स्वर्ण दिलाएका थिए । डोजाङका खेलाडी एसियन गेम ९दक्षिण कोरिया० एसियन च्याम्पियनशीप (दक्षिण कोरिया), वेल्ड तेक्वान्दो च्याम्पियनशीप (जर्मन मा सहभागिता जनाउनुका साथै अमेरिकाको भर्जिनिया र पोर्टल्यान्ड सहरमा आयोजना भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभगी भएर ३ स्वर्ण पदक दिलाइसकेका छन् ।

२०१० मा भारतको लखनउमा सम्पन्न दोस्रो लखनउ  ओपन आमन्त्रण अन्तर्राष्ट्रिय तेन्वान्दो प्रतियोगितामा यो  डोजाङबाट दुई खेलाडीले क्रमशः रजत र कास्य पदक ल्याएका थिए ।

नेपाल तेक्वान्दो संघको आयोजनामा भएको पहिलो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा डोजाङका खेलाडीले रजत पदक दिलाए । सिंगापुरमा सम्पन्न प्रथम युथ ओलम्पिकमा डोजाङका खेलाडी सहभागी भइ उत्कृष्ट खेल प्रदर्शन गरेका थिए भने २१ औें विश्व तेक्वान्दो प्रतियोगिता दोस्रो चरण सम्म पुग्न सफल भएका थिए ।

नेपालको खेलकुद इतिहासमा तेक्वान्दोलाई उत्कृष्ट खेल मान्ने गरिन्छ ।  तेक्वान्दोमा पनि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उत्कृष्ठ डोजाङका रुपमा कोटेश्वर डोजाङलाई लिइने गरिन्छ । यो डोजाङबाट उत्पादित खेलाडीले युथ ओलम्पिक, वल्र्ड तेक्वान्दो प्रतियोगिता, एसियन गेमलगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा दर्जनौ खेलाडीले सहभागीता जनाउँदै विभिन्न पदक जित्न सफल भइ सकेका छन् ।

कोटेश्वर तेक्वान्दो डोजाङ महानगरपालिका–३२ पेप्सीकोलास्थित यति टोलमा छ । तेक्वान्दो खेलाडी उत्पादनका अलावा फिटनेश क्लब पनि यहाँ सञ्चालित छ नविनले भने, ‘विपत्तिका बेला मानविय सहयोग, सामाजिक कार्य र वडामा सरसफाई अभियानमा समेत सहकार्य गर्दै आएका छौं ।’

कोटेश्वर डोजाङमा सिनियर ब्ल्याक बेल्ट (प्रथम डान) २४७ जना, ब्ल्याक बेल्ट (दोस्रो डान) ४७ जना ब्ल्याक बेल्ट (तेस्रो डान) ३५ जना र चौथो डान ६ जना प्रशिक्षार्थी छन्  भने जुनियर तर्फ दैनिक ११३ जना प्रशिक्षण लिइरहेका छन् ।

तेक्वान्दो खेलका मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक पनि हुन् नविन । उनले एयियन गेममा उत्कृष्ट निर्णायकको पदक पनि पाएका छन् । खेलका सबै नियम थाहा पाउन रेफ्री हुनु जरुरी छ नविनले आफ्नो तेस्रो भूमिकाका बारेमा जानकारी दिँदै भने ।

(श्रेष्ठ कोटेश्वर डोजाङका संस्थापक तथा नेपाल तेक्वान्दो संघका सचिव हुन् ।)

सम्बन्धित समाचार