ओलीको माकुरी जालोमा बामदेव

16.1k Shares

काठमाडौं । माकुराले शिकारलाई समात्दैन । न त शिकार खोज्न दौडन्छ । उसले एकपटक जाल बनाउन समय खर्चन्छ । हरेक दिन जालोलाई टलक्क टल्काएर शिकारीलाई आकर्षित पार्न थाल्छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली अहिले माकुरी शैलीमा जाल बुन्दै आरामले बालुवाटार बसेर शिकारहरुलाई फन्दामा पारिरहेका छन् ।

यसपटक सत्ता संकट पर्दा ओलीले आफै दुःख गरेनन् । जाललाई टलक्क पारे । त्यसमा एकपछि अर्को दोस्रो तहका नेतादेखि आफ्ना समकालिनहरु पर्दै गए । शुरुमा प्रचण्ड निकट लेखराज भट्टलाई आकर्षित गरे । भट्टले प्रचण्ड गुट छाडे । त्यसपछि रामबहादुर थापा बादल आकर्षित भए । उनले पनि गुट छाडे बराबर भइसकेको छ ।

ओलीले मन्त्री रहेका घनश्याम भुषाल र योगेश भट्टराईलाई पनि जालमा आकर्षित पारे । उनीहरु माधवकुमार नेपालको गुटबाट मन्त्री बनेका थिए । अहिले गुट परित्याग गरे । हुँदा—हुँदा ओलीको माकुरी जालोमा नेकपा उपाध्यक्ष बामदेव गौतम आकर्षित भएका छन् । ओलीको एजेन्डा उनले बोेकेर हिजो छ बुँदे सहमतिको प्रस्ताव सार्वजनिक गरे । हेर्दा गौतमले तयार गरेको देखिएपनि यसमा ओलीकै बोली थियो । त्यसलाई समर्थन गरेको सन्देश दिन मंगलबार गौतम निवासमा ओली श्रीमती राधिका शाक्यलाई लिएर डिनर गर्न पुगे ।

गौतमलाई ओलीले विभिन्न प्रस्ताव गरेको बुझिएको छ । जसमा राष्ट्रियसभा सदस्य बनाउने देखि रोजेको मन्त्रालय दिएर उपप्रधानमन्त्री दिने समेत रहेको बुझिएको छ । तर, बामदेव ओलीको उत्तराधिकारी बन्नेतर्फ लागेका छन् । उनले अबको महाधिवेशनमा अध्यक्ष बन्न र प्रधानमन्त्री बन्न ओलीको सहयोगको अपेक्षा गरेका छन् । हिजोको भेटमा यही इच्छा देखाए । ओलीले पनि अब आफूपछि नेकपा अध्यक्ष र प्रधानमन्त्री नै बामदेव हो भनिदिए । उनले जबजको सिद्धान्त अंगिकार गर्नेमा बामदेव नै हुने भएकाले समर्थन रहने बताएको स्रोतले बताएको छ । प्रचण्डले जबज बोक्न नमान्ने स्पष्ट पारिसकेका छन् । अब जबज बोक्ने उपयुक्त पात्र नै बामदेव भएको ओलीको भनाई रहेको छ । यही बुझेर पनि बामदेवले ओलीबाट धेरै आशा गरेका छन् ।

ओलीले बामदेवको चरित्र राम्रो बुझेका छन् । उनलाई दिन्छु भने पुग्ने र दिनुनपर्ने, चिढिएमा फेरि दिन्छु भने पुग्ने । बामदेवलाई बुझेका राधाकृष्ण मैनालीले त बामदेव केही पाउँछु भन्ने लागेमा मात्र पनि फुरुङ्ग हुन्छन् भनिसकेका छन् । यसपटक पनि बामदेवलाई ओलीले फुरुङ्ग पारिदिएका छन् । जबकि ओलीले विगतमा बामदेवलाई नेकपाबाट निकाल्न गर्नुसम्म गरे । टिक्न नसकेर बामदेव माले गठन गरी अलग भए । एमालेमा फर्किएपछि पनि गणतन्त्रबारे बोलेको भन्दै कारबाही गराए । पछि विभिन्न आश्वासन दिएर अघिल्लो महाधिवेशनमा अध्यक्षका लागि सहयोग गर्ने अवस्था बनाए । गौतमले सहयोग त गरे तर महेश बस्नेतहरु लगाएर बर्दियाबाट चुनाव हराइदिए । बामदेवको प्रधानमन्त्री बन्ने सपना पटक पटक तुहाइदिए ।

पछिल्लो पटक ओलीको राजीनामा मागिएपछि पनि बामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव सचिवालयमा आयो । त्यो प्रस्ताव ओलीले ल्याएका थिए । जबकि संविधानले चुनाव हारेकोलाई प्रधानमन्त्री बन्न दिँदैन । प्रधानमन्त्री बन्न संसद सदस्य भएको हुनुपर्छ । ओलीले प्रधानमन्त्री बनाइदिन्छु भन्दा बामदेव दङ्ग परे । ओलीको राजीनामाको प्रयास तुहियो । यसपटक पनि ओली हट्ने अवस्था बनिसकेको थियो । उनले कसैलाई टेरेनन् । अन्तमा बामदेवलाई फुरुङ्ग पारिदिए । बामदेव पनि ओलीसँग नजिकिएर अरुलाई हेरेको हेरै बनाइदिए । यसैपनि योपटक आफू प्रधानमन्त्री बन्ने अवस्था नरहेकाले बामदेवले ओलीलाई पूरा कार्यकाल चलाउन दिऔं भनेका छन् । उनको चाहना भने राष्ट्रियसभा सदस्य बन्ने र आफू निकटस्थहरुलाई बलियो मन्त्रालय दिलाउने रहेको छ । मन्त्रिमण्डल पुर्नगठन बामदेवको चाहना छ । त्यसमा उनी पनि पर्नसक्ने सम्भावना छ । नभएका आफ्ना पकेटलाई बनाएर भएपनि मालदार मन्त्रालय चलाउने दाउमा छन् ।

सम्बन्धित समाचार