काठमाडौं, ३० फागुन । नेपाल प्रहरी श्रीमती संघमा आवद्ध रहेका प्रहरीका उच्च अधिकारीहरुका श्रीमतीहरुले मिटरब्याजी धन्दा चलाउँदै मालामाल बनेको समाचार छ ।
श्रीमती संघमा आवद्ध रहेका नेपाल प्रहरीका उच्च अधिकारीका श्रीमतीहरुले आफ्नो श्रीमान्को पोष्टिङ राम्रो ठाउँमा भएको फाइदा उठाउँदै मिटरब्याजमा मोटो रकम लगानी गरी ऋणीहरुलाई घर न घाटको बनाउँदै आएको बुझिन आएको छ ।
ऋणिहरुसँग मासिक प्रति लाख १० हजारदेखि ३० हजारसम्म असुली गरेको नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरुले ऋण दिँदा ऋणको धितोबापत अग्रिम ब्याज कटाई चेक लिने गरेको र ऋणीले समयमा ऋण तिर्न नसकेको अवस्थामा ऋणीबाट प्राप्त गरेको चेक बाउन्स गर्नाका साथै बैंकमा समेत कालोसुचिमा राख्ने गरेको पाइएको छ ।
त्यतिमात्र नभई ऋण उठाउन आफ्नो श्रीमान्को पावर देखाउँदै प्रहरी कार्यालयमै लगी थुनाउनेदेखि लिएर मानसिक तनावसमेत दिने गरेको एक ऋणीले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए ।
ऋण लगानी गर्नेहरुमा पूर्व डीआईजीदेखि लिएर बहालवाला डीएसपी, एसपी, एसएसपी र डिआईजीसम्मका उच्च प्रहरी अधिकारीका श्रीमतीहरु रहेको ऋणीले जानकारी गराए । नेपाल प्रहरी श्रीमती संघमा आवद्ध पदाधिकारीहरुसमेत यस्तो धन्दा चलाउन थालेपछि नियमन निकायमा भएका प्रहरीका उच्च अधिकारीहरुलाई नै अप्ठ्यारो पर्ने अवस्था आएको छ भने ऋणीहरु न्याय खोज्न प्रहरीकोमा जानुपर्नेमा उल्टै प्रहरीकै श्रीमतीले त्यस्तो धन्दा चलाएपछि अब न्याय खोज्न कहाँ जाने भन्दै खोजतलाससँग गुनासो पोखेका छन् ।