जनप्रतिनिधि कि जग्गा दलाल ?

जनताको समस्या छाडेर ध्यान पैसातर्फ मात्रै

ललितपुर । मालपोत कार्यालयका कर्मचारीका अनुसार पछिल्लो समय हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिडेटको जग्गा निकै विवादमा आएको छ । नेपाली कांग्रेसको सरकारका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थराज्यमन्त्री महेश आचार्यले २०४९ मा निजीकरण गरेको हरिसिद्धि ईटा टायल कारखानाको जग्गा उद्योग प्रयोजनमा बाहेक घडेरीका रुपमा ब्यक्तिलाई बिक्री गर्न नपाउने सर्त राखिएको थियो । तर त्यो सर्त विपरीत गैरकानुनी रुपमा हरिसिद्धि इटा कारखानाको जग्गा ब्यक्तिलाई बिक्री गर्न ललितपुर मालपोत कार्यालयका प्रमुख भीमकान्त गौतम लगायतका कर्मचारीमाथि नेपाल कम्युनिष्ट पार्टीका सांसद पम्फा भूसाल र प्रदेश सांसद राजकाजी महर्जनले चर्को दबाब दिइरहेका छन् । यसअघिका मालपोत प्रमुख घनश्याम उपाध्यायमाथि पनि उनीहरुले दबाब दिंंदैआएका थिए । अहिले पनि दबाब दिई नै रहेका छन् । दशकौं पहिले जनताले कारखाना सञ्चालन गर्न सरकारलाई दिएको जग्गा आफ्नो नाममा बनाउन अहिले दलालहरूले चलखेल थालेका छन् । नेतृ पम्फा भूसालले बन्द हरिसिद्धि ईटा टायल उद्योगका मालिक जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठको प्रभावमा परी उद्योगको जग्गा ब्यक्तिका नाममा गर्न मालपोत कार्यालयका प्रमुखलाई दर्ता गर्न दबाब दिंदैआएकी छन् । उद्योग निजीकरण गर्दाको सर्त विपरीत हरिसिद्धि इँटा तथा टायल कारखानाको जग्गा व्यक्तिका नाममा पास गर्न बारम्बार दबाब आउन थालेपछि मालपोतका कर्मचारी आजित भएका छन् । जिल्लाका सांसद भूसाल र प्रदेशका महर्जनसहित लक्ष्मीबहादुर जीतबहादुरले कार्यालयमै पुगेर जग्गा पास गर्न दबाब दिइरहेको कार्यालयका कर्मचारी बताउँछन् । जग्गा पास नगरे जे पनि गर्ने धम्की नेकपाका कार्यकर्ता भन्ने सुशील खनालले दिएको मालपोतका एक कर्मचारीले गुनासो गरेका छन् । खनालले आफूलाई पम्फा भूसालले पठाएको भन्दै कर्मचारीलाई धम्की दिएका हुन् । खनालले मालपोतका कर्मचारीलाई अनावश्यक दबाब दिएका कारण कर्मचारी त्रसित हुन थालेका छन् भने कार्यालयको काम नै बिथोलिंने गरेको छ । जग्गा व्यवसायीहरूका दबाबका कारण असुरक्षित महसुस गर्दै कार्यालय प्रमुख गौतम ४ दिन कार्यालय नै आउन सकेनन् । उनी अहिले पनि हरिसिद्धिको जग्गा दर्ता गर्न हुलहुज्जत गर्न आउने हुन् कि भनेर त्रसित हुने गर्दछन् ।
केही अन्य व्यवसायी पनि गैरकानुनी रुपमा कारखानाको जग्गा आफ्नो नाममा पार्ने दाउमा छन् । उनीहरूले मालपोत कार्यालय ललितपुरका कर्मचारीलाई एक एक गरी भेटेर दबाब र प्रलोभन एकसाथ दिइरहेको समाचार छ । तर, मालपोत कार्यालयका कर्मचारी र सम्बन्धित सरकारी निकायले भने आवश्यक कागजात पु¥याएर आउन भनिरहेका छन् । गएको साउन २४ मा पनि केही व्यक्ति मालपोत कार्यालयमा पुगेर जग्गा ब्यक्तिका नाममा दर्ता गर्न दबाब दिएका थिए । आवश्यक कागजात नै पूरा नगरी जग्गा पास गरिदिन भन्दै उनीहरूले हप्काएका थिए । तर मालपोतका कर्मचारीले सम्झाइबुझाई आवश्यक कागजात ल्याउनु भने ।
मित्रराष्ट्र चीन सरकारले २०२२ मा निर्माण गरिदिएको र्ईटा कारखाना नोक्सान परेको भन्दै नेपाली कांग्रेस नेतृत्वको सरकारले निजीकरण गरेको थियो । ९१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त कारखाना निजीकरण गर्दा उद्योग प्रयोजनबाहेक ब्यक्तिलाई बिक्री गर्न नपाउने सर्त राखिएको थियो । तर गैरकानुनी रुपमा सर्त उल्लंघन गर्दै कारखानाको केही जग्गा बिक्री भइसकेको छ । अरु बाँकी जग्गा पनि बिक्री गरी ठूलो रकम हात पार्ने कारखाना सञ्चालकको योजनालाई सहयोग पुग्नेगरी जनप्रतिनिधिले सघाउन थालेको गुनासो छ । कारखानाको जग्गा बिक्री गर्न ललितपुर महानगरपालिका २७ वडा कार्यालयले गएको माघ २५ मा सिफारिस दिएको थियो । त्यति बेला हरिसिद्धिका सेयरधनी तथा मजदुरले सिफारिस रोक्का गर्न वडासँग माग राखेका थिए । तर, वडाध्यक्षले सेयरधनी एनबी बाल्ट्रा हस्पिटल एन्ड रिसर्च सेन्टरका नाममा ‘घरबाटो’ सिफारिस दिएका थिए ।
निजीकरणमा गएपछि र्ईटा उद्योेग चलाउन छाडेर जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठहरु जग्गा बिक्री गरी रातारात करोडौं रुपैयाँ आर्जन गर्नेतिर केन्द्रित हुँदैआएका छन् । संचालकहरु जग्गा बिक्रीमा लागेपछि विवाद चर्किन थालेको थियो ।
हरिसिद्धि ईटा कारखानाको जग्गा ब्यक्तिका नाममा दर्ता गर्न दबाब दिनेमा केशव तिमल्सिना, सुशील खनाल, बालकृष्ण घिमिरेलगायतको टोली लागेका छन् । जग्गा पास गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट रजिष्टर भएको कागज र भूमिसुधार मन्त्रालयबाट हकबन्दी छुट लिएको कागज ल्याउनू भन्दा ल्याउन सकेका छैनन् । यी प्रक्रिया पूरा नगरी जग्गा दर्ता गर्दा कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छाड्दैन, कागज ल्याऊ भन्दा ल्याउँदैनन् भन्दै मालपोतका कर्मचारीहरु गुनासो गर्दछन् । अधुरा कागजातका भरमा कसैको स्वार्थसिद्धिका लागि जग्गा पास गर्ने पक्षमा हामी छैनौं, अख्तियारले हामीलाई छाड्दैन, मालपोत कार्यालयका कर्मचारीले भने ।
हरिसिद्धि इँटा तथा टायल कारखाना लिमिडेट सञ्चालक समितिमा रहेका जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठको हालीमुहाली रहेको भन्दै स्थानीयले जग्गाको संरक्षण हुनुपर्ने आवाज उठाउँदैआएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयले हालको सञ्चालक समितिलाई अभिलेख नगरेको र उक्त समितिले जग्गा धितो राखी बेच्ने क्रियाकलाप गर्दा त्यसबारे कसैले चासो नदिएको सेयर संघर्ष समितिले जनाएको छ । मिलेमतोमा कारखाना डुबाउने र अचल सम्पत्ति हडप्ने खेल भएको भन्दै यसतर्फ सबैको ध्यानकर्षण गराएका छन् ।
श्रेष्ठद्वयको मिलेमतोमा कारखाना डुबाउने र अचल सम्पत्ति हडप्ने खेल भएको भन्दै हेमराज महर्जन, पूर्ण महर्जन र श्याम खत्रीले न्यायका लागि आफूहरु पछि नहट्ने र तत्काल वार्षिक साधारण सभा र आर्थिक पारदर्शिताको लागि गरिएको अपिललाई वेवास्ता गरिए कडा आन्दोलनमा जाने चेतावनी दिइरहेका छन् । उद्योग सञ्चालन गर्न सरकारले दिएको अचल सम्पत्ति धीतो राख्ने र बेच्ने कार्य हुँदा समेत सरकार बेखबर जस्तो बनेकोमा संघर्ष समितिले चर्को आलोचना गरेको छ । दृष्टि न्यूजडट कमबाट

2018 September 6 7:09 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया