काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले मध्यपूर्वमा रहेका नेपालीहरूको तत्काल सहायत र सुरक्षित व्यवस्थापनका लागि अविलम्ब प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेको छ ।
एनआरएनएले विज्ञप्ति निकालेर नेपाल सरकार, परराष्ट्र मन्त्रालय र सम्बन्धित देशका नेपाली राजदूतावासहरूलाई त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिई आवश्यक सहयोग गर्न आग्रह गरेको छ । यसका लागि आवश्यकताअनुसार नेपाल सरकारसँग सहकार्यका लागि समेत आफूहरू तत्पर रहेको विज्ञप्तिमा उल्लेख छ ।
एनआरएनएले मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ । मध्यपूर्वका देशमा रहेका १९ लाखभन्दा धेरै नेपालीको सुरक्षा मुख्य प्राथमिकतामा राखी आवश्यक कदम चाल्नु जरुरी रहेको एनआरएनएले जनाएको छ ।
इजरायल, इरान तथा मध्यपूर्वका अन्य देशमा रहेका नेपालीलाई सम्बन्धित देशका सरकारी निकाय तथा नेपाली राजदूतावासहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न एनआरएनएको आग्रह छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन, सुरक्षित ठाउँमै बस्न, अनावश्यक यात्रा नगर्न तथा स्थानीय अवस्थाबारे निरन्तर जानकारी लिन एनआरएनएले भनेको छ ।
यस्तै राष्ट्रिय समन्वय परिषद्हरू, गैरआवासीय नेपाली सङ्घको सचिवालय, स्थानीय नेपाली समुदाय, नेपाली राजदूतावास र सम्बन्धित निकायहरूसँग नियमित सम्पर्कमा रहन एनआरएनएले अनुरोध गरेको छ । अहिलेको अवस्था सामान्य नभएसम्म इजरायल, इरान तथा मध्यपूर्वका अरू देशहरूमा यात्रा नगर्न एनआरएनएले भनेको छ ।