नयाँ–नयाँ मिलेको देखेपछि हजुरबाको खसखस !

4.9k Shares

उसै त बुढ्यौलीमा राम्रो निद्रा पर्दैन, त्यसमाथि पुसको जाडो । ओढिरहेको पातलो सिरक अलिकति पन्छाएर हजुरबाले झ्यालबाहिर हेरे । बिहान हुन लाग्दासम्म उस्तै अँध्यारो । केही दिनयता लागेको हुस्सु र कुहिरोले घाम छोपेर दिउँसै अँध्यारो छ । उज्यालो हुनै बाँकी रहेको बेला त यसै पनि अँध्यारो भैहाल्ने भो । हजुरबाले कोल्टे फेरे । सरकारले चिसोमा बुढाबुढी र विपन्नहरूलाई न्यानो कम्बल बाँड्ने कुरो गर्थ्याे । तर पहिलेदेखि अहिलेसम्मका सरकारहरूले कुरो मात्रै गर्ने हुन्, कुरो अनुसार काम गर्ने भए पो । कुरो मात्रैले हुने भए यस्तो जाडोमा किन रातभर अनिँदो भएर लुगलुग काँपिरहनुपर्थ्याे र ? सरकारमा कुरोभन्दा धेरै काम गर्ने मान्छे कहिले आउलान् खै ? हजुरबाले हाई काढे । रेडियोमा समाचार आउने बेला भएछ । हजुरबाले रेडियो खोले ।

‘नयाँ र नयाँबीच एकता’ पहिलो समाचार सुन्नेबित्तिकै हजुरबाका कान ठाडा भए । मनमा छुट्टै किसिमको आनन्द मिलेजस्तो भयो । एकछिनलाई जाडो पनि हरायो । अब धमाधम चुनावी घोषणापत्र र भाषणबाजी आउन थाल्यो भने थप आनन्द मिल्थ्यो होला । नयाँहरू मिल्ने कुरा त गर्दै थिए, मिलेछन् । अब केही होला त ? एकता गर्दा सहमति चाहिँ केके भयो त ? हजुरबाले रेडियो कानको अझै नजिक तानेर सुने । फलानो पार्टी सभापति, ढिस्कानो प्रधानमन्त्री ! हैन चुनाव हुनु कताकता अहिल्यै प्रधानमन्त्री ? ए चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बनाउने बन्ने चाहिँ भन्या रैछन् ! तर समर्थकहरू अहिल्यै बहुमत ल्याएर प्रधानमन्त्री बने जसरी पो बुरुकबुरुक गर्दैछन् त !

अनि १० वर्षमा देशलाई मध्यम आयस्तर भएको देश बनाउने सहमति पनि गरेछन् । त्यस्तो खालको देश बनाउने कसरी नि ? त्यसको आधार के ? पुराना भनिनेहरूले पनि त यसै भनेका थिए । आशा गरिएका नयाँहरूले गरेको सहमतिमा त विश्वासिलो आधार पनि हुनुपर्‍याे नि । ल ठिकै छ सहमतिमा सबै कुरो लेख्न सकिएन, चुनावपछि त्यसको आधार पनि तय होला । तर चुनाव होला, नहोला भन्ने अन्योल भैरहेको बेला सबैभन्दा पहिले त चुनाव सफल बनाउने र चारतिर फर्केका युवाको मन जित्ने सहमति पो गर्नुपर्थ्याे । अहिले पनि एकथरि युवा चुनाव हुँदैन भन्छन्, अर्काथरि युवा चुनाव हुन्छ भन्छन् । सबैको ध्यान चुनावतिर केन्द्रित गर्ने सहमति खै ? को प्रधानमन्त्री हुने भन्ने कुरो त चुनावपछि पो गर्ने हो त । नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु पहिले !

हजुरबाको मनमा कुरा खेल्न थाल्यो । झ्यालबाट बाहिर हेर्दा अलिअलि उज्यालो देखियो । कुहिरोले वरपरको जङ्गल चाहिँ देखिएन । जङ्गल सम्झँदै गर्दा हजुरबाको दिमागमा मृगको मासु भागबन्डा गरेको याद आयो ।

गाउँमा हरेक पाँच/पाँच वर्षमा मृग खोज्न जङ्गल जाने नियम छ । तर एक्लै कसैले समात्न नसक्ने र आपसमा भागबन्डा गर्दा नपुग्ने भएपछि समय अवधि नपुग्दै अर्को मृग खोज्न जाने अवस्था आइरहन्छ । कहिलेकाहीँ भागबन्डा गर्दा बाँकी बसेको रहलपहलमा चित्त बुझाएर पनि समय पर्खने गरिन्छ । यस पटक पनि भागबन्डा र लुछाचुँडीकै कारण समय नपुग्दै नयाँ मृग खोज्न जङ्गल जाने तयारी भएको छ । यसअघि मृगको मुटु कलेजो र राजखानीको स्वाद चाखिसकेकाहरू दोबाटोमा उभिएर जङ्गलको बाटो ताक्दै र पुरानो रहलपहल सम्झेर र्‍याल काढ्दैछन् । तै पनि नयाँ शिकारकै खोजीमा जङ्गल फर्कनेहरूको सङ्ख्या धेरै देखिन्छ ।

पहिले–पहिले त सबै आफ्नै सुरले जङ्गल जान्थे । कोही बन्दुक बोकेर, कोही भाला लिएर, कोही पासो थापेर । कहिले मृग मर्थ्याे, कहिले भागेर जङ्गलतिर लुसुक्कै हराउँथ्यो । मरे पनि त छिमेकी गाउँलाई भाग लगाउनुपर्थ्याे किनकि जङ्गल सबैको साझा । तर पनि मज्जा हुन्थ्यो । शिकार सफल भए भोजभतेर, असफल भए फेरि अर्को पटकको योजना ।

यस पटक मृग सिजनको समय नजिकिँदै गर्दा सबैलाई चिन्ता भयो । यसअघि जस्तो खोलावारि र खोलापारि मिलेर बाटो मुनिकालाई हेरेको हेर्‍यै बनाउने कि माटोमुनिको र बाटोमाथिको मिलेर खोलापारिकालाई देखाउने भन्ने अलमल छ । पहिलेदेखि नै कहिले एक्लै र कहिले मिलेर मृग मार्ने बानी परेकाहरू अलमलमा पर्दा जोशिला युवाहरू आपसमा एकजुट हुन थाले । उनीहरूलाई पनि लाग्यो, जोशिलाहरू एक्लाएक्लै जोशिँदा मृग मर्ने–नमर्ने ठेगान छैन । जङ्गलमा मृग घट्दै गएका छन् । त्यसमाथि मृगभन्दा शिकारी धेरै भए । फेरि पनि पुरानै शिकारीले मृग उछिट्याए भने हेरेको हेर्‍यै भइन्छ । त्यसैले नयाँ शिकारीहरू एकजुट हुन छलफल गर्न थाले । छलफल शुरू हुनासाथ कसरी मृग मार्ने भन्ने कुरा होइन, मृगको मासु कसरी बाँड्ने भन्नेमा अल्झियो ।

‘मुटु त मलाई चाहिन्छ । अनि मैले नै सबैभन्दा ठूलो हिस्सा पाउनुपर्छ । म नै शिकारको नेता हुँ ।’

‘ए...मुटु त मेरो ! मैले नै सबैलाई उछिनेर मृग लखेटेको हो । अनि खुट्टा पनि मलाई । म नै सबैभन्दा अनुभवी शिकारी हुँ । यो पटक मेरो पालो हो ।’

‘नाइँ नाइँ । कलेजो मलाई । म नै रुखमा चढेर मृगको बाटो हेर्ने हो । अनि सिङ पनि मलाई । म युवा शिकारी हुँ, नयाँ ऊर्जा ल्याउँछु ।’

‘मलाई त मासुको टुक्रा–टुक्रा मात्र भए पनि हुन्छ । तर छाला मलाई ।’

‘हामीले त सानो अङ्ग मात्र मागेका छौँ । जिब्रो हामीलाई, कान हामीलाई । हामी त सधैँ साथ दिन्छौँ नि ।’

बहस लम्बियो । शिकारीको दलबलमा आफैँ हराउने र ठूलो भाग पाउने छाँट नदेखेपछि एकथरि छलफलमा जान छाडे । मुख्य दुई शिकारीबीच मात्रै भागबण्डाको कुरा भयो । एउटा शिकारीलाई डाक्टरले शिकार गर्न जानू, तर शिकार भेटे पनि नखानू भनेका छन् । खानै नमिल्ने शिकार आफ्नो भागमा पार्ने कुरो पनि भएन । त्यसैले उनी शिकारको नेतृत्व आफूले गर्दै शिकारपछिको ठूलो भाग अर्कोलाई दिन सहमत भए ।

नयाँहरूको भागबण्डा सुनेपछि पुरानाहरूको मनमा ढ्याङ्ग्रो बजेको छ । अब मृगको मुटु कलेजोदेखि राजखानीसम्मको स्वादमा पल्केका पुरानाहरूले पनि यसैगरि मिलेर भागबण्डा गर्ने होलान् । यसपालि खोलावारि, खोलापारि, बाटोमुनि, बाटोमाथिका को कोसँग मिल्ने हुन् ? सबै मिले भने जङ्गलमा अब नयाँ र पुराना शिकारी दुईतिर बाँडिएर मृग खोज्न निस्कने भए । तर जङ्गलमा मृग त छ, भए पनि शिकारको योजनाभन्दा शिकारपछिको भागबण्डामा मात्रै रुमल्लिएका यिनीहरू कसले मृग समात्न सक्लान् त ? मृग समातेपछि मुटु, कलेजो र राजखानी आफूलाई मात्रै राखेर गाउँलेलाई भुत्ला र नङ्ग्रामा मात्रै टार्लान् कि मिलाएर बाँड्लान् ? सोच्दासोच्दै बिहान अबेर भैसकेछ । हजुरबा ओछ्याउनबाट उठे र लोटा बोकेर जङ्गलतिर कुदे ।

-उज्यालाे बाट साभार

सम्बन्धित समाचार