मिलन तिमिल्सिना
फागुन २१ गते तोकिएको चुनावको मिति नजिकिँदै गर्दा चुनावको सुनिश्चितता चाहिँ टाढिँदै गएको छ । सोमवार एकैदिन भएका घटनाले चुनाव होला र भन्ने शङ्का जन्माएका छन् । सिंहदरबारमा प्रधानमन्त्रीको आह्वानमा भएको सर्वपक्षीय बैठक हुँदा नवयुवाको एक समूह माइतीघरमा प्रदर्शन गर्दै थियो, केपी शर्मा ओली र शेरबहादुर देउवा महाराजगञ्जमा भेटेर पुराना दिन फर्काउने सल्लाह गर्दै थिए । चुनाव र परिवर्तनको झिनो आशा त्यही रात रवि लामिछाने र बालेन शाहले कमलपोखरीमा भेटेर जगाएका थिए, तर नयाँ शक्तिहरू ध्रुवीकृत भएको देख्न चाहनेहरूले त रवि र बालेनसित कुलमानलाई पनि देख्न चाहेका छन् ।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्यो । बैठकमा निर्वाचन आयोग, सुरक्षा निकाय, नागरिक समाजसँगै नवयुवा र नयाँ पुराना दलका प्रतिनिधि आमनेसामने भए । चुनावको सुनिश्चितता खोज्न बसेको बैठक चुनाव अनिश्चित होला भन्ने संशयका साथ सकियो । चुनावी वातावरण सहज छ कि छैन भन्नेमा सबै अन्योलमै देखिए । दलका प्रतिनिधिले चुनावी वातावरण र सुरक्षामा प्रश्न उठाए । नवयुवाका प्रतिनिधिले विदेशमा रहेका नेपालीको मताधिकारको सुनिश्चितता खोजे । नागरिक समाजका प्रतिनिधिले चुनावसम्बन्धी कानून र सरकार र दलबीच विश्वासको वातावरण नबनेकोमा चिन्ता गरे । न सरकारले सुरक्षा र विश्वासको वातावरणको गयारेण्टी गर्याे, न निर्वाचन आयोगले प्रवासी नेपालीलाई मताधिकार दिन यो पालि प्राविधिक तयारी र समय पुग्दैन भन्यो । बैठक सकिँदै गर्दा शिक्षामन्त्री महावीर पुनले बैठकको उपलब्धि खै भन्दै प्रधानमन्त्री र अरू मन्त्रीहरूसँग प्रश्न गरे । आफैँ समेत संलग्न सरकारले चुनावको तयारीमा ढङ्ग पुर्याउन नसकेको भन्दै मन्त्री पुन आँफै असन्तुष्ट देखिए ।
प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नवयुवा प्रतिनिधिहरू पनि सरकारसँग सन्तुष्ट देखिएनन् । त्योभन्दा बढ्दा असन्तुष्टि सिंहदरबार बाहिर माइतीघरमा देखिन्थ्यो । सरकारसँग पहिल्यैदेखि असन्तुष्ट नवयुवाको एक समूहले चुनावको विरोध र सर्वपक्षीय सरकारको माग गरे । कार्की नेतृत्वको सरकार नवयुवाको भावना र मर्मअनुसार चल्न नसकेको आरोप लगाए र चुनावका लागि सर्वपक्षीय सरकार गठन गर्न माग गरे ।
सिंहदरबारभित्र छलफल र बाहिर प्रदर्शन भैरहेकै बेला महाराजगञ्जमा केपी शर्मा ओली र शेरबहादुर देउवाले फेरि पुरानै गुफ्तगु गरे । नवयुवाहरूको आन्दोलनले पाखा लगाएका दुई शीर्ष नेताहरूको यो भेट प्रतिनिधिसभा पुनर्स्थापनामा केन्द्रित थियो । संसद् ब्युँताउन संस्थागत निर्णय गरिसकेको एमाले र संस्थागत निर्णय नभए पनि कांग्रेसको संस्थापन समूह अहिले एक ठाउँमा छन् । गएको मङ्सिर १९ गते ओली र देउवाको पहिलो भेटपछि कांग्रेसका ८ जना सांसद वारेसनामामार्फत संसद् पुनर्स्थापनाको रिट लिएर सर्वोच्च गए । एमाले त पहिले नै सर्वोच्च गइसकेको थियो । ओली र देउवाको भेटपछि संसद् ब्युताउँन पूरक निवेदन दिने तयारी शुरू भएको छ । शुरूमा एमालेले मात्र उठाएको पुनर्स्थापनाको मुद्दामा धेरै दल र समूह मिसिँदै गएका छन् । सोमवार सिंहदरबारमा भएको सर्वपक्षीय बैठकमा प्रचण्ड नेतृत्वको नेकपाका नेता वर्षमान पुनले फागुन २१ मा चुनाव नभए संसद् पुनर्स्थापना हुने कुरामा प्रष्ट रहनुपर्ने बताए । एमाले र कांग्रेस वरपरका पुराना शक्तिहरू फागुन २१ मा चुनाव हुन नसके संसद् जगाएर सर्वपक्षीय सरकार गठन गर्ने विकल्पमा केन्द्रित देखिन्छन् ।
तर त्यही दिन रवि लामिछाने र बालेनको भेटले पुराना शक्तिहरूलाई केही झस्काएको छ । ओली र देउवाको भेटवार्ता सकिएलगत्तै कमलपोखरीमा रवि र बालेनबीच ६ घण्टा लामो भलाकुसारी भयो । सहकारी ठगीको आरोपमा आठ महिना जेल बसेर धरौटीमा रिहा हुनासाथ रास्वपा सभापति रवि लामिछाने चुनावमा होमिएका छन् । संसद् पुनर्स्थापना हुनै नसक्ने बताउँदै आएका लामिछानेलाई फागुन २१ को चुनावमा पुराना शक्तिप्रति असन्तुष्ट मतदाताको भोट आफ्नो पार्टीलाई आउला भन्ने आश देखिन्छ । तर काठमाण्डौका मेयर बालेनको व्यक्तित्व र मन्त्री कुलमान घिसिङको सक्रियतालाई उनले चुनौती देखेका छन् ।
नवयुवाको रोजाइमा परेर मन्त्री भएका र नयाँ पार्टी खोलेर चुनावको तयारीमा लागेका कुलमानलाई समेट्न रविले बल गर्दै आएका छन् । कुलमानसँग मिलेर एउटै पार्टी बनाउने प्रयास रविकै कारण असफल भयो । तर चुनावमा एकले अर्कोको भरथेग गर्नुपर्ने बाध्यता दुवैलाई छ । नेपाली समाजमा बालेन, रवि र कुलमानका आ–आफ्नै खालका छवि छन् । नागरिकको आक्रोश र भावनालाई आवाज दिन रवि, युवाको चाहना र सपना बुझ्नेमा बालेन र कामले युवाको मन जितेका कुलमान अहिलेको युवा र नवयुवाका आदर्श हुन्, भलै तीनै जना अनेक कमजोरीका गुड किन नहुन् । चुनावमा यी तीन जना साथ नभए पुरानै शक्ति सत्तामा फर्कने निश्चित छ भन्ने कुरा नवयुवाले पनि बुझिसके । नवयुवाको विश्वास जित्न बालेन र कुलमानसित रविले सहकार्यको दौडधूप गरेका हुन् भने त्यो स्वागतयोग्य छ ।
देशलाई भदौ २२ को अवस्थामा फर्काउन ओली र देउवाले भलाकुसारी गरेकै दिन रवि र बालेनबीच दोस्रोपटक भेट भएको हो । यसअघि उनीहरूको पहिलो भेट आइतवार भएको थियो । सोमवार रास्वपा नेता असिम साहको म्युजिक कम्पनी कमलपोखरीमा मध्यरात अबेरसम्म भएको दोस्रो भेटमा नवयुवा आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न चुनावको विषयमा कुराकानी भएको छ । रविले फागुन २१ को आमचुनावमा बालेनलाई नै प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्ने प्रस्ताव राखेको सुनिन्छ । थुनामुक्त भएसँगै फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा उम्मेदवार बन्ने रविको बाटो खुलेको छ, तर चुनाव जिते पनि मन्त्री बन्न निर्वाचन ऐनले रोक्छ ।
सोमवारको भेटमा रवि र बालेनले के कुरा गरे भन्ने नखुले पनि दुवै पक्षका समर्थक उत्साहित छन् । यो भेटवार्ताको चाँजोपाँजो मिलाउने रास्वपा नेता असिम साहले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद शुरुआत भएको छ । रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’
यो भयो भेटको जस लिन खोज्ने मानिसको भनाइ । तर रवि र बालेनको भेट देशले खोजेको आशाको शुरुआत हो भन्ने कुरा त्यतिबेला मात्र प्रष्ट हुनेछ जब बालेन र रविसँगै कुलमान पनि एकसाथ हातेमालो गर्न अघि सर्नेछन् । नवयुवाले पत्याएका यी तीन जना एक ठाउँमा नआए कि त संसद् पुनर्स्थापना हुन्छ, पुनर्स्थापना नभएर चुनावै भैहालेछ भने फेरि पनि तिनै शक्ति सत्तामा फर्किन्छन् जसलाई भदौ २३ र २४ को विद्रोहले विस्थापित गरेको थियो ।