पुर्खाले देखाएको बाटो एवं कृषिप्रधान देशको अबको मार्ग

5.1k Shares

-दुर्योधन बस्नेत 

नेपाली हामी साह्रै भाग्यमानी छौं। प्रकृतिले हाम्रो देशलाई धेरैथोक दिएको छ। परिवर्तित समय अनुसार हामी हिंड्न भने जानेनौं र शासकहरूले पनि समृद्धिको बाटो समात्न जानेनन्। तर पनि हाम्रा पुर्खाहरूले लामो जीवन भोगाइका क्रममा प्राप्त अनुभव र ज्ञान समेटेर पछिल्ला पुस्ताका लागि जीवन उपयोगी खुराकका रूपमा थुप्रै उखान-टुक्काहरू छाडेर गएका छन्। तीमध्ये कृषि पेसाको महत्त्वमा प्रकाश पार्न बनाइएको एउटा उखान थियो "उत्तम खेती, मध्यम व्यापार, अधम जागिर"। हाम्रा पुर्खाले यो उखान हचुवाका भरमा बनाएका थिएनन्।

जीवनको लामो अनुभव समेटेर बनाएका थिए। उनीहरूले देखाएको बाटो सही थियो। त्यो बाटो परित्याग गरेकाले आज हामी आर्थिक रूपमा पछि परेका हौं। पुर्खाले देखाएको बाटो अपनाएर कृषिलाई प्राथमिकता दिएको भए हामी आज विकासोन्मुख देशहरूमध्ये पनि सबैभन्दा गरिबको सूचीमा पर्ने थिएनौं।

बरु, हाम्रा पुर्खाहरूले खेतीलाई उत्तम मान्नुका बलिया आधार छन्। हाम्रो देश कृषिप्रधान देश हो। भनिन्छ, देशको आयको पहिलो आधार कृषि हो। यसलाई सबैले स्वीकार गरेका छन्। सरकारलाई राजस्व बुझाउने ठूला उद्योगहरू धेरै कृषिमै आधारित छन्।

हामी प्राकृतिक स्रोत र साधनमा धनी छौं। हाम्रो भूबनोट हिमाल, पहाड र तराईमा विभाजित छ। देशको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत हिमाल, १७ प्रतिशत तराई र ६८ प्रतिशत भाग पहाडी क्षेत्रले ओगटेको छ। यही भौगोलिक विविधताअनुसारको बहुउपयोगी जल, जमीन, जंगल उपलब्ध छन् हामीसँग। त्यसैले त हिमाली र पहाडी भेगमा आर्युवेदिक औषधिको रूपमा प्रयोग हुने जडिबुटीदेखि औषधीय गुण भएका जौ, फापर, कोदो, आलु, मकै, गहुँजस्ता खाद्यान्न पाइन्छ भने स्याउ, सुन्तला, आरु, आलुबखडा, लप्सी जस्ता फलफूलहरू पनि प्रशस्त छन्। 

यसैगरी अन्नभण्डार मानिने तराई भेगमा प्रशस्त मात्रामा धान, मकै, गहुँ, दालजस्ता खाद्यपदार्थ र उखु, जुट, सुर्ती, कपास र चिया जस्ता कृषिजन्य उत्पादन पनि उत्पादन हुन्छ। साथै आलु, गोलभेंडा, बन्दा, काउलीजस्ता तरकारी र आँप, लिची, भुइँकटहर, रुख कटहर, मेवाजस्ता फलफूलको पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ। हाम्रो देशमा एउटै वस्तु अलग-अलग हावापानीमा उत्पादन हुन्छ। जस्तैः हिमाल, पहाड र तराई तीनवटै हावापानी भएको माटोमा आलु फल्छ भने धान गर्मी मौसम भएको झापादेखि हिमाली मौसम भएको जुम्लासम्ममा हुन्छ।

नेपालमा ६ हजारभन्दा बढी नदीनाला रहेका छन्। तिनबाट ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने गरिएको छ। हामीसँग भएको जलस्रोतलाई विद्युत् उत्पादन र सिँचाईमा उपयोग गर्न सक्यौं भने हामी कृषिमा आत्मनिर्भर हुन सक्छौं। खाद्यान्न आयात गर्ने होइन, बरु निर्यात गर्न सक्षम हुने छौं। भनिन्छ, देशको ७० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा संलग्न छन्। कुल क्षेत्रफलमध्ये २८.७५ प्रतिशत जमिन कृषियोग्य छ भने कृषियोग्य जमिनको २९.७४ प्रतिशत सिँचाईयोग्य छ। बाँकी जमिनमा खेती गर्न आकासे पानीमा भर पर्नुपर्ने अवस्था छ। तर, हामीले थप विद्युत् उत्पादन गरेको खण्डमा आकासे पानीमा भर पर्नुपर्ने जमिनलाई पनि हराभरा बनाउन सकिन्छ। नजिकै रहेको नदीको पानी तानेर सिँचाई गर्न सकिन्छ।

जलस्रोतको अभाव खेपिरहेका कतिपय विकसित देशहरुले पनि अन्यत्रबाट पानी ल्याएर मरुभूमिको बन्जर जमिनलाई समेत हराभरा बनाएर कृषि उत्पादन गरी निर्यात गर्न सक्षम भएका छन्। हामीसँग त प्रशस्त पानीका स्रोत उपलब्ध छन्। अर्को तरिकाबाट पनि आकासे पानीमा भर पर्नुपर्ने कृषियोग्य जमिनमा सिँचाई गर्न सकिन्छ।

आवश्यकताअनुसारको पोखरी निर्माण गरेर पोखरीको माथिल्लो सतहमा पानी जमिनले नसोसोस भनेर प्लास्टिक बिछ्याइन्छ। यसलाई प्लास्टिक पोखरी भनिन्छ। हिउँदे बालीको लागि यो प्रविधि उपयुक्त हुन्छ। हाल यो सिंचाई प्रविधि प्रयोगमा आइसकेको छ। खास गरेर ग्रामीण भेगमा तरकारी खेतीका लागि यो प्रविधि अपनाइने गरिएको छ। यस कार्यमा राज्यबाट समेत पहल र आवश्यकता अनुसार सहयोग गर्नु जरुरी छ।

कृषिको परिपूरकको रूपमा रहेको पशुपालनका लागि आवश्यक चरण क्षेत्रको पनि अभाव छैन। देशको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत भाग जङ्गलले ढाकिएको छ। बन जङ्गलबाट पशुपालनका लागि आवश्यक सोतर, घाँस सहजै पाउन सकिन्छ र त्यसबाट खेतीका लागि आवश्यक कम्पोस्ट मल पनि उत्पादन हुन्छ। यसैगरी थुप्रै प्राकृतिक तालतलैयाहरू रहेकाले कृषिकै एउटा अङ्ग माछा पालन पनि आयस्रोत बढाउने उपायको रूपमा उपलब्ध छ। माछासँगै कुखुरा र बंगुर पालन पनि गर्न सकिने हुँदा त्यसबाट राम्रो आम्दानी गर्न सकिन्छ।

दुःख लाग्छ, कृषिमा यति धेरै सम्भावना हुँदाहुँदै पनि आज ती कृषि योग्य सयौं रोपनी, बिघा भूमि कृषिमा काम गर्ने जनशक्तिको अभावमा बाँझो बनेर खेर गइरहेको छ। अनि हामी भने विदेशबाट महँगो मूल्यमा खाद्यान्न, तरकारी, फलफूल आयात गरेर उपयोग गर्न बाध्य छौं।

उपाय के त?

यतिबेला ग्रामीण भेगका पनि धेरै ठाउँमा मोटर बाटो पुगिसकेको छ। त्यसले कृषि उत्पादनका लागि आवश्यक मल, बीउ, आधुनिक कृषि औजार वा प्रविधि गाउँसम्म र उत्पादित सामान बजारसम्म पु¥याउन विगतमा जस्तो समस्या छैन। सरकारले समयमा कृषकहरूलाई मलखाद र गुणस्तरीय बीउ खेती गर्ने समयमा उपलब्ध गराइदिए पुग्छ। यसको साथै कृषकहरूले उत्पादन गरेका वस्तुहरू—खाद्यान्न, तरकारी वा फलफूल—सरकार आफैले उचित मूल्यमा खरिद गरिदिने वा बजार व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ। अहिलेको दलाली प्रथा अन्त्य गरिनुपर्छ। यसरी उत्पादित वस्तुले सहज रूपमा बजार पाए र उचित मूल्य प्राप्त भयो भने किसानलाई पनि खेती गर्न उत्साह लाग्छ।

परम्परागत ढङ्गले खेती गर्नुभन्दा पनि सम्बन्धित विज्ञहरूले माटो परीक्षण गराएर जुन खेती वा बाली लगाउँदा उपयुक्त हुन्छ, सोही खेती गर्ने चलन सुरु गर्नुपर्छ। उदाहरणका लागि, विगतमा खाद्यान्न लगाउने गरिएका ठाउँमा फलफूल खेती राम्रो हुन्छ कि? वा औषधिजन्य जडिबुटी उपयुक्त हुन्छ कि? वा असल जातका मूल्यवान् रुख लगाउँदा पो हुन्छ कि? विचार गरेर खेती गर्नु उपयुक्त हुनेछ।

अहिले अर्को एउटा अवसर पनि प्राप्त भएको छ। धेरै नेपाली युवा विदेश गएर लामो समय कृषिमा काम गरेर फर्केका छन्। तिनको अनुभव, सीप, क्षमता र प्रविधिलाई नेपालको कृषि प्रणालीमा सदुपयोग गर्न सकियो भने कृषि व्यवसायले नसोचेको फड्को मार्नेछ। त्यस्तो जनशक्ति राज्यले नै खोजेर फाइदा लिन सक्नुपर्छ। यति गर्न सके न हामी कसैको निगाहमा बाँच्नुपर्छ न रोजगारी खोज्न घरखेत बन्धकी राखेर विदेशिनु पर्छ। यो कुरा तपाईंहरूलाई कस्तो लाग्यो? नेपालको वास्तविकता यही हो। जय देश। ००

सम्बन्धित समाचार