पिण्डदेखि ब्रह्माण्डसम्म समयको महत्व

7.7k Shares

-श्वामी सत्यव्रत

आफू नमरी स्वर्ग देखिन्न भन्नुको अर्थ जबसम्म आफैमाथि बज्रपात हुँदैन, त्यतिबेलासम्म समयको महत्व बुझ्न सकिदैन र समस्याको बोध पनि हुन सक्दैन । हाम्रो नेपाली समाजमा एउटा उखान बडो मसुर  छ कि कुनै पनि बेलामा कही कतै कुनै काममा जान वा कार्यक्रममा जान वा कार्यालयमा जान, कही पनि किन नहोस् अलिकति ढिला भयो भने नेपाली समय त हो नि चल्छ भन्ने गर्दछन् । यसको मूल्य कति चुकाउनु पर्छ भन्ने कुरा उनीहरु आपैmले एकिन गर्न सकेका हुँदैनन् । एक मिली सेकेण्डदेखि पूरै जीवनसम्मको समयको महत्व थाहा पाउनको लागि विविध अवस्थाको बारेमा अलिकति ज्ञान हुनु जरुरी छ र ती अवस्थाहरुलाई शुत्रगत रुपमा मैले यहाँ राखिदिएको छु । यसलाई  जसले सही ढङ्गले आफ्नो जीवनमा उतार्दछ र समयको महत्वलाई बुझ्दछ, ऊ जीवनका कुनै पनि मोडमा पछुताउँनु पर्दैन । पश्चाताप गर्नु भनेको आत्मघात हो, मरण हो । 

कुनै पनि धाबक जसले ओलम्पिक खेलमा भाग लिएको हुन्छ, उसले एक मिलि सेकेण्डको कारणले गर्दा स्वर्ण पदक पाउनु पर्नेमा रजत पदक पाउन पुग्छ  । उसको जीवनमा के वित्दछ होला, एक सेकेण्डको कारणले गर्दा उसले स्वर्ण पदक गुमाउनु पर्यो । स्वर्ण पदक र रजत पदकको भेद त सबैलाई थाहा नै छ, त्यसको के महत्व हुन्छ । त्यसैले एक मिलि सेकेण्डको समयको बारेमा थाहा पाउन वा एक मिली सेकेण्डको कति महत्व छ भन्ने कुराको बोध त्यो ओलम्पिकको धाबकलाई थाहा हुन्छ । त्यसैले त्यो एक मिली सेकेण्ड समयको महत्व थाहा पाउनको लागि कि त ओलम्पिक खेलको खेलाडी नै हुनु पर्यो कि त त्यो खेलाडीबाट थाहा पाउनु पर्यो । 

एक सेकेण्डको महत्व थाहा पाउनको लागि एउटा सवारी साधन चलाएको चालकलाई  सोध्नुहोस्, जो दुर्घटनाको  मुखबाट बचेको हुन्छ । एउटा कार चालक बाटोमा प्रति घण्टा ८० कि.मि. प्रति घण्टाको गतिमा गइरहेको बेलामा पहाडको माथिबाट यमानको ढुङ्गा खारको एकदम पछाडि बज्रियो भने त्यो व्यक्तिको अवस्था कस्तो होला ? यदि त्यो व्यक्तिले एक सेकेण्ड कम गतिमा कार चलाएको भए त्यसको अवस्था के हुँदो होला । त्यो त्यही व्यक्तिले मात्रै कल्पना गर्न सक्दछ, यस्ता परिस्थिति र घट्नाहरु धेरै हुन्छन्, त्यसैले एक सेकेण्डको महत्व थाहा पाउनको लागि दुर्घटनाबाट बचेको  व्यक्तिलाई सिक्नु पर्छ वा थाहा पाउनु पर्दछ ।

एक मिनेटको महत्वको बारेमा थाहा पाउनको लागि कुनै व्यक्तिले कतै जाने क्रममा जहाज छुटाउँछ नि त्यसबाट सिक्नु पर्दछ । अति नै जरुरी कामले कतै जान लागेको व्यक्ति कुनै कारणले एयरपोर्टमा एक मिनेट ढिलो पुग्दा जहाजले भूईँ छोडिसकेको अवस्थामा त्यो यात्रुको अवस्था कस्तो होला ? भूईँमा गुडिरहेको अवस्थामा त त्यो जहाजलाई रोक्न सकिन्थ्यो तर जब आकासमा गइसक्यो, त्यसको कुनै उपाय नै हुँदैन । एक मिनेटमात्रै पहिले त्यो व्यक्ति एयरपोर्टमा पुगेको भए, उसले जहाज छुटाउँनु पर्ने थिएन । विचार गरौं त एक मिनेटले कति ठूलो महत्व राख्यो यहाँ तर मानिसहरुले नेपाली टाइम भन्दै घण्टौ घण्टा समय बर्बाद गरिरहेका छन् । उनीहरुले समयलाई बर्बाद गरेका होइनन् कि आफैलाई बर्बाद गरिरहेका छन, जतिबेला यसको बोध ती व्यक्तिहरुलाई हुन्छ नि त्यतिबेला अति नै ढिलो भइसकेको हुने छ । 
एक घण्टाको समयको महत्व थाहा पाउनको लागि कसैलाई भेट्नको लागि प्रतिक्षारत रहेका व्यक्तिहरुलाई सोध्नु पर्छ । कसैको प्रतिक्षा गर्न कति कठीन हुन्छ  तर समयको  महत्वलाई  नबुझी नचाहिँदा उरण्ठ्याउला गफमा समय बर्बाद गर्दा समय गएको पत्तै नै हुँदैन । समय नै भगवान हो, यसको सही सदुपयोग गर्न सक्नु पर्छ, हरेक व्यक्तिले आफ्नो समयलाई बर्बाद गर्नु भनेको आफ्नो जीवनलाई नै बर्बाद गर्नु हो । 

एक हप्ताको महत्व थाहा पाउनको लागि साप्ताहिक पत्रिका चलाएको सम्पादकलाई राम्ररी बुझ्नु जरुरी हुन्छ । गरीवी मनुष्यमात्रको लागि अति ठूलो अभिशाप हो,  यो मनुष्यको विकासको लागि बाधक पनि हो । मानिसले कुनै पनि कार्य जीवन यापनको लागि गरेको हुन्छ र त्यस्ता व्यक्तिले हात मुख जोर्ने समयस्यामा नै अल्झिनु परेको हुन्छ । त्यो भन्दा बाहिर सोच्ने त्यो  व्यक्तिलाई समय नै हुँदैन । साप्ताहिक पत्रिका चलाउने सम्पादकले एक हप्तामा कसरी आफ्ना कर्मचारीलाई तलब खुवाउने, कहाँबाट आर्थिक जुटाउने भन्ने बारेमा जुन सोचाइ राख्दछ । उसको सारा जीवन नै हप्ता हप्ता गरेर नै  वितिरहेको हुन्छ । ती हरेक हप्ताहरु कति कठीन हुन्छन् भन्ने बारेमा त्यही सम्पादकबाट सिक्नु पर्दछ र त्यसको महत्वको बारेमा पनि उसैबाट सिक्नु पर्दछ । 

एक महिनाको महत्व थाहा पाउनको लागि अघिल्लो महिनाको ऋण तिर्नको लागि अग्रिम पैसा लिई लिई तलब लिने बेलामा आधा पनि बाँकी नरहने अवस्थाका कर्मचारीलाई सोध्नु पर्दछ । त्यो महिना उनीहरुको लागि अति नै लामो भइ रहेको हुन्छ । 

सक्छौ जागिर नखाऊँ, सक्दैनौ जागिर खाऊँ ।
झण्डमुनि बस, तर दबरबारमा नपस ।।

भनेर सरदार रणधीर सुव्बाले भनेका थिए । किनकि तलबले कति जना पालि न सकेको अवस्था छ ? नेपालको परिप्रेक्ष्यमा त जता पनि घुसखोरी मौलाएको देखिन्छ, यसको मुख्य कारण तलबले मात्रै आफ्नो दिनचर्या नचल्नु नै हो । कर्मचारीले महिना नवित्दै  नै आफूले पाउने तलब सिध्याई सकेका हुन्छन् । 

दश महिनाको महत्व थाहा पाउनको लागि बच्चालाई गर्भमा पालेर जन्माई पालण पोषण गर्ने आमालाई सोध्नु पर्छ । छोरा छोरीको बाबा बन्ने रहर त सबैलाई हुन्छ तर त्यसको मर्म छोरा छोरीको आमा हुनेलाई मात्र थाहा हुन्छ । मानिसमा दायाँ र बायाँ दिमाग हुन्छन्, जति बेलासम्म बच्चा गर्भमा रहन्छ, त्यतिबेलासम्म उसको दायाँ दिमागले काम गरिरहेको हुन्छ । दाँया दिमागले काम गरुन्जेल मानिसहरु योग नीद्रामा रहन्छन् । जब जन्म लिन पुग्दछ, त्यो बच्चाले सबै विर्सन्छ आफ्नो स्मृति र विस्मृतिमा रहन्छ । त्यो बच्चाको बायाँ दिमागले काम गर्न शुरु गर्दछ । जति बेलासम्म बच्चा आमाको गर्भमा हुन्छ, त्यतिबेलासम्म ऊ आत्माज्ञानी हुन्छ, त्यही समभ्m आर्जन गर्नको लागि मानिसले आफ्नो पुरा जीवन खपाउँछन् । यो दश महिनासम्म आमाले बच्चालाई गर्भमा राखेर दुःख सहन गरेर फेरी जुन पालन पोषण गर्नु पर्दछ, त्यो आमालाई दश महिनाको महत्वको बारेमा सोध्नु पर्दछ । 

एक वर्षको महत्व थाहा पाउनको लागि अन्तिम परीक्षामा असफल हुने विद्यार्थीलाई सोध्नु पर्दछ । वर्षभर विद्यार्थीले मेहनत गर्दछ, त्यसको लागि शुल्क बुझाएको हुन्छ, दिनहुँ समय लगाएर विद्यालय धाएको हुन्छ । यसको बाबजुद पनि जब विद्यार्थी अनुतीर्ण हुन्छ, उसकोभित्र भूँइचालो जान्छ । त्यो विद्यार्थीको पैसा र धन दुबैको बर्बादी हुन्छ, त्यसैले एक वर्षको महत्व थाहा पाउनको लागि अन्तिम परीक्षामा असफल हुने विद्यार्थीलाई सोध्नु पर्दछ । अचनाको पीरु खुकुरीले जान्दैन । 

पाँच वर्षको समयको महत्व थाहा पाउनको लागि आम निर्वाचनमा पराजित हुने नेतालाई सोध्नु पर्दछ । नेताले पाँच वर्षसम्म अर्को चुनाब जितौला भनेर आफ्ना कार्यकर्ताहरुलाई रोजगारी लगायत अन्य आपूmले गर्नु पर्ने कामहरु निष्ठा पूर्वक गरिरहेको हुन्छ तर चुनाबको बेलामा धादली गरेर पैसा बाँडेर अर्को नेताले जित्यो भने त्यो नेताले पाँच बर्ष कुर्नु पर्ने हुन्छ । त्यसैले यो समयको महत्व माइक्रोबाट म्याक्रोतिर आएको छ, सुक्ष्मबाट स्थुलतिर आएको छ । 

बाह्« वर्षको समयको महत्व थाहा पाउनको लागि भक्त वा तीर्थयात्रीहरु जसले कुम्भमेलालाई पर्खिरहेका हुन्छन्, उनीहरुलाई सोध्नु पर्दछ । बाह्« वर्षपछि आउने कुम्भमेलाको लागि उनीहरुले आफ्नै किसिमले अनेक गरेर साधन स्रोतको व्यवस्था  गरेका हुन्छन् । यदि कुनै कारणले उनीहरु त्यो मेलामा सहभागी हुन पाएनन् भने उनीहरु अर्को बाह्« वर्ष कुर्नु पर्ने हुन्छ । त्यसैले ती भक्त वा तीर्थयात्रीहरुको सपनाको सम्मान गर्दै त्यो बाह्«  वर्षको समयको महत्व कति भन्ने बारेमा उनीलाई नै सोध्नु पर्दछ । सबैले आफ्नो आफ्नो समयको महत्वलाई बुझ्नु जरुरी छ । 

अब सम्पूर्ण जीवनको महत्व र रहस्य थाहा पाउनको लागि एउटा आत्मवेत्ता पुरुषलाई सोध्नुहोस्, जसप्रति तपाईको विश्वास र भरोसा छ ।    

सम्बन्धित समाचार