-डा शास्त्रदन्त पन्त
नेपाल पत्रकार महासंघले नेपाली पत्रकारिता उद्योगको कुनै पनि क्षेत्रमा विदेशी लगानीको निरन्तर विरोध गर्ने गरेको छ। विदेशी लगानीकर्ताहरू निजीकरण र विचार स्वतन्त्रताको खोल ओडेर विपन्न र अर्धचेतन समाज/राष्ट्र खोजेर आ-आफ्ना राष्ट्रका सरकारका नीति तथा राष्ट्रिय हितका लागि संसारमा जनमत सिर्जना गर्न सक्रिय र दृढ पाइन्छन्।
नेपाल पत्रकार महासंघले यदाकदा सरकारले दीर्घकालीन ठोस संचार नीति निर्धारण नगरेको तथा आवश्यक ऐन नियम नबनाएकाले विदेशी हस्तक्षेप बढेको भन्ने आरोप पनि लगाउँदै आएको छ। तर पनि सरकारले यस युगको संचारको महत्व नबुझ्नु र संचार जगत्ले आफ्नो देशको राष्ट्रियताप्रति संवेदनशील हुन नसक्नु एउटा बिडम्बना हो, नेपालको दुर्भाग्य हो र यो नेपाली हुँ भनेर गर्व गर्नेहरूको लागि गहिरो दुःख हो।
यतिखेर सबै तह र तप्काका मानिस निहित स्वार्थ र अगाडिको भागको कुरामा मात्र तल्लिन पाइन्छन्। मैले यी गतिविधिले दूरगामी असर के पर्दछ भन्ने कुरामा मात्र चिन्ता गरेको छु। यो चिन्ता नगर्ने हो भने नेपालको भविष्य अन्धकारमय हुनेछ।
एउटा ८० वर्षको मानिसले आफूले खान पाउँदैन भनेर आँपको रूख नरोप्ने हो भने अथवा मैले उपभोग गर्न पाउँदिन भनेर १२० वर्षपछि पाको हुने सालको रूखको हेरचाह गरिन भने भविष्यले केही पाउने छैन। यो मनोदशा सबै क्षेत्रमा हावी छ। यतिखेरको पहिलो आवश्यकता छ मनोदशाको रुपान्तरण । त्यसकाे अभिभारा इमान्दारीपूर्वक संचार जगत्ले नै लिनु पर्दछ। साँघुरो सोच
यस सोचको बारेमा अलिकति स्पष्ट पार्न आवश्यक ठान्छु। अहिले दलहरूका कृत्यहरू र आन्दोलनरत विभिन्न समूहका मागहरूलाई हेर्दा सबै अत्यन्त निहित स्वार्थ र साँघुरो आत्मकेन्द्रित कुराको सेरोफेरोमा सोच केन्द्रित भएका छन्। तराईका मानिसले आफ्ना माग राख्दा कर्णालीका मानिसले पर्ने र भोगेका दुःखलाई आत्मसात् गर्न सकेका छैनन्। कर्णालीका मानिसले आफ्ना माग राख्दा तराईका मानिसका समस्यालाई बुझ्न सकेको पाइँदैन।
एउटा जातिले अर्को जातिको दुःख देख्दैन, बुझ्दैन र आत्मसात् गर्दैन। एउटा जिल्लाकोले अर्को जिल्लाको, एउटा गाउँलेले अर्को गाउँको समस्या बुझ्न चाहदैन। यतिसम्म साँघुरो सोच छ कि एउटा गाउँलेले खाइरहेको मूलको पानी त्यहाँ सुख्खा बनाएर सबै अर्को गाउँमा लैजान चाहन्छ। एउटा फाँटको सिँचाइ बन्द गराएर अर्को फाँटमा लैजान चाहन्छ। सबै मिलेर सबैका लागि गर्ने भन्ने भावना छैन। सर्वे भवन्तु सुखिन भन्ने हाम्रो आदर्श मेकालीयन (मैकालेयन) पद्धतिबाट भत्किएको परिणति यो हो।
तपाईं मेलम्चीको विवादको कुरा गर्नुहोस् अथवा त्रिविवि लगायतका उच्च शिक्षाका अस्थायीलाई स्थायी गर्ने कुरा गर्नुस् वा प्रधानमन्त्री र वन मन्त्रीले आ-आफ्ना सेनाले वन मासेर आर्जन गर्ने कुरा लिनुहोस्, सबै मागप्रति यही साघुरो सोच पाइन्छ।
आरक्षण र समावेशी प्रजातन्त्रका कुरा गर्नेहरूका माग र कुरा गराइलाई सहज विश्लेषण गरेर हेर्दा पनि उनीहरूका मागका पछाडि ठीक त्यस्तै कुरा पाइन्छ, जुन कुनै कानूनको मस्यौदा गर्दा सम्बन्धित विभागले अतिरिक्त आर्जन गर्ने थलो राखेका हुन्छन्। महिला-वादीले महिलालाई समष्टिगत रूपमा माथि उठाउने कुरालाई भन्दा त्यसबाट आफूमाथि कसरी टप्किने भन्ने कुराले भूमिका खेलेको हुन्छ। यस्तै कुरा छन् आदिवासी, जनजाति, दलित, दुर्गमवासी, तराईवासी सबैका। यहाँ मेरो सोच के हो भने सबै ठाउँका सबैजना वा सबै घर एकैसाथ उठ्नु पर्दछ। कुनै पनि व्यक्ति वा परिवार स्थान, जात, धर्म, लिङ्ग, वर्णका आधारमा पछि पर्नु हुँदैन। तिनलाई माथि उठाउन राष्ट्रिय मूलनीति र कार्यक्रम चाहिन्छ। कार्यक्रमको कार्यन्वयन त्यस विषयको ज्ञान, सीप र क्षमता भएको जोसुकैले गरे पनि हुन्छ।
यतिखेर राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणको कुरा गर्ने कसैले पनि यी कुराको उठान गर्दैन, आफू प्रतिनिधि भएर जान खोज्दछ, गाडी चढ्ने, सुविधा लिने, धाक रवाफ जमाउने, केही आर्जन गर्ने र केही आफन्तलाई कहीँ बिकाउने उसको पर्दा पछाडिको लक्ष्य हुन्छ। आजको नेपाली संचारले यस्ता कुराको विचार पस्किदैन। राजनीतिको भाँडवाढीसँगै आफूलाई पनि पानीको धारसँगै बगाएको छ। किनारा लागेर उद्धार गर्ने काम गरेको छैन। राज्यको चौथो अङ्गका रूपमा आफूलाई प्रस्तुत गर्न सकेको पाइदैन। पत्रकार महासंघले विदेशी लगानीविरुद्ध गरेको विरोधलाई विश्लेषण गर्दा त्यो विरोध राष्ट्र र राष्ट्रियताका लागि नभई सौता पसेको रिसको रूपमा गरिएको पाइन्छ। यस्तो विरोध स्वार्थपरक हुन्छ, राष्ट्रपरक हुँदैन। यो सोच वर्तमान नेपाली जनमानसको सरदर छोटो र साँघुरो साइकलको प्रतिबिम्ब मात्र हो भन्नु पर्दछ।
राजनीति व्यक्तिवादी, स्वार्थपरक तथा अयोग्य र असक्षमहरूको बाहुल्य भएको कारण हो भनेर मान्ने हो भने पनि संचार जगतमा काम गर्नेहरूलाई प्रबुद्ध समाज मान्नु पर्ने हुन्छ। तर पनि यसमा राजनीतिक इतिवृत्तमा झैं भइरहनुले यसले समाज र राजनीतिलाई डोयाउला भन्दा राजनीतिले यसलाई डोऱ्याइरहेको पाइन्छ। संचार जगत्को यस्तो अवस्था सृजना हुनुमा शिक्षा नीति र शिक्षकको मनोदशालाई दोष दिनु पर्ने हुन्छ।
लर्ड मेकालेले फेब्रुअरी २, सन् १८३५ मा बेलायती संसदमा प्रस्तुत प्रस्ताव अनुसार पूर्वीय संस्कार र सभ्यतालाई विनाश गर्ने नीतिमा यतिखेर सारा पश्चिमी देश लागिपरेका छन्। संयुक्त राष्ट्रसंघ र विश्व सम्पदा बचाई राख्ने आश्चर्यको कुरा
पदाधिकारीहरू समेत यस खेलका खेलाडी हुनु सबैभन्दा प्रमाणित भएको छ। यो केवल संचार जगतका लागि मात्र होइन, नेपालीहरूका लागि पनि दुःखद कुरा हो। यसो भएमा नेपालमा सामाजिक रूपान्तरण, राजनैतिक रूपान्तरण र नेपालको आवश्यकता अनुरूप आर्थिक जगतको रूपान्तरण सम्भव हुने छैन।
हामीले हाम्रो समाजलाई शान्तिपूर्ण रूपमा रूपान्तरण गर्न सकेनौं भने हाम्रो राजनीति, अर्थतन्त्र र सोचमा पनि विदेशी प्रभुत्ववादको दबाब रहिरहनेछ। यो दबाबले अन्ततः नेपालको अस्तित्वलाई नष्ट गर्ने मार्गचित्र बन्नेछ। स्वतन्त्र देश भनिए पनि त्यो नाम मात्रको हुनेछ। उद्योग व्यापारमा नेपाल परनिर्भर रहिरहनेछ, राजनीति विदेशीहरूले परिचालन गर्नेछन् (गरिरहेका पनि छन्)। नेपालको मौलिक संस्कार र संस्कृति नाम मात्रको हुनेछ, हुँदै गएको छ।
नेपाली संचारकर्मीका अगुवाले बेलायत, अमेरिका र सबैभन्दा धेरै भारतीय पत्रकारबाट सिक्नुपर्ने हो, तर उनीहरूले आजसम्म सिक्न सकेका छैनन्। बेलायत सरकारभन्दा बेलायती सञ्चारकर्मी, बेलायती संस्कार, संस्कृति र राष्ट्रियताको वकालत गर्दछन्। यसरी त्यहाँको सञ्चार राजनीतिक दलको गुरु हो, बेलायती जस्तो पुच्छर छैन। अमेरिकाको सञ्चार जगत् अनुदार प्रवृत्तिको छैन।
तर त्यहाँको सञ्चार सम्बन्धी कानूनले आधारविहीन समाचार सम्प्रेषण गरेको खण्डमा हुने दण्ड सजाय यति धेरै छ कि उनीहरूले आधारहीन खबर संप्रेषण गर्दै नगर्ने संस्कारको नै विकास भएको छ। त्यहाँको सञ्चारले अमेरिकाका अव्यक्त मूलनीतिलाई कहिल्यै त्यागेको हुँदैन। अमेरिका विश्वको मालिक हो, त्यही अमेरिकाको शान हो, गौरव हो भन्ने कुरा अमेरिकी अरु सबै नागरिकभन्दा उत्कृष्ट हुन् भन्ने कुरा, विश्वको संस्कार संस्कृति बिगारेर त्यसलाई अमेरिकी बनाउने कुरा प्रमुख हुन्। यस प्रसंगमा अमेरिकीहरूलाई लक्ष्य गरेर बनाएका र विश्वलाई लक्ष्य गरेको सञ्चार जगत्का सामग्री नै फरक-फरक हुने गर्दछन्। भारतीय सञ्चार जगत्मा अमेरिका र बेलायत दुबै देशका संस्कारहरू छन्।
गाँसिएका छन्। अमेरिका झैँ भारतलाई क्षेत्रीय शक्तिमा प्रस्तुत गर्ने र भारतको राष्ट्रियता, क्षेत्रीय अखण्डताका लागि जे पनि गर्ने गर्दछन्। झुट्टा कुरा संप्रेषण पनि गर्दछन्, तथ्यलाई बंग्याउने पनि गर्दछन्, घृणा अफवाह फैलाउने पनि गर्दछन् तर भारतीय राष्ट्रियतालाई सँधै सर्वोच्च प्राथमिकता दिइएको हुन्छ। तर त्यसैबेला नेपाली संचारले त्यस्ता कुराको कुनै ख्याल वास्ता गरेको हुँदैन। कसैले कुरा उठायो भने उग्र/अन्धराष्ट्रवादी भन्ने तथा भारतलाई मन नपर्ने कुरा गर्नै हुँदैन भन्ने मानसिकताले ग्रसित भएर नेपालको सार्वभौमिकतामा आँच आउने कुरा गर्न समेत पछि नपरेको पाइन्छ। यसलाई अझ राम्ररी बुझाउन म यहाँ उदाहरण प्रस्तुत गर्न चाहन्छु। केही महिना पहिले भारतीय सीमा सुरक्षा बलले नवलपरासीको सुस्ता क्षेत्रमा नेपाली लालपूर्जा भएका नेपाली किसानका ३ हजार विघा जति जमिन मिचेर सीमा सडक निर्माण गरेर हजारौं नेपाली कृषकको विचल्ली भएका बेला सीमा बलले मिचेको भूभागको कुरालाई समर्थन दिन भारतीय संसदमा भएको बहस अनुरुप “नेपालीले भारतको भूभाग अतिक्रमण गरे” भन्ने खबर नेपालको एक नामुद दैनिकले प्रकाशित गर्यो। त्यो खबर दूतावासबाट तयार भएर आउने खबरमध्येको एक थियो। लामो समयदेखि विवादमा रहेको सुस्ता र नेपालको तरल राजनीति भएको अवस्थामा नेपालका ८५ ठाउँमा सीमा मिचान भएको र ती सबै भारतीयहरूले नेपालमा गरेका अतिक्रमण भएको कुरासँग कोही पनि सचेत नेपाली अनभिज्ञ छैन। पहिलो कुरा झुटो सामग्री संप्रेषण गर्न हुँदैन, दोस्रो कुरा सही भए पनि राष्ट्रियतामा आँच आउने कुरामा प्रतिकार गर्नु त कहाँ हो, कहाँ उल्टै गलत खबर संप्रेषण गर्नु राष्ट्रघाती काम हो भन्ने कुरा सञ्चारकर्मीले नबुझ्नु वा बुझ पचाउनुको पछाडि र कमको कुरा बाहेक अरु होइन। यो प्रवृत्ति भनेको धनको लोभमा छोरी श्रीमती बेच्ने भन्दा चर्को हो भनेर मान्नु पर्दछ।