- डी.बी. नेपाली ( कालीकाेट )
जनावरहरुमा कुकुरकाे महिमा गजबकाे छ ,उसकाे इमान्दारी ,उसकाे याेग्यता र सीप भन्दा पनि उसलाई ऐतिहासिक हिराे बनाउने ,विश्वमा उसकाे पहिचान दिलाउने उसंग एउटा अंग छ जसलाई मान्छेले पुच्छर भनेर न्वारन गरेकाे छ । याे कुकुरकाे पुच्छर हल्लियाे ( लिरीलिरी गर्याे ) भने चाप्लुसी या दलाली गरेकाे , मालिककाे आज्ञा मानेकाे,मालिकलाई माया गरेकाे भन्ने अर्थ लगाउने गरिएकाे छ भने कुनै मान्छे त्याे चाहे आम नागरिक हाेस,राजनीतिज्ञ हाेस या अन्य कुनै पनि पेशा गर्ने ब्यक्ति हाेस उ कसैले सम्झाएकाे मान्दैन,आफ्ना गल्तीहरु स्वीकार गर्दैन भने समाजले यस्ता ब्यक्तिलाई पनि कुकुरकाे पुच्छर जस्ताे भन्ने गरेकाे पाइन्छ । कुकुरकाे पुच्छर माथि उठे बाँङ्गाे हुन्छ तल झरेकाे छ भने त्याे कुकुर पागल भएकाे हुनसक्छ । यसरी कुकुरकाे पुच्छर अज्तर्राष्ट्रिय मानव चरित्रकाे सांकेतिक चिन्ह ( Symbol ) बनेकाे पाइन्छ ।
वर्तमान अवस्थामा विश्वकाे राजनीतिमा कुकुरकाे पुच्छरकाे चरीत्र हाबी हुँदै गएकाे देखिन्छ । युक्रेनमा जेलसिकीले त्यही चरित्र देखाउदा आज युक्रेनी जनताकाे के हालत छ ,देश विकासकाे दाैडमा कैयाैं बर्ष पछि धकेलीएकाे छ, गाजामा त्यस्तै छ,पाकिसतान ,श्रीलंका, बंगलादेशकाे हालत त्यस्तै छ । आज विश्व विकास हाेइन कुकुर पुच्छे राजनीतिक चरित्रकै कारण विध्वंसकाे बाटाेमा लम्कीदै छ कतै पनि शान्ति छैन? शास्त्रमा उहिलै जानेर नै लेखिएकाे रैछ । विनाश: काले, विपरित बुद्धी" बुद्धी विनाशकारी भयाे भने चरित्र र विचार पनि कुकुरकाे पुच्छर जस्तै जति ढुङ्राेमा राखे पनि साेझ्याे नहुने रहिछ । विश्वभरिका चाहे उहिलेका हुन या अहिलेका राजनीतिज्ञ सत्ता बाहिर हुँदा भिगी बिल्ली अनि सत्ताकाे लाठी हातमा आयाे कि जनता र बिराेधी कुट्न थाली हाल्याे । यस्ताे कुरामा नेपाली जनता र नेताहरु त गिनिज बुक अफ वर्ल्ड रिकर्डले सर्वे गर्याे भने पहिलाे नम्बरमा आउने थिए । ५०/६० बर्ष लगातार संघर्ष गरेर ,हजाराै जनताकाे वलि चढाएर संसार मै उच्तम र राम्राे संविधान बनाए त्यही सम्बिधानकाे बुइ चढेर सिंहासनमा विराजमान भए ,सत्ताकाे कुर्सीमा विराजमान भए कै भाेलीपल्टबाट पुच्छर ठाडाे पारेर ढुङ्ग्रै बाँङ्गाे पारिदिए ।
हाम्रा अहंकारी नेताहरु जस्तै एउटा मुर्खले कुकुरकाे पुच्छर साेझाे पारेरै छाेड्छु भनेर बाचा बन्धन गरेछ अनि कुकुरकाे पुच्छर बाँसकाे ढुङ्राेमा हालेर राखे छ बाह्र बर्षसम्म ढुङ्ग्राेमा राखे पनि कुकुरकाे पुच्छर सिधा भएन अनि त्याे कुकुरकाे पुच्छरमा फलामकाे छड बाँधेर राखे छ तर कुकुरकाे पुच्छर त साेझाे भएन बरु त्याे फलामकाे छड नै बाँङ्गाे भएछ ? याे कुकुरकाे पुच्छर साेझ्याउने राजनीतिक अभियानकाे अहिले नेपालमा खेती गरिदै छ । संविधान बनाए,संविधान मान्ने नमान्ने सबै त्यही संबिधान मानेर चुनाव लडी सत्तामा गए सत्ताकाे कार्यकारी प्रमुख भए पछि पट्कपटक त्यही संविधानकाे शल्यक्रिया गरेर संसद भङ्ग गरे । संविधानलाई हात्तीकाे दाँत बनाएर, भ्रष्टाचार, कमिशन, तस्करी, दलालीलाई कमण्डल बनाएर धनी बन्ने हाेडबाजी चलाए ।
सानु देश, साना मान्छे सानै घडाे भ्रष्टाचार, तस्करी, कमिशन, दलालीकाे हाेली वाटरले घडा भरिएर पाेखिन थाले पछि अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्र्म्पले अमेरिकाले दिने एड मा नेपालका राजनीतिज्ञले भ्रष्टाचार गरेकाे सार्वजनिक रुपमा भने पछि बल्ल नेपालका मिडियाले, पत्रकारले, नागरिकिमाजले, लेखक राइटर, कवि, साहित्यकार, कलाकार, युटुबेकार, केही काम नभएका बेकार, डाक्टर, वकिल, इन्जिनियर सबैले थाह पाए बिभिन्न देशमा सत्ता उलटपुलट गर्ने पछिल्लाे बाहुवली सुपर पावर जेनजीलाई उक्साए, ठुला दलका नेता भगाए, सिंहदरबार जलाए, सर्बाेच्च अदालत जलाए, सुपरमार्केट जलाए,मालपाेत जलाए नेताका घर जलाए अनि सत्तामा बिदेशी ऐजेन्ट ल्याए, देशलाई पचास बर्ष पछाडि पुर्याए, चुनावकाे नाैटंकी स्क्रिप्ट गरे फेरि तिनै भ्रष्ट नेतालाई चुनाव लड्न र वार्तामा आउन बाेलाए । प्रायः कतिपयले कुकुर पुच्छरे र छेपारे चरित्रमा सुधार नगरे पनि कतै गल्ती गरेकै हाैं कि भन्ने फिल गरेर वर्मान घटना क्रमलाई अंगिकार गर्दै जेन्जी मध्यका केही जेन्जी जसले वर्तमान अंतरिम सरकारकाे पुच्छर ढुङ्राेमा हालेर निर्देशन गर्दै छन् तिनैकाे अर्डर जाे आज्ञा मेरे आका भनेर वार्तामा बस्ने,चुनाव लड्ने तयारीमा (चुनाव हुन्छ हुँदैन भने अन्याेलकाे वातावरण भए पनि ) जुटीसकेका छन् भने कुकुरकाे पुच्छर जस्तै फलामकाे छडै बाँङ्गाे पार्ने शक्ति अंझै हामीसंग छ,धनसम्पत्ती हामीसंगछ अंझै पनि सबैभन्दा शक्तिशाली हामी नै छाै आँखिर हामी त बा हाैं अरु त दाजु भाउजु हुन् । बा´काे अगाडि दाजु भाउजुकाे के हैसियत ? अन्य दलहरु र आम जनताकाे के हैसियत ?
छ दर्जन मान्छे मार भनेर अह्राउने साउथ इण्डिया सिनेमाका भिलियनकाे कुकुर पुच्छे छेपारे राजनीति बाेकेका नेपालका राजनेता सेनाले लुकाएर सलाइन पानी चढाइ दिए पछि अहिले फेरी सडकमा अरिङ्गल बाेकेर जेन्जीलाई कुट्दै हिडेका छन् ,भ्रष्टाचार,कुशासन र नेपाे बेवी जस्ता सामाजिक असमानताहरु मेटाउने ,निर्मुल पार्ने भनेर ११/१२ बर्षका बच्चालाई गाेली थाप्न उक्साउने र गाेली ठाेक्न लगाउनेकाे बाेली र शैलीमा केही पनि फरक देखिन्न । एउटा जेबकतरालाई समात्ने क्षमता राख्ने प्रहरी प्रशासन सिंहदरबार ,सर्बाेच्च अदालत लगायत अन्य सामाजिक र प्रशासनिक कार्यालय जलाउने,प्रहरीका हथियार लुट्न,जेल ताेड्न लगाएर अपराधी भगाउनेहरुकाे भिडियाे सार्वजनिक हुँदाहुँदै पनि उनिहरु कसैलाई अहिलेसम्म कुनै साेधपुछसम्म पनि नगरिनु दाल मे काला त देखिन्छ, धेरै जसाे जनताले शंका गर्न थालेका पनि छन् ? वर्तमान अन्तरिम सरकारकाे गठनकाे मुख्य काम भदाै २३/२४ मा हत्या गरिएका शहिदहरुका हत्यारा, भ्रष्टाचारी, कमिशन खाेर, तस्कर, दलालहरुलाई समातेर कार्वाही गर्ने बाचा नै पहिलाे नम्बर र त्यसपछि दाेस्राे काम चुनाब गराउनु थियाे तर याे सरकारले केवल चुनावलाई मात्रै मुख्य र तत्काल गर्नु पर्ने भनेर चुनावकाे प्रचार प्रसारमा लागि परेकाे छ र फेरी हिजाे भ्रष्ट भनेर भगाएका दलका नेताहरुलाई वार्तामा आउन हार गुहार गर्दै चुनाबमा जान आग्रह गर्दै छ । यसरी त्यही कुकुरकाे पुच्छर राजनीतिलाई नै सत्तामा सहभागि गराउनु थियाे भने याे आन्दाेलनकाे ओैचित्य के हाे त ? कुकुरकाे पुच्छर संसारकाे कुनै पनि पावरले साेझाे पार्न सक्दैन भन्ने कुरा अवगत हुँदाहुँदै फेरी ढुङ्ग्राे खाेज्नुकाे अर्थ कसरी बुझ्ने ?
नेपाललाई माया गर्ने ,नेपालमा सुशासन कायम भएकाे देख्न चाहने,नेपालमा भ्रष्टाचार,तस्करी र कमिशनतन्त्र निर्मुल भएकाे देख्न चाहने,नेपाललाई पिसफुल देख्न चाहने, नेपालका हिमालहरु शिरउठाएर उभिएकाे देख्न चाहने, पशुपति, लुम्बिनीहरुले राष्ट्रकाे पहिचान जीवित राखेकाे देख्न चाहने कुनै नेपाली सपुतकाे शेष पनि बचेकाे छ जस्ताे लाग्दैन वर्तमान देशकाे राजनीतिक, सामाजिक र धार्मिक अवस्थाकाे अवस्था हेर्दा । जुन देशका जनता आफ्नै देशमा अपमानित र अपहेलित हुन्छन् त्याे देशका जनता बिदेशमा काम खाेजेर , शिक्षा हासिल गर्न, देशमा एकसे एक अन्तर्राष्ट्रिय स्थरका अस्पताल च्याउ जस्तै भए पनि विश्वास गर्न नसकेर सामान्य रुधाखाेकीकाे उपचार गर्न पनि जनताकाे त कुरै नगराै राष्ट्र प्रमुखहरु नै बिदेश जानु पर्ने, ब्यापार गर्न पनि बिदेशीकै भर पर्नु पर्ने, देशकाे विकास गर्न भनेर बिदेशीहरुबाटै ऋण र अनुदान लिनै पर्ने । स्थानिय जनतालाई शेयर हाेल्डर बनाएर निर्माण गर्न सकिने विश्व मै सबै भन्दा कम लागतमा सजिलै निर्माण गर्न सकिने अपर कर्णाली जस्ता प्राेजेक्ट डब्बल दाममा बिदेशीलाई कमिशन खाएर सुम्पिने प्रवृतिलाई नै फेरी यथावत राख्ने हाे भने परिवर्तनकाे नतिजा हात लाग्याे शून्य नै हाे त ?
जेनजी आन्दाेलन पछिकाे नाैटंकी हेराै त उही चुनावकाे चर्चा । चुनावकाे चल्नु हुन्न फेरी पार्टी फुट्ने र एकता गर्ने जात्रा लागि सकेकाे छ हिजाेका गाली गलाैज र रिसिबी लाेकरमा राखेर बिभिन्न धार र विचार बाेकेका ब्यक्तिहरु ( हिजाेसम्म दलहरुमा विचार न मिले पनि चुनाबी र सत्ता चलाउने बीच एकता हुन्थ्याे ) मिलेर चुनावमा जाने लेटेस्ट भर्सन अहिले जताततै चर्चाकाे विषय बनेकाे छ । अब उचित ब्यक्तिलाई भाेट दिनु पर्छ भन्ने बहस फुल स्वीममा छ । चुनावी राजनीति शुरु भएदेखि कै कत्ती पनि नफेरिने शब्द भने कै उचित उम्मेदबारकाे छनाैट भन्दै आइएकाे छ तर खाेइ त उचित उम्मेदवार ? हालकाे पडाेसी देशकाे विहार राज्यमा भएकाे विधान सभा चुनावकाे रिजल्ट हेर्दा एजजना पनि उचित र क्वालिफाइड , समाजमा असल छवि स्थापित गर्न सफल इतिहास निर्माण गरेकाे ब्यक्तिहरुले सबैभन्दा कम मत पाएर हारेका छन र धेरै जसाेकाे जमानत जब्त भएकाे घटना तातै छ, ताजा छ ,चर्चामा छ । याे घटनाले हामी कहाँ पनि छिटै हुन गैरहेकाे चुनावकाे रिजल्ट पनि त्याे भन्दा फरक आउला भनेर विश्वस्थ हुने कुनै संकेत देखिदैन ? जेनजीले शुरु गरेकाे आन्दाेलनकाे म्यान्डेट सही भए पनि आन्दाेलनकाे सफलता पछि, आन्दाेलनकाे फेरिएकाे रुप, जेनजीहरुमा बिभाजन,जेनजीका याेजनाकारहरु बिदेशी डाेनेशनबाट परिचालित भएका चर्चाहरुलाई आम नेपाली नागरिकले कुन रुपमा बुझ्ने ? सत्ता जनतालाई सजिलै जिम्मा लगाएर चुपलागेर धार्मिक कार्यमा बिभिन्न धार्मिक स्थलकाे भर्मणमा आफुलाई व्यस्त राखेकाे राजालाई राजावादीकाे मुखाैटा लगाएर, राजतन्त्र मरिसक्याे भनेर मरेकाे राजतन्त्रकाे भूत संग प्रजातन्त्रवादी र गणतन्त्रवादी किन डराउने ?
अब त वाम शक्ति नेपालमा शेष छ भन्नु नै मुर्खता वाहेक केही छैन । प्रचण्डले माओवाद छाेड्याे भनेर अलग हिडेकाहरु नै जमानामा म कम्युनिष्ट हाेइन भनेर हिडेका डाक्टर साहेबसंग एकता गर्न पुग्ने विचारमा मालेमाकाे स्प्रिट कदापि हुनसक्दैन ? नेपालकाे वर्तमान राजनीतिकाे वर्णन ब्याख्या गर्नु र एउटा साउथ इण्डियन पाेलेटिकल मुभी हेर्नु उस्तै हाे फरक यति मात्र हाे कि साउथ मुभीमा लास्टमा हिराेले भिलियनलाई समाप्त गरी जनतालाई मुक्ति दिलाउछ तर नेपालकाे राजनीतिमा हिराे सिनेमाकाे कास्टिङ्गमा हुन्छ सिनेमा पर्दामा देखाउन शुरु भए पछि सिनेमाकाे शुरुदेखि अन्तसम्म भिलियन नै जनता नचाइरहेकाे देखिन्छ?
इति श्री जनता पुराण !