कांग्रेसले जनताको मतलाई सदुपयोग गर्न सकेन : प्रचण्ड

7.7k Shares

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दल नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको बताएका छन्

सोमबार प्रतिनिधि सभा बैठकमा विशेष सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । उनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदममा कांग्रेस साक्षी बन्न पुगेको आरोप समेत लगाए । 

उनले कांग्रेसप्रति सङ्केत गर्दै भने, “संसद्को सबैभन्दा ठुलो दल हो कांग्रेस। एकपछि अर्को स्वेच्छाचारिता शृङ्खलाहरू जसरी अगाडि बढाइएका छन्, जसरी अहङ्कार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ।”

गत वर्ष विश्वासको मत दिने क्रममा गरिएको आफ्नै सम्बोधन स्मरण गर्दै प्रचण्डले अप्राकृतिक गठबन्धन, कुशासन र सत्ताका अहङ्कारी प्रवृत्तिले लोकतन्त्रलाई सङ्कटमा पार्ने चेतावनी आफूले पहिल्यै दिएको बताए । 

उनले हालै देखिएका प्रतिगामी हर्कतहरू सरकारकै कमजोरी र असन्तुलनको परिणाम भएको उल्लेख गरे ।

सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्नु आफूले मिहिनेत गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले आफूले राष्ट्रिय राजनीतिमा खेलेको सकारात्मक भूमिकाको बेलाबेलामा अवमूल्यन हुने गरेको भन्दै असन्तुष्ट व्यक्त गरे । 

“सत्ता सञ्चालनमा सबै दलको प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो प्रयासलाई अस्थिरता ठान्नु तपाईँहरूको दृष्टिकोण हो, तर लोकतन्त्रको नाममा आज जुन बाटो रोजिएको छ, त्यसले तपाईँहरूको राजनीतिक ग्राफ झनै खस्किएको छ,” उनले भने । 

अप्राकृतिक रूपमा बन्ने यस्ता गठबन्धनले निरङ्कुशता र स्वेच्छाचारिता बढाउने र लोकतन्त्रलाई नै कमजोर बनाएका कैयन उदाहरण रहेको कुरा समेत उनले बताए । 

सम्बन्धित समाचार